नेपालगन्जः बाँकेको राप्तीसोनारी गाउँपालिका– ४ बैजापुरमा बुधवारदेखि सिकलसेल तथा थालसेमिया रोगको स्क्रिनिङ तथा परामर्श शिबिर सुरु भएको छ ।
थारु समुदायमा बंशानुगतरुपमा रहेको सिकलसेल तथा थालसेमिया रोगको पहिचान, उपचार र निदानका लागि स्क्रिनिङ तथा परामर्श शिबिर संचालन गरिएको हो ।
स्वास्थ्य कार्यालय बाँकेको आयोजनामा आयोजित शिविरको एक कार्यक्रमका बीच गाउँपालिकाका प्रमुख तप्त पौडेलले उद्घाटन गर्नुभएको छ । राप्तीसोनारी–४ स्थित कुम्भवर विद्यालयमा शिविर आयोजना गरिएको छ ।
१३ वर्षीया किशोरी एलिना थारुको रगतको नमुना संकलन गरेर शिविरको सुरुवात गरिएको स्वास्थ्य कार्यालय बाँकेका अधिकृत नरेश श्रेष्ठले जानकारी दिनुभयो ।
पश्चिम नेपालका बाँके, बर्दिया, दाङ, कपिलवस्तु, रुपन्देही, कैलाली र कंचनपुरलगायत जिल्लामा बसोबास गर्ने थारु समुदायमा सिकलसेल तथा थालसेमिया रोगको संक्रमण देखिएको छ ।
राप्तीसोनारीमा पनि थारु समुदायको बसोबास बढी रहेकाले सिकलसेल तथा थालसेमिया रोगको पहिचान, उपचार र निदानका लागि स्क्रिनिङ तथा परामर्श शिबिर आयोजना गरिएको स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धीरजंग शाहले बताउनुभयो ।
शिविरमा सिकलसेल ल्याव विज्ञ संजिव चौधरीसहितको टोली खटिनुभएको छ । बुधवारदेखि सुरु भएको शिविरमा दैनिक ५० जनाको रगत नमुनाका लागि संकलन गरिने छ । राप्तीसोनारीमा करिव २ हजारको नमुना संकलन गर्ने लक्ष्य लिइएको छ ।
प्राय थारु जाती विशेषमा मात्रै देखिएको यो रोगको निदान र ब्यबस्थापनमा पछिल्लो समय सरकारले चासो दिन थालेको छ ।
सरकाराले यो रोगलाई जनस्वास्थ्य समस्याका रुपमा लिदै रोगको पहिचान पुष्टि भएकालाई रु एक लाख सहयोग गर्दै आएको छ ।