नेपालगन्जः कोडिभ महामारीलाई लक्षितगरी नेपालगन्ज उपमहानगरपालिका–१४ भवाननियापुरमा निर्माणाधिन एक हजार बेड क्षमताको होल्डिङ सेन्टर निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।
शनिवारमात्रै लुम्बिनी प्रदेश स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्रालयका सचिव डा विकास देवकोटा, स्वास्थ्य कार्यालय बाँकेका अधिकृत नरेश श्रेष्ठ, लगायतको टोलीले होल्डिङ सेन्टरको अनुगमन गरेको जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत रामकुमार सोनकरले जानकारी दिनुभयो ।
होल्डिङ सेन्टरका २२ वटा भवन, भान्साघर, खानेपानीको टंकी सहित शौचालय भवनहरु ४ विघा ८ कठ्ठामा निर्माण भएका छन् । कोरोना महामारी कम भएकाले होल्डिङ सेन्टरलाई अव आपत विपदमा आश्रयस्थलकारुपमा प्रयोग गर्न सक्ने गरी तयारी थालिएको सोनकरको भनाइ छ ।
भारतबाट आउने कोभिड–१९ संक्रमितलाई ब्यवस्थित रुपमा आइसोलेसनमा राख्ने र आवश्यक परेमा औषधी उपचार गर्ने सुविधासहितको अस्थायी अस्पतालको रुपमा प्रयोग गर्ने उद्देश्यले नेपाली सेनाले नेपालगन्ज नाकामा होल्डिङ सेन्टर निर्माण सुरु गरेको थियोे ।
२०७७ असोज २६ गतेसम्म निर्माण सम्पन्न गर्ने गरी २९ करोड ३८ लाखमा श्री हनुमान कन्स्ट्रक्सन, हेटौडाले १ हजार बेड क्षमताको होल्डिङ सेन्टर निर्माणको ठेक्का लिएको थियो । तर अहिलेसम्म पूर्णता भने पाउन सकेको छैन् । अझै फिनसिङ, पाइपलाइन अन्डरग्राउण्ड गर्ने कार्य बाँकी छ ।
जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत सोनकरले निर्माणको करिव ९५ प्रतिशत काम पूरा भएको बताउनुभयो ।
कोरोना महामारी कम भएकाले होल्डिङ सेन्टरलाई अव आपत विपदमा आश्रयस्थलकारुपमा प्रयोग गर्न सक्ने गरी तयारी थालिएको स्वास्थ्य कार्यालय बाँकेका अधिकृत नरेश श्रेष्ठले बताउनुभयो ।