नेपालगन्जः कोरोना भाइरसका कारण विश्व त्रसित भइरहेका बेला फेरि अर्को भाइरस फैलनसक्ने आशंका विज्ञहरुले गरेका छन्। बेलायतमा ३ जनामा ‘लासा’ नामको भाइरस फेला परेसँगै फेरि यसको त्रास फैलिन थालेको हो ।
बेलायती स्वास्थ्य अधिकारीहरुले यो भाइरसका कारण पुनः अर्को महामारी फैलनसक्ने चिन्ता व्यक्त गरेका छन्।
सन् १९८० को दशकमा बेलायतमा ८ जनामा लासा भाइरस फेला परेको थियो। त्यसपछि २००९ मा देखिएको थियो। यस्तै, नाइजेरियामा लासा भाइरसका कारण जनवरीमा ४० जनाको मृत्यु भएको थियो।
यो भाइरस इबोला, डेंगूजस्ता भाइरसकै परिवारमा पर्ने बताइन्छ। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार लासा फिभर अर्थात् लासा भाइरसका लक्षणहरु संक्रमितको सम्पर्कका आएको १ देखि ३ सातासम्ममा देखापर्छ।
यो भाइरस मानिसमा खाना या घरेलू वस्तुको सम्पर्कबाट फैलन्छ। अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन ९सिडीसी० का अनुसार यो जनावरबाट सर्ने तीव्र भाइरल रोग हो।
यो भाइरस सबैभन्दा पहिले सन् १९६९ मा नाइजेरियामा फेला परेको थियो। यसबाट बर्सेनि १ लाखदेखि ३ लाख मानिसहरु संक्रमित हुने र ५ हजार जनाको मृत्यु हुने गर्दछ। सियरालियोनमा यो भाइरसबाट बर्सेनि १० देखि १६ प्रतिशत मानिसहरु अस्पताल भर्ना हुने गर्छन्।
८० प्रतिशतमा यो भाइरसका मध्यमखालका लक्षण देखिने भएकाले रोग नै पत्ता लगाउन सकिँदैन।
डब्लुएचओका अनुसार लासा भाइरसबाट संक्रमित भई गम्भीर अवस्थामा अस्पतालमा भर्न भएकामध्येमा मृत्युदर १५ प्रतिशत छ भने समग्र मृत्युदर १ प्रतिशत रहेको बताइएको छ।
गर्भवती भएको तेस्रो त्रैमासिक अवधिमा यो भाइरसबाट संक्रमित हुने महिलाको मृत्यु हुने सम्भावना भने उच्च रहेको बताइएको छ।
९५ प्रतिशतमा गर्भपतन हुने सम्भावना हुन्छ। लासा ज्वरो बेनिन, घाना, गिनी, लाइबेरिया, माली, सियरालियोन र नाइजेरियामा पाइने रोग मानिन्छ। यसका साथै अन्य पश्चिम अफ्रिकी मुलुकमा पनि रहनसक्ने आँकलन गरिन्छ।
यो भाइरस मुसाको दिसाको सम्पर्कमा आउनेहरुलाई सर्न सक्छ। यदि कुनै मानिस यो भाइरसबाट संक्रमित हुन्छ भने यसले प्रयोग गर्ने गम्छा, पसिना, रगत आदिको माध्यमबाट स्वस्थ व्यक्तिमा सर्न सक्छ।
यस्ता छन् लक्षण
-६० देखि ७० प्रतिशतमा रुघाखोकी, ज्वरो, कमजोरी हुने जस्ता लक्षण देखिन्छ।
-२० देखि ३० प्रतिशतमा डेंगूजस्ता लक्षण देखिन्छ।
-श्वास लिन समस्या हुने, कम्पन आउने र मस्तिस्क सुन्निने समस्या हुन्छ।
-नाक या मुखबाट रगत निस्कन्छ, रगत मिसिएको दिसा आउँछ, प्लेटलेटमा कमी आउँछ।
-केही दिनपछि टाउको दुख्ने, घाँटी खसखसाउने, मांसपेशी दुख्ने, छाति दुख्ने, वान्ता आउने, खोकी र पेट दुख्ने हुनसक्छ।
-रोग गम्भीर हुँदै जाँदा अनुहार सुन्निने, मुख, नाक तथा योनिबाट रगत बग्ने, रक्तचाप कम हुनेजस्ता लक्षण देखिनसक्छन्।
-अधिकांश अवस्थामा यो भाइरसको लक्षण पनि इन्फ्लुयन्जा या कोभिडसँग मिल्दोजुल्दो हुन्छ।
उपचार
यदि समयमा एन्टीभाइरल औषधि दिइए यसको जोखिम कम गर्न सकिन्छ। यो ज्वरोको रोकथामका लागि हालसम्म कुनै खोप बनिसकेको छैन।
कसरी जोगिन सकिन्छ ?
-मुसाको सम्पर्कबाट बँच्ने
-घरको सरसफाईमा ध्यान दिने
-यदि कुनै मानिस यो भाइरसबाट संक्रमित भए उसलाई आइसोलेसनमा राख्ने
-बिरामीको कपडा, गम्छा, ओढ्ने कुराहरु अलग्गै राख्ने