नेपालगन्जः नेपालको स्वास्थ्य सेवामा प्रयोगमा ल्याइएका विभिन्न ऐतिहासिक पुराना मेडिकल उपकरण सामग्रीलाई संकलन गरी नेपाल चिकित्सक संघले चिकित्सा संग्रहालयको स्थापना गर्ने भएको छ ।
नेपालमा अन्य क्षेत्रको संग्रहालय भएपनि मेडिकल क्षेत्रको हालसम्म संग्रहालय नभएका कारण स्थापना गर्न लागिएको संघका अध्यक्ष डा लोचन कार्की जानकारी दिनुभयो ।
‘नेपालको पहिलो ईसीजी, अल्ट्रासाउन्ड, सिटी स्क्यान मेसिन कस्तो थियो होला रु मेडिकल क्षेत्रका पहिला सर्जरी गरेका ऐतिहासिक तस्वीर, पुस्तक कस्ता थिए ?’, डा कार्कीले भन्नुभयो–‘अस्पतालमा कतिपय उपकरणहरु थुप्रिएर बसेका छन् । नयाँ पुस्ताका लागि यस्ता उपकरण नेपालको मेडिकल क्षेत्रको इतिहास बुझ्न मद्धत गर्नेछ ।’
उहाँका अनुसार चिकित्सा संग्रहालय संघको केन्द्रीय कार्यालयस्थित प्रर्दशनीमार्गमा स्थापना हुनेछ । संघले अस्पताल, संघ संस्था, व्यक्तिगत घरमा उपलब्ध भएका ऐतिहासिक सामग्री, प्रमाणपत्र, पुस्तक, स्वास्थ्य क्षेत्रसँग सम्बन्धित उपकरण लगायतका सामग्री भए उपलब्ध गराइदिन अनुरोध गरेको छ ।