नेपालगन्ज: वीरगञ्जमा कोरोना भाइरस संक्रमणबाट १२ वर्षीय बालकको मृत्यु भएको छ । धोविनी गाउँपालिका–४ का १२ वर्षीय बालकको मंगलबार साँझ साढे ७ बजे मृत्यु भएको हो ।
माघ १६ गते स्वास प्रश्वासमा सहयोगका लागि ट्युब र ब्याग सहित नारायणी अस्पतालमा भर्ना भएका उनलाई भेन्टिलेटरमै राखिएको थियो ।
त्यसपछि उनको एक पटक पनि होस नआएको उपचारमा संलग्न चिकित्सकहरु बताउँछन् ।
उनलाई नेशनल मेडिकल कलेजबाट नारायणी अस्पतालमा रिफर गरिएको थियो ।
सोही दिन गरिएको एन्टिजीन परीक्षण पोजेटिभ आएको थियो ।
चेकजाँचका क्रममा उनमा कोभिड निमोनिया देखिएको अस्पतालले जनाएको छ ।
अस्पतालका कोभिड संयोजक डा. उदयनारायण सिंहका अनुसार शुरुमा उनलाई ज्वरो आएको थियो ।
त्यसपछि उनलाई वान्ता भएको र वान्ता सर्किएर श्वासनली हुँदै फोक्सोसम्म पुगेको उहाँले बताउनुभयो ।