सातै प्रदेशमा सरकारी मेडिकल कलेज खोल्ने प्रस्ताव ‘क्याबिनेट’मा पुगेको छः मन्त्री पौडेल

    • स्वास्थ्य पेज

  • २४ चैत्र २०७८, बिहीबार

नेपालगन्जः सरकारले सबै प्रदेशमा सरकारी मेडिकल कलेज स्थापना गर्ने तयारी गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले सात वटै प्रदेशमा सरकारी मेडिकल कलेज खोल्ने प्रस्ताव क्याबिनेट ९मन्त्रिपरिषद्० मा पेस गरिएको जानकारी दिनुभएको हो । उहाँले खरबौँ रुपैयाँ रकम मेडिकल शिक्षा अध्ययनका लागि बाहिरिएको अवस्थालाई मध्यनजर गर्दै सरकारले सबै प्रदेशमा मेडिकल कलेज बनाउने तयारी गर्नुपरेको पनि स्पष्ट पार्नुभयो ।

नेपाल तालिम तथा रोजगार व्यवसायी महासङ्घले आज बिहीवार काठमाण्डौमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै मन्त्री पौडेलले भन्नुभयो, ‘हाम्रोमा ११ वटा विश्वविद्यालय छन् तर नचल्ने, विद्यार्थीले नखोज्ने विषय पढाएर के काम रु जबकि सात हजार विद्यार्थी एमबीबीएस, एमडी बङ्ग्लादेश जान्छन् । एक वर्षको रकमको हिसाब गर्दा झन्डै एक खर्ब ९७ अर्ब रुपैयाँ रकम जापान, अस्ट्रेलिया, बङ्ग्लादेश, चीन, भारत पढ्न गएका विद्यार्थीबाट खर्च भएको पायौँ । त्यत्रो पैसा बाहिर गएको छ । अनि फर्केर आउने र मेडिकल काउन्सिलको परीक्षा नदिइ डाक्टर हुन पाउने । हामीले सात वटै प्रदेशमा सरकारी मेडिकल कलेज बनाउने तयारी गरेका छौँ । निजी क्षेत्रलाई पनि लिएर जानुपर्छ, उनीहरूलाई विस्थापित गर्ने भनेको होइन ।’

मन्त्री पौडेले सीटीईभीटीलाई पनि सबै पालिकामा पुर्‍याउने कामलाई तत्काल अघि बढाउने निर्णय गरिएको बताउनुभयो । उहाँले सरकारले शिक्षालाई रोजगारमूलक बनाउने गरी विद्यालय तहको शिक्षादेखि उच्च शिक्षासम्मको नीतिलाई परिमार्जन गर्ने कामलाई अघि बढाएको पनि जानकारी दिनुभयो ।

  • २४ चैत्र २०७८, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech