बाँके औलोको उच्च जोखिममाः परीक्षण गरौं शुल्क लाग्दैन्, उपचार पनि निःशूल्क

    • स्वास्थ्य पेज

  • २ फाल्गुन २०७८, सोमबार

नेपालगन्जः औलो अर्थात् मलेरिया रोग नियन्त्रणबारे आज नेपालगन्जमा वहुनिकाय अन्तरक्रिया कार्यक्रम गरिएको छ । नेपालगन्ज उपमहानगरपालिकाको आयोजनामा औलो रोग नियन्त्रणबारे अन्तरक्रिया कार्यक्रम गरिएको हो ।

भारतसँगको खुलासीमा नाकाका कारण नेपालगन्जसहित बाँके औलोको उच्च जोखिममा छ । पछिल्लो डिसेम्वर महिनामा मात्रै बाँकेमा ४५ जनामा औलो पहिचान भएको छ । त्यसमा सबैभन्दा धेरै नरैनापुरकामात्रै ४० जना छन् ।

नेपालगन्ज, कोहलपुर र डुडुवा गाउँपालिकामा एक–एक जना र खजुरा गाउँपालिमा दुईजनामा औलो पहिचान भएको छ । विशेषगरी औलोको जोखिम बढी भएको भारतबाट काम गरेर फर्किनेहरुले औलो लिएर आउने गरेपनि पछिल्लो समय यहीका स्थानीयमा पनि औलो देखिन थालेपछि नियन्त्रण चुनौतिपूर्ण देखिएको स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धीरजंग शाहको भनाइ छ ।

नेपालगन्ज उपमहानगरपालिकाले जमुनाह नाकामा राखेको हेल्थ डेस्कमा भारतबाट आउने नागरिकलाई औलो परीक्षण गर्ने गरेको छ । औलो लामखुट्टको टोकाइका कारण लाग्ने रोग हो । औलो रोगका परजीवी भएको लामखुट्टेले टोेकेपछि १० देखि १५ दिनभित्रमा ज्वरो आउने, टाउको दुख्ने, वान्ता हुने, जोर्नीहरु दुख्ने, असजिलो महसुस हुनेजस्ता सामान्य लक्षण देखा पर्ने नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य शाखाका औलो रोग फोकलपर्सन तेज वलीले जानकारी दिनुभयो ।

शरीरका भित्री अंगहरु फियो, कलेजो सुन्निने, रगतको मात्रा कमी हुने तथा परजीवीको प्रकृति अनुसार विभिन्न लक्षण देखिने हुन्छ । यो रोगले गम्भीर रूप लिएमा मानिसको मृत्यु समेत हुने सम्भावना हुन्छ । औलो रोगको उपचारका लागि नेपालमा विभिन्न थरिका औषधि सरकारको तर्फबाट निःशुल्क उपलब्ध छ । औलोको जोखिम कम गर्न झुल तथा लामखुट्टे भगाउने रसायनहरूको प्रयोग गर्नुपर्ने हुन्छ ।

लामखुट्टेको टोकाइ कम गर्ने वा लामखुट्टेको नियन्त्रणका लागि कीटनाशक औषधि छर्कने तथा घर वरपर पानी जमेका खाल्टाखुल्टी पुर्ने गर्नुपर्छ । राति सुत्दा सधैँ झुल प्रयोग गर्नु औलोबाट बच्ने प्रमुख उपाय हो । नेपालगन्जको भेरी अस्पताल, मेडिकल कलेज नेपालगन्जलगायतका अस्पतालमा परीक्षण, पहिचान र उपचार निःशूल्क हुने स्वास्थ्य कार्यालय बाँकेका भेक्टर कन्ट्रोल अफिसर दुर्गा गौतमले बताउनुभयो ।

  • २ फाल्गुन २०७८, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech