म काठमाडौंमा नै जन्मिएको हो। मैले बंगालादेशबाट एमबिबिएस अध्ययन गरेको हुँ। मेरो सानैदेखि मेडिकल क्षेत्रमा रुचि थियो। मेरो हजुरबुबाले पनि मलाई ‘तिमी डाक्टर बन्नुपर्छ, तिमीले मेडिकल फिल्ड पढ्नुपर्छ’ भन्नुहुन्थ्यो। साथीहरुसँगको संगतले पनि मलाई मेडिकल फिल्डमा लाग्नुपर्छ भन्ने लाग्यो। काठमाडौं विश्वविद्यालयको प्रवेश परीक्षा दिएर पास पनि भएँ। तर नेपालमै पढ्न भने भर्ना अवधि सकिन लागिसकेको थियो त्यसैले म बंगालादेश गएर पढेँ। सन् २०१६ मा एमबीबीएस पूरा भएपछि नेपाल फर्किएर काम गरिरहेको छु।
मलाई घुम्न मन पर्छ। छुट्टीको समयमा म युरोप घुम्न गएको थिएँ। स्वीजरल्याण्डमा घुम्न जाँदा विदेशीहरुले ‘तिमी कहाँबाट आएको’ भनेर सोध्दा ‘म नेपालबाट’ भन्थें। मैले भेटेका विदेशीहरु धेरैजसो ट्रेकिङहरु गर्ने थिए। उनीहरुले म नेपाली भन्ने वित्तिकै नेपालको एभरेष्ट वेस क्याम्प, लोपुचे हिमाल, नाम्चेहरुको नाम लिन्थे। तर मैले भने हिमालमा त शेर्पाहरु मात्रै जान्छन् भन्ने सोचेको थिएँ। र हामीजस्तो काठमाडौंमा जन्मिएको हुर्किएको मान्छेलाई हिमाल प्रति त्यति धेरै मोह थिएन।
विदेशीहरुले नेपालका हिमालहरुको बारेमा भनेपछि मलाई आफू नेपाली भएर पनि हिमाल नगएकोमा नराम्रो महशुस भयो। हामीलाई थाहा भएको भन्दा पनि बढी त विदेशीहरुलाई नेपालको बारेमा थाहा रहेछ।
त्यसपछि मैले एकपटक नाम्चेबजार सम्म भएपनि जानुपर्छ भन्ने सोच बनाएँ। मेरो एकजना अंकलमार्फत शेर्पा परिवारसँग लिंक भयो। त्यसपछि मलाई पनि हिमाल चढ्नुपर्छ भन्ने उत्साह थपियो।
कोभिडको समयमा म ट्रेकिङ गर्न थालेँ। २०२१ मा मैले हिमाल चढ्ने सपना पुरा गरेँ। मैले पहिलो पटक ६ हजार ११९ मिटर अग्लो लोपुचे हिमाल चढेँ।
लुक्ला हुँदै नाम्चे जाँदा हिमाली क्षेत्रका बासिन्दाहरुलाई देख्दा मलाई राम्रो भाइब्स आयो। त्यसपछि हिमाल चढ्ने विषयमा केही नलेजहरु पनि भयो।
लोपुचे जाने क्रममा मैले बेसक्याम्पहरुमा विदेशीहरु भेटेँ। उहाँहरु फरक प्रोफेसनको हुनुहुन्थ्यो। डाक्टर, इन्जिनियर, सिए, वकिलहरु भेट्दा म सरप्राइज भएँ। यस्तो प्रोफेसनल मान्छेहरु पनि हिमाल चढ्न आउने रहेछन् भन्ने लाग्यो। लोपुचे हिमाल चढेपछि मलाई हिमाल चढ्दा ध्यान दिनुपर्ने धेरै कुराहरु बारे जानकारी भयो।
त्यसपछि मलाई सगरमाथा चढ्नुपर्छ भन्ने लाग्यो।
लोपुचे चढेपछि मैले सगरमाथा चढ्ने तयारी गरेँ। सगरमाथा चढ्नु सानो कुरा पनि थिएन। मैले आफूलाई मानसिक र शारीरिक रुपमा तयारी पनि गरेँ। एक वर्षको समयमा मलाई आधा स्पोन्सर पनि भेटियो।
सगरमाथा चढ्दा बेसक्याम्पसम्म त मेरो लागि नयाँ कुरा थिएन। तर त्यो भन्दा माथिका क्याम्प १,२, ३ र ४ मा भने मेरो लागि नयाँ थियो। त्यो समयमा मेरो आँट र फिटनेसले पनि साथ दियो।
त्यसक्रममा मैले याक्निटाइजेसन गर्न पाइन। याक्निटाइजेसन भनेको माथि जाने र फेरि तल आउने र फेरि जाने रहेछ। क्याम्प २ सम्म अक्सिजन लगाउन पर्दैन। तर क्याम्प २ पछि भने अक्सिजन लगाउनुपर्ने रहेछ।
कोभिड–१९ को महामारीमा फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मीहरुको प्रतिनिधित्व गरेर सगरमाथा चढ्न गएको थिएँ। त्यसैले सगरमाथा आरोहणको क्रममा मलाई फर्किउ जस्तो कहिल्यै लागेन।
सगरमाथा चढ्नुअघि मैले आफ्नो ड्युटीको समय मिलाएर हाइकिङ, वाक, क्लाइमिङहरु गर्थें।
हप्तामा ४ पटक वाक, क्लाइमिङ गर्ने, बिहान बिहान हाइकिङ, रनिङ गथ्र्यें। बिहान बेलुका हिँड्ने कुद्ने गर्दा मलाई शारीरिक रुपमा फिट हुन मद्दत मिल्यो। मैले खानपानमा पनि ध्यान दिए। प्रोटिनयुक्त खानेकुराहरु खान्थें।
मलाई सगरमाथा भन्दा पनि लोपुचे चढ्दा धेरै गाह्रो भएको थियो। त्यतिबेला मैले शेर्पा दाईहरुलाई भन्थें– ‘दाई बरु मेडिसिन पढ्न सजिलो छ हिमाल चढ्न गाह्रो रहेछ।’
लोपुचे चढ्दा त मैले रुँदै चढेको थिएँ। त्यो मेरो पहिलो आरोहण थियो।
सगरमाथा चढ्न पनि गाह्रो त थियो। तरपनि एउटा लक्ष्य लिएर गएको थिएँ। मेरो गाइडेन्स पनि राम्रो थियो।
सगरमाथा चढ्दा बेस क्याम्पबाट सुरु हुन्छ।
क्याम्प १ मा ६ हजार मिटरको हुन्छ। क्याम्प २ सम्म करिब ६ हजार ४००, क्याम्प ३ सम्म ७ हजार २०० र क्याम्प ४ मा ७ हजार ९२५ र अन्तिम गन्तव्य सगरमाथाको टुप्पो हुन्छ।
बेसक्याम्पबाट एकदिन क्याम्प १ मा बस्ने, दोस्रो दिन क्याम्प २ मा बस्ने, फेरि क्याम्प ३ बाट तल झरेर क्याम्प २ मै पुगरे एकरात बस्ने। फेरि बेस क्याम्पमा जाने र बेस क्याम्पबाट क्याम्प १, २, ३ र ४ हुँदै अन्तिम गन्तव्य चुचुरोसम्म पुग्ने हो। म बेसक्याम्प नै ढिला पुगँे। मलाई पहिलो समिटमा गर्ने रहर थियो। त्यसैले मैले सिधैं क्याम्प १, २, ३, ४ गरेको हो। यसले गर्दा इनर्जी एकदमै लस हुन्छ।
मलाई सगरमाथा चढ्न भन्दापनि फर्किन गाह्रो भएको थियो।
सगरमाथाको चुचुरोमा पुगिसकेपछि सबै तल तल अरु हिमालहरु देखिन्छ। त्यहाँ पुगेपछि त्यहाँसम्म पुग्दाको सबै दुःख बिर्सिन्छ। यो एउटा रमाइलो जर्नी हो। त्यहाँ पुगेपछि म विश्वको सबैभन्दा अग्लो स्थानमा पुगें भन्ने फिल हुन्छ।
सगरमाथाको चुचुरोबाट ३६० डिग्रीको भ्यु अति सुन्दर देखिन्छ। हामी पुग्दा सनराइज भ्यू (सूर्योदयको दृश्य) पनि देखिएको थियो। जुन निकै राम्रो थियो। कहिल्यै भुल्न नसक्ने सनराइज भ्यू देखेँ।
त्यहाँबाट अन्य हिमाल र तिब्बतका क्याम्पहरु देखिन्छ। हिमालमा पुगेपछि फेरि फर्किने कसरी भन्ने चिन्ता पनि हुन्छ। हिमाल चढ्दा मान्छेहरुको मृत्यु हुने हिमालबाट फर्किँदा नै हो।
आफ्नो शारीरिक फिटनेसले साथ दिन्छ भने हिमालहरु चढ्नुपर्छ। सगरमाथा चढ्दा म धेरै पटक हिउँमा लडेँ। मैले काउन्ट नै गरेको छैन तर म धेरैपटक लडेँ।
माथि माथि पुग्दा एउटै हिमालको दृश्य पनि फरक फरक देखिन्थ्यो।
म सगरमाथाको चुचुरोमा २१ मे मा पुगेको हो।
सगरमाथाबाट काठमाडौं फर्किएपछि मलाई केहीदिन ‘लो’ लागेको थियो। धेरै खान मन लाग्ने, निद्रा लाग्ने भयो। त्यसपछि मेरो फिजिकल फिटनेस भने राम्रो भयो।
हिमाल चढेर फर्किएपछि म एक्टिभ भएँ।
हिमालको जर्नी पूरा गरेर हस्पिटल फर्किएपछि म अझै काम गर्ने भएको थिएँ। केही कुरामा पनि नआत्तिने स्वभाव ममा आएको छ।
म अहिले ग्राण्डी अस्पतालमा काम गरिरहेको छु। अब मनास्लु र आमादब्लम हिमाल चढ्ने योजना छ। यो वर्षको सेप्टेम्बर, अक्टुबर र नोभेम्बरमा चढ्ने योजना छ।
यो वर्षमा हिमाल चढ्ने रहर पुरा भएपछि मेरो स्नातकोत्तर तह अध्ययन गर्ने सोच छ।