वीपी कोइराला प्रतिष्ठान सम्हाल्न पुगेका स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा. श्यामसुन्दर यादव कर्मचारीको असहयोगपछि काठमाडौं फर्किए

    • स्वास्थ्य पेज

  • २५ माघ २०७८, मंगलवार

नेपालगन्ज: आर्थिक तथा प्रशासनिक अधिकारसहित धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्हाल्न पुगेका स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा. श्यामसुन्दर यादव काठमाडौं फर्किनु भएको छ ।

प्रतिष्ठानका कर्मचारीले काममा हस्तक्षेप गरेको भन्दै उहाँ काठमाडौं फर्किनु भएको हो । प्रतिष्ठानको नियमावलीमा आर्थिक अधिकार उपकुलपति प्रमुखलाई मात्रै हुने भन्दै कर्मचारीको असहयोग भएपछि थप छलफलका लागि स्वास्थ्य मन्त्रालय तथा प्रधानमन्त्रीलाई भेट गर्न आफू सोमबार काठमाडौं गएको उहाँले बताउनुभयो  ।

‘प्रतिष्ठानको नियमावलीमा आर्थिक अधिकार उपकुलपति प्रमुखलाई मात्रै हुने भन्दै असहयोग भयो । प्रतिष्ठानको ऐनले नचिन्ने भन्दै बैंक खाता खोल्न समेत अवरुद्ध भयो,’ डा. यादवले भन्नु भएको छ ।

मन्त्रिपरिषद्को निर्णयले यादवलाई प्रतिष्ठान आर्थिक तथा प्रशासनिक क्षेत्र सम्हालेने गरी जिम्मेवारी  दिएको थियो । तत्काल उपकुलपति डा. ज्ञानेन्द्र गिरी लगायतका अन्य पदाधिकारीलाई काममा रोक लगाएको छ ।

‘उहाँहरुले प्रतिष्ठानको ऐन र नियमावलीले विपरीत काम नहुने भन्दै काममा असहयोग गर्नुभयो,’ डा. यादवले भन्नुभयो, ‘ थप स्पष्टता हुनका लागि स्वास्थ्य मन्त्रालय तथा प्रधानमन्त्रीलाई भेट्न आएको हुँ ।’

सरकारले वीपीको बेथेती सुधारलाई निकास दिन डा.यादवलाई ३० पुसमा आर्थिक, प्रशासनिक कार्य सञ्चालन गर्न डा.यादवलाई पठाउने निर्णय गरेको थियो ।

उहाँसँगै प्रतिष्ठानको आर्थिक तथा खाता सञ्चालन गर्न कोष तथा महालेखा नियन्त्रकको कार्यालयबाट एकजना उपसचिव पठाउने पनि उक्त निर्णय भएको थियो ।

उक्त निर्णय बमोजिम डा.यादव र महालेखाले खटाएका कोष तथा लेखा नियन्त्रक कार्यालय सुनसरीका प्रमुख चिरञ्जिवी अधिकारी माघ १० गते प्रतिष्ठान पुग्नुभयो ।

  • २५ माघ २०७८, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech