नेपालगन्जः नवजात शिशुको मृत्युको विभिन्न कारणमध्ये महिना नपुगी जन्मिनु पनि एक हो।
करिब ३१ प्रतिशत शिशु महिना नपुगी जन्मिएका कारण कम तौलका हुन्छन्। जन्म तौल २६ सय ग्राम भन्दा कम भएमा शिशुलाई विभिन्न किसिमको स्वास्थ्य समस्या आउँछ र मृत्यु हुनसक्ने सम्भावना हुन्छ।
गुणस्तरीय स्याहार दिन सकेमा नवजात शिशुको मृत्युमा कमी आउन सक्छ भन्ने उदाहरण बनेको बर्दिया जिल्ला अस्पताल । अस्पतालमा प्रवाहित गुणस्तरीय सेवाबाट एक शिशुको ज्यान जोगिएको छ ।
गुलरिया नगरपालिका–३ बर्दियाकी सुशिला गोडियालाई असहज भएपछि उहाँ चैत १५ गते जिल्ला अस्पताल गुलरिया पुग्नुभयो । उहाँ गर्भवति भएको केवल २९ हप्तामात्रै भएको थियो । चिकित्सकहरुले भिडियो एक्स रे गरेर हेर्दा गोडिया पेटमा दुई बच्चा देखिए । एउटा मृत अवस्थामा थियो भने अर्को बच्चा जिवित्तै ।
अवस्था जटिल देखिएपछि अस्पतालका मेसु डा.सुभाष पाण्डे र बालरोग विशेषज्ञ डा. विश्वनाथ शाहवीच छलफल भयो । एक चरणमा गोडियालाई रिफर नै गर्ने तयारीमा उहाँहरु पुग्नुभयो ।
गोडियाको श्रीमानसँगको छलफलपछि शल्यक्रिया गरेर मृत बच्चा निकाल्ने सहमति भयो । अर्को बच्चा पनि महिना र तौल नपुगेकाले शल्यक्रिया गरेर निकालेपनि जोगाउन मुस्किल थियो । तर गोडियाका श्रीमानको अनुमतिपछि चिकित्सकहरुले शल्यक्रिया गरे ।
बच्चाको तौल १२ सय ग्राम मात्र थियो । शिशुलाई एनआईसीयूमा राख्नै पर्ने अवस्था थियो । तर हामीसँग एनआईसीयू थिएन् । तर डा विश्वनाथले भेन्टिलेटरमै राखेरै भएपनि उपचार गर्ने योजना बनाउनुभयो । त्यो योजनामा डा मेसुले साथ दिनुभयो ।
‘मुटु र फोक्सोपनि कमजोर थियो अस्पतालका मेसु डा पाण्डेले स्वास्थ्य पेजसँग भन्नुभयो–‘८–१० दिनसम्म भेन्टिलेटरमा राख्यौं ।’ ३४ हप्ता भन्दा कम समयमा जन्मिएका शिशुको फोक्सो कमजोर हुन्छ । त्यसका लागि सरफेक्टेन्ट औषधि दिनु पर्छ । तर यो औषधि जिल्ला अस्पताल बर्दियामा मात्र होइन् नेपालगन्जमा समेत पाउन मुश्किल पर्छ । महंगो पनि भएकाले भारतबाट झिकाउनु पर्छ । शिशुको बुवाले औषधि ल्याउन सफल भए ।
जन्मिँदा तौल कम भएका शिशुहरू आमाको दूध चुस्न सक्दैनन्। त्यसैले त्यो शिशुलाई दोएर राखिएको आमाकोे दूध एनजी फिडिङ सहायताले खुवाउने गरियो। सरफेक्टेन्ट औषधि दिएपछि शिशुको अवस्था सुधार हुँदै गयो । ३७ दिन पुग्दा शिशुले आफै आमाको दूध चुस्न थाल्यो । तौल पनि १२ सय ग्रामबाट बढेर १८ सय ग्राम पुगेको छ ।
सानो जन्मिएको बच्चालाई हुर्काउन राम्रो स्याहार गर्नु पर्छ। घर जाँदैमा बच्चाको स्याहार पूरा हुँदैन। वेलावेला डाक्टरलाई जँचाउने, सुझावअनुसारको स्याहार पु¥याउने गर्नु पर्छ, डा पाण्डे भन्नुहुन्छ–‘घर पठाउनु अघि अभिभावकलाई यही कुरा सिकाएर शिशुलाई डिस्चार्ज गरेका छौं ।’