बेलैमा थाहा पाए फोक्सोको क्यान्सरबाट जोगिन सकिन्छ

    • डा. अरूण शाही/क्यान्सर रोग विशेषज्ञ

  • २८ फाल्गुन २०७८, शनिबार

फोक्सो श्वासप्रश्वासका लागि महत्वपूर्ण अंग हो। दायाँ र बायाँ गरि शरीरमा फोक्सोका दुई भाग हुन्छन्। यो श्वासनलीसँग जोडिएको हुन्छ। हामीले लिएको सास नाक, मुख, श्वासनलीहुँदै फोक्सोको दुवै भागमा जान्छ।

फोक्सोको क्यान्सर हुने मुख्य कारण धुम्रपान सेवननै हो। त्योबाहेक धुवा धुलोले पनि फोक्सोमा क्यान्सर हुन्छ।

नयाँ घरहरू बनाउन काम गर्ने अनि धेरै एक्सपोजर हुने ठाउँमासमेत फोक्सोको क्यान्सरको जोखिम हुन्छ। फोक्सोको क्यान्सर हुनुभन्दा पहिला विभिन्न लक्षण देखिन्छ।

यो रोग लाग्नुभन्दा पहिला खोकी लाग्छ। त्यो खोकी १-२ हप्तासम्म लाग्छ त्यसपछि सामान्य एन्टीबायोटिक खाने चलन छ।

धेरै बिरामीले नजिकको चिकित्सकलाई देखाएर औषधि खान्छन्। जुन गलत हो। त्यसपछि पनि यो समस्या ठिक हुँदैन। विस्तारै बिरामीको स्वर भासिन्छ। खकारमा रगत आउनसक्छ। खोक्दा छाती दुख्न सक्छ। त्यो अवस्थामा नचाहँदा नचाहँदै तौल घट्न सक्छ।

क्यान्सरको उपचार गर्ने विभिन्न खालका प्रविधि छन्। बेलैमा पहिचान गर्न सके अपरेसन गर्दा मात्रै पनि हुन्छ। त्यो भन्दा अलि बढ्यो भने किमो थेरापी जरूरी पर्छ। अझै बढ्दै गयो भने रेडियो थेरापी गर्नुपर्ने हुनसक्छ।

क्यान्सरबाट मृत्यु हुनेको विश्व तथ्यांक हेर्ने हो भने सबैभन्दा बढी फोक्सोको क्यान्सरले मृत्यु हुन्छ। नेपालमा पनि फोक्सोकै क्यान्सर धेरैलाई देखिन्छ। महिला भन्दा पुरूषहरु क्यान्सरको धेरै जोखिममा छन्।

पहिलो त, पुरूषले धेरै सुर्तीजन्य पदार्थ सेवन गर्छन्। इँटाभट्टा, कोइला खानीलगायतमा महिलाको तुलनामा पुरूषले बढी जोखिम मोलेर काम गर्छन्।

क्यान्सरबाट जोगिन सबैभन्दा पहिला धुम्रपान छोड्नुपर्छ। त्योबाहेक धुँवाधुलोमा काम गर्दा होसियारी अपनाउनुपर्छ।

धुम्रपानजन्य पदार्थको विक्री वितरणमा धेरै कडाई गर्नुपर्छ र यसको विज्ञापनमा पनि हतोत्साही गर्नैपर्छ।

सुर्ती र सुर्तीजन्य पदार्थको सेवनले अन्य रोगसमेत निम्त्याउँछ। हाइपर टेन्सन, डाइभिटिजजस्ता रोगसमेत लाग्छन्।

सुर्तीजन्य पदार्थको सेवन नगरेमा ९० प्रतिशत फोक्सोको क्यान्सर र २५ प्रतिशत अरू क्यान्सरबाट बच्न सकिन्छ।

  • २८ फाल्गुन २०७८, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech