नेपालगन्जः बाँकेको खजुरास्थित सुशिल कोइराला प्रखर क्यान्सर अस्पतालमा आजदेखि ब्राकी थेरापी सेवा सुरु भएको छ । पाठेघरको मुखको क्यान्सरको भित्रि सेकाई उपचार पद्धतिलाई चिकित्सकीय भाषामा ब्राकी थेरापी भनिन्छ ।
बढैयाताल गाउँपालिका ८ बर्दिया निवासी विरामीको पाठेघरको मुखको क्यान्सरको भित्रि सेकाइ गरिएसँगै अस्पतालमा ब्राकी थेरापी सेवा सुरु भएको अस्पतालका कार्यकारी नर्देशक डा कृष्ण आचार्यले जानकारी दिनुभयो ।
यो सेवा काठमाडौंको क्यान्सर सेन्टर र नेपाल क्यान्सर अस्पतालपछि खजुरामा मात्रै छ । अन्य ठाउँमा बन्द छ । ब्राकी थेरापी सुरु भएसँगै अस्पतालमा आंशिकरुपमा रेडियो थेरापी सुरु भएको उहाँको भनाइ छ ।
क्यान्सरका बिरामीहरुको उपचारका लागि निकै महत्वपूर्ण मानिने रेडियसन थेरापी लागि लिन्याक मेसिन खरिदको प्रक्रिया अगाडि बढाएको छ । आगामी ३÷४ महिनामा खजुरा क्यान्सर अस्पतालमा रेडियसन थेरापी पनि सुरु हुनेछ ।
रेडियसन थेरापी सुरु भएपछि क्यान्सरका बिरामीलाई उपचारका लागि चितवनको भरतपुर, भक्तपुर र भारतको लखनउ दिल्ली जानुपर्ने बाध्यता हट्नेछ ।
पाठेघरको मुखको क्यान्सरबाटै धेरै पीडित रहेको क्यान्सर रोग विशेषज्ञ डा मुकेश यादवले बताउनुभयो ।
महिलामा लाग्ने क्यान्सर मध्ये २० प्रतिशत क्यान्सर पाठेघरको मुखको क्यान्सर हुने गरेको चिकित्सकहरु बताउँछन् ।
ढिलो पहिचान, खानपीन, जीवनशैलीले नै जोखिम बढाएको भन्दै उहाँले बेलैमा परीक्षण र उपचार गराए निको हुने बताउनुभयो ।
पाठेघरको मुखको क्यान्सर भए नभएको पत्ता लगाउन गरिने परीक्षण हरेक महिलाले गर्नुपर्ने उहाँको भनाइ छ ।
पाठेघरमा संक्रमण भएपछि करिब १० वर्षपछि क्यान्सरमा परिणत हुने चिकित्सकहरु बताउँछन् ।