५ देखि १२ वर्षका बालबालिकाका लागि यसै महिना कोरोना खोप ल्याइन्छः मन्त्री खतिवडा

    • स्वास्थ्य पेज

  • १८ फाल्गुन २०७८, बुधबार

नेपालगन्जः सरकारले यसै महिना पाँचदेखि १२ वर्ष उमेर समूहका बालबालिकाका लागि कोरोनाविरुद्धको खोप ल्याउने भएको छ ।

राष्ट्रिय सभाको संयोजन तथा विश्व स्वास्थ्य सङ्गठनको प्राविधिक सहयोगमा सांसदहरूसँग आज मङ्गलवार भएको अन्तरक्रिया कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडाले यो जानकारी दिनुभएको हो ।

उहाँले भन्नुभयो, ‘पाँचदेखि १२ वर्ष उमेर समूहका बालबालिकाका लागि यसै महिना खोप ल्याउने तयारी भइरहेको छ ।’ यो महिनाभित्र खोप ल्याउन सकेमा अर्को महिनादेखि लगाउन सुरु गर्ने उहाँको भनाइ छ ।

मन्त्री खतिवडाले आउँदो वैशाखसम्म १२ वर्षमाथिका सबै नागरिकलाई पूर्ण मात्रा खोप लगाउने सरकारको लक्ष्य रहेको बताउनुभयो । यो अभियानमा सांसद र पालिकाका जनप्रतिनिधिको सहयोग महत्त्वपूर्ण हुने भएकाले सहयोग गर्न उहाँले आग्रह आग्रह गर्नुभयो ।

‘हामी तपाईँको गाउँठाउँमा खोप पुर्‍याउँछौँ, यसमा कुनै शङ्का नगर्नुहोला । स्थानीयस्तरमा खोप लगाउन समन्वय गर्न म समुदायसँग जोडिएका जनप्रतिनिधिलाई अनुरोध गर्दछु’, खतिवडाले भन्नुभयो ।

कार्यक्रममा राष्ट्रिय सभा अध्यक्ष गणेसप्रसाद तिमिल्सिनाले वैशाख ३० गते हुने स्थानीय तहको चुनावअघि नै सबै नागरिकलाई खोप लगाउनुपर्नेमा जोड दिनुभयो ।

  • १८ फाल्गुन २०७८, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech