रुपन्देहीः रुपन्देहीको तिलोत्तमा नगरपालिकाका–१२ वर्षमाथिका सबै नागरिकले कोरोनाविरुद्धको खोप लगाएका छन् । नगरपालिकाका लक्षित उमेरका सबै नागरिकले पूर्ण खोप लगाएका हुन् ।
नगरपालिका कोरोनाविरुद्ध पूर्ण खोप लगाउनेमा पहिलो पालिका बनेको प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीले बताउनुभयो । नगरपालिकाका १२ वर्षमाथिका एक लाख २८ हजार ५३० जनाले उक्त लगाएका र खोप लगाएकामध्ये १२ देखि १७ वर्षका १४ हजार ८० र १८ वर्षदेखि माथिका ८१ हजार ८ सय ८६ जना छन् ।
लक्षित जनसङ्ख्या ९५ हजार ९ सय ६६ रहेकामा लक्षित भन्दा बढीले कोरोनाविरुद्धको खोप लगाएका थिए । नगरपालिकाभन्दा बाहिरका व्यक्तिले समेत यहाँका स्वास्थ्य संस्थामा खोप लगाएका स्वास्थ्य शाखाले जनाएको छ ।
परिवारको सर्वेक्षण गरेर छुटेका सात हजार ७७ जनालाई खोप लगाएसँगै यो नगरपालिका कोरोनाविरुद्धको खोपमा सुनिश्चित भएको हो । खोप लगाउन बाँकी रहेका व्यक्तिको पहिचान गर्न नगरपालिकाले स्वास्थ्य स्वयंसेविका र टोल विकास संस्थाका पदाधिकारी सम्मिलित घरधुरी सर्वेक्षण टोली परिचालन गरेको थियो ।
उक्त नगरपालिकामा हालसम्म कोरोनाबाट आठ हजार ८ सय ३८ सङ्क्रमित भएकामा २ सय १ जनाको निधन भएको भएको थियो । नगरपालिकामा २०७७ माघ १४ बाट कोरोनाविरुद्धको खोप अभियान सुरु गरिएको र महामारीबाट नगरवासीलाई बचाउन ६० श्ययाको अस्थायी कोरोना अस्पताल स्थापना गरिएको थियो ।