लखनउको आरएमएल ल्याबका डा. पुनित मल्होत्राको रिपोर्ट ओल्टाइपल्टाइ हेरेपछि डा. संकेत रिसालले भने ।
सधैंं हँसिमजाक गरिरहने रिसालको अनुहार एकाएक फेरिएको देखेरै म झस्किसकेको थिएँ । अलि अघिसम्म ‘पहलमानलाई कुन रोगले छुन सक्छ ?’ भन्दै चस्मामाथिबाट मेरो अनुहार पुलुक्क हेर्दै उनले रिपोर्ट पल्टाएका थिए ।
रिपोर्ट हेरेपछि उनी एकाएक गम्भीर भए । त्योभन्दा बेहाल मेरो भइसकेको थियो । छाँगाबाट खसेझैँ भयो । आँखा तिरमिराए । चक्कर लाग्लाझैँ भयो । तैपनि, पीडा नदेखाएर आफूलाई सम्हाल्ने कोसिस गरेँ । मनमा अनेक कुरा खेल्न थालिसके । तर, रिसालका अगाडि भने रिपोर्टलाई सहज मानेझैँ गरेँ ।
‘धेरै आत्तिनुपर्दैन दाइ । क्यान्सर सञ्चो हुन सक्छ,’ उनले सान्त्वना दिँदै भने, ‘उपचारमा चाहिँ अब ढिलो गर्नु हुन्न ।’
रिसाल भेरी अञ्चल अस्पतालका पेटरोग विशेषज्ञ हुन् । स्थानीय हुन्, त्यसैले पुरानो चिनजान छ । नेपाली कांग्रेसका नेता ज्ञानराज शर्माका छोरा भएकाले राजनीतिक रूपमा पनि हामी नजिक छौँ । त्यसैले उनी मलाई दाइ भन्छन् ।
बिरामी परेपछि डाक्टर रिसाल र मेरो यो चौथो भेट थियो । शरीरको तौल घट्ने र पेटमा गडबडी एकैपटक सुरु भएको थियो । पखाला र आउँ नरोकिएपछि पहिलोपल्ट उनको क्लिनिक गएको थिएँ । उनले औषधि लेखे र एक हप्तापछि आउन भने । एक सातापछि जाँदा अर्को चार हप्ताको औषधि लेखिदिए । त्यो औषधिले पनि काम गरेझैँ लागेन । त्यसपछि म अरुकहाँ धाउन थालेँ ।
डा. एम किदवाईकहाँ गएँ । उनको औषधिले पनि छोएन । जयसपुरका वैद्यहरूकहाँ धाएर घरेलु औषधि खाएँ । बाबा रामदेवको क्लिनिकमा पुगेँ । रामदेवका शिष्यले २१ दिनको औषधि दिए र ब्यायाम गर्न सल्लाह दिए । त्यसले पनि छोएन । बिरामी हुँदा साँच्चै मन अस्थिर हुँदो रहेछ । एउटाले एकातिर भन्छ, त्यता गयो । अर्कोले अन्तै भन्छ, उसकहाँ धायो । झण्डै सात महिना त्यसैगरी बितेको थियो ।
आउँ नरोकिएर चर्पीकै बास हुने स्थिति आयो । शरीर गल्दै गयो । जति औषधि खाए पनि सुधार भएन । हैन, अब यसरी भौँतारिएर हुन्न भन्ने लागेपछि फेरि डा. रिसाललाई सम्झिएँ ।
‘कहाँ हराउनुभयो दाइ ?,’ देख्नासाथ उनले भने ।
मैले नढाँटी सबै बताएँ । उनले असन्तुष्टि मिश्रित मजाक गरे, ‘पहलमान भेटेपछि घुमाउनुसम्म घुमाएछन् त ।’
‘एक पटक इन्डोस्कोपी गराएर हेराैँ,’ उनले पर्चा लेख्दै भने ।
सुरुमा इन्डोस्कोपी गराएँ । सानो आन्द्रामा केही देखिएन । ठूलाे आन्द्राको परीक्षण गर्न कोलोनोस्कोपी गर्नुपर्ने भयो । डा. रिसालले भारत लखनउका फिजिसियन डा. पुनित गुप्तालाई पत्र लेखिदिए । कोलोनोस्कोपी गर्दा ठूलाे आन्द्रामा घाउ देखियो । त्यसको बायोप्सी गर्न लगाए । त्यसैको रिपोर्ट २ फागुन ०६८ मा इमेलबाट आएको थियो ।
क्यान्सर पुष्टि भएपछि बल्ल मलाई १० महिना ख्यालख्यालैमा फ्याँकेकोमा पछुतो लाग्यो ।
रिपोर्टले मथिंगल घुमिरह्यो । मैले श्रीमतीलाई सम्झिएँं । छोरी श्रीया र छोरा शुभमको माया लागेर आयो । क्यान्सर लागेको थाहा पाएपछि उनीहरूको के हाल होला ?
क्यान्सर रोग कुन चरणमा छ, त्यसैका आधारमा उपचार सफल हुने नहुने टुङ्गो लाग्छ भन्ने सुनेको थिएँ । भर्खर छोएको हो भने पूर्ण निको होला । हैन भने उपचार गरेर पनि निको हुने या नहुने टुङ्गो हुन्न भन्थे भुक्तभोगीहरू । डाक्टरले मेरो क्यान्सर दोस्रो चरणको भनिसकेका थिए । विशेषज्ञबाट निर्क्याेल हुन भने बाँकी नै थियो ।
अब घर गएर अनितालाई के भन्ने ? पिर लाग्न थाल्यो । एक मनले नभनाैँ कि भन्यो । तर, उसलाई नभने कसलाई भन्ने ? सँगै बाच्ने सँगै मर्ने नाता उसैसँग त थियो । जे हो, त्यही भन्नुपर्छ । अर्को मनले चित्त बुझायो, रोग पत्ता नलाग्नु पो चिन्ता । रोग थाहा भएपछि केको चिन्ता ? अब उपचारको उपाय पो निकाल्नुपर्यो त । डा. रिसालको क्लिनिकबाट निस्कँदा अन्तर्मनको द्वन्द्व चलिरह्यो ।
डा. मल्होत्राले एक सातापछि पठाएको रिपोर्ट लिएर रिसालकहाँ पुगेको थिएँ । लखनउबाट एक साताभित्र रिपोर्ट इमेल गरिदिने भनेका थिए । नेपालकै फिजिसियनलाई देखाए हुने भनेकाले म रिपोर्ट नकुरेरै फर्केको थिएँ । छोरा शुभमले इमेल चेक गर्यो । रिपोर्टको स्क्यान कपी आएको रहेछ । प्रिन्ट गर्ने झन्झट के गर्नु ? अनितालाई सादा कागज र कलम ल्याउन भनेँ, रिपोर्ट टिप्न । लेखिएका बुँदाहरू शुभमले पढ्दै गयो, मैले हुबहु टिपेँ ।
पूरै रिपोर्ट पढेपछि ‘सबै नर्मल’ भनेको छ’ भन्दै शुभम कतै निस्क्यो । हुन पनि, जे शंका गरिएको थियो, रिपोर्टमा त्यो कतै थिएन । क्यान्सर कतै लेखिएको थिएन । तर, प्रस्टसँग लेखिएको ‘कार्सिनोमा स्टेज बी’को अर्थ के होला ? मेरो मनमा चिसो पसेको थियो । शब्दावलीको अर्थ मैले बुझिनँ । वास्तवमा मनमनै झस्किएको पनि नबुझेरै हो । तैपनि, नबुझेरै के चिन्ता गर्नु भनेर मन थामेको थिएँ । अब त्यो बाटो पनि रहेन ।
डा. रिसालको क्लिनिक अघिल्तिर खाली रिक्सा भेटियो । एउटा हातमा रिपोर्ट र अर्को हातले रिक्सा समाएर घर फर्कें । अस्पतालदेखि घरबारी टोलको दूरी त्यो दिन निकै पट्यारलाग्दो लागेको थियो । भर्खर हुर्केको चैते मध्याह्नको गर्मीमा डा. मल्होत्राको रिपोर्ट थपिएको थियो । चिटचिट पसिनाले घर पुग्दासम्म शरीर मात्र हैन, अँगौछासमेत निथ्रुक्कै भइसकेको थियो ।
०००
दुःख हतपत देखाउने मेरो बानी छैन । जे-जस्तो परिस्थितिमा पनि मनोबल उच्च बनाइरहने स्वभाव छ । खेलाडी भएर हुन सक्छ । एउटा खेलाडीमा आत्मविश्वास र मनोबल दुवै हुनुपर्छ भनिन्छ । जित्ने प्रयत्न सधैँ रहन्छ । तर, हार वा जित, परिणाम जे आए पनि स्वाभाविक लिनुपर्छ । किनभने, हरेक हारले जितका लागि प्रेरित गर्छ । त्यसैले क्यान्सर देखिँदैमा जीवनबाट हार खाइहाल्नु हुन्न भन्ने मनोबल मसँग थियो ।
म खेल नै जीवन हो भनेर लागेको मान्छे । स्वस्थ शरीरका लागि मात्र हैन, जिल्ला, क्षेत्र र देश चिनाउनका लागि खेलियो । यस्तो लाग्थ्यो, मेरो रगतमै खेल मिसिएको छ, नसा-नसामा छ । जिन्दगीमा थुप्रै भार उठाइयो । किनभने, भार उठाउन सके मात्र जित हुन्थ्यो । तर, अहिले छुट्टै भार उठाउनुपर्ने भयो, क्यान्सरको ।
घर पुग्दा अनिता भान्सामा थिइन् । बैठक कोठा छिर्न नपाउँदै रिपोर्टबारे सोध्न आइपुगिन् । म अस्पताल गएदेखि पर्खेर बसेकी रहिछन् । मभन्दा उनी चिन्तित थिइन् । रिपोर्टतिर हेर्दै सोधीखोजी गरिन् । उनको आँखामा चिन्ता र चासो छरपस्ट थियो । अब ढाँट्नु कसरी ? सबै भनौँ पिर मान्लिन् । म दोधारमा परेँ ।
‘क्यान्सरले हल्का छोएको रहेछ,’ मैले कुरा मिलाउन खोज्दै भनेँ, निको हुन्छ रे, तर डाक्टरले उपचारमा ढिलाइ गर्नुहुन्न भनेका छन् ।’
क्यान्सर सुन्नेबित्तिकै अनिता निःशब्द भइन् । अँध्यारो अनुहार लगाएर मेरो छेउमा आएर बसिन् । क्यान्सर लागेको भन्दा उनको अनुहारमा देखिएको निराशाले मलाई पनि दुःखी बनायो । मेरो हात समाएर सान्त्वना दिन खोजिन् । मलाई सान्त्वना दिन खोज्ने उनी आफैँसँग हौसला थिएन । उनका आँखा वर्षात्को भेलझैँ ओइरियो । अब उनलाई सम्झाउने पालो मेरो थियो । मैले पनि कसरी सम्झाउनु । छोराछोरी घरमा थिएनन् । धेरै बेर अँगालोमा बाँधिएर दुवै रोइरह्यौँ । तर, रोएरै क्यान्सर नामको प्रतिद्वन्द्वीमाथि जित पाउन सम्भव थिएन ।
अनिता खाना पकाउन बिर्सेर त्यहीँ बसिरहेकी थिइन् । धेरै बेरपछि एक-अर्काको अँगालोबाट छुट्टिएर आँसु पुछदै गह्रौँ भएको मन हल्का बनाउन मैले काठमाडौंमा रहेका दाइ बृजेन्द्र, दिदी र आफन्तलाई फोन लगाएँ । रिपोर्टको कुरा भनेँ । सबैले काठमाडौं आइहाल्न भने । म पनि चाहन्थेँ, उपचार स्वदेशमै गरूँ ।
भोलिपल्टै काठमाडौं जाने निधो भयो । अनि मात्र खाना खाइयो । त्यस दिनको खानाको स्वाद थाहै पाइएन । दिन त्यत्तिकै लामो र पट्यारलाग्दो । एक/दुई जोर कपडा ब्यागमा राखेर सुत्न गयौँ ।
राति अबेरसम्म निद्रा लागेन । अनिता पनि उस्तै छटपट-छटपट गरिरहिन् । मनमा अनेक कुरा खेल्न थाले । एक मनले भन्यो, क्यान्सर हुने खालको मेरो आहारबिहार त होइन । सधैँ अनुशासनमा बाँधिएको मान्छे । समयमै खाने, समयमै सुत्ने-उठ्ने । स्वास्थ्य अनुकूल खाने, सकारात्मक सोच्ने र सफलताको बाटो खोज्ने स्वभाव हो मेरो । जिब्रोको स्वाद हैन, सधैँ सन्तुलित खानपिन रोजियो । ‘सुखमा नमात्तिनू, आपत्मा नआत्तिनू,’ बुबा सधैँ भन्नुहुन्थ्यो । मध्य शहरमा राम्रै हुनेखाने परिवारका छोराछोरी कुलतमा लाग्लान् भन्ने उहाँलाई निकै चिन्ता थियो सायद । त्यसैले बेलाबेलामा सम्झाउनुहुन्थ्यो । कुलतमा नलागेर हामीले बुबाको एउटा इच्छा पूरा गरेका थियौँ ।
‘हामीले के बिगार्यौँ र यस्तो आपत्ति आइलाग्यो ?’ सुनसान रातमा अनिताले दुखेसो पोखिन् । मैले सम्झाउन खोजेँ, ‘भगवान्ले सबै हेरेका हुन्छन् । यो पनि परीक्षा लिएका होलान् ।’
०००
म देशकै सर्वाधिक बलियो खेलाडीको उपाधि पाइसकेको मान्छे ।
मेरो तौल ९३ केजी पुगेको थियो । ‘अब योभन्दा बढ्न नदिनुस्,’ एक दिन अनिताले भनिन् । म आफैँ पनि स्वास्थ्यबारे सचेत थिएँ । भनिन्छ, मानिसको उचाइअनुसार तौल हुनुपर्छ । नत्र शरीरले थेग्दैन । मेरो तौल उचाइको तुलनामा धेरै भइसकेको थियो । त्यसै पनि बढी तौल कुनै न कुनै रोगको घर भन्छन् ।
खेलक्षेत्रमा लागेका व्यक्तिको विशेषता भनेकै शरीर तन्दुरुस्त बनाउने हो । स्वस्थ रहने हो । त्यसमाथि, भारोत्तोलन त्यस्तो खेल हो, जहाँ बढी वजन उठाउने प्रतिस्पर्धा गर्नुपर्छ । त्यसका लागि शरीर बलियो हुनुपर्छ । भार उठाउन त्यति सजिलो छैन । कदम सन्तुलन मिलाउनुपर्छ । भार र शरीरको सन्तुलन नमिलाए धेरै तौल उठाउन सकिन्न । स्वास्थ्यको सन्तुलन मिलाउँदा मात्र सफलता हात पर्ने हो । यही प्रशिक्षणमा जिन्दगी बित्यो ।
आवश्यकभन्दा तौल बढेपछि मैले दैनिकी बदलेँ । एकाबिहानै उठ्ने । मर्निङ वाक् गर्ने । त्यसका लागि मोटोपन घटाउन चाहने साथी नभेटिने कुरै भएन । टोलका त्रिलोकी गिरी, रामकुमार वैश्य, धर्मेन्द्र सिंह, महेन्द्र रूपाखेती, प्रदीप श्रेष्ठ, अशोक गोयल, नागेश्वर वैश्य, मोहन श्रीवास्तव, शिव श्रेष्ठ, प्रणिल हमाल । ठूलै टोली बन्यो ।
घरबाट निस्केपछि ३ किलोमिटर दूरीको न्युरोडलाई दुई चक्कर लगाउँथ्यौँ । बाटोमा रमेश गुप्ता र उमेश डङ्गोलहरू भेट हुन्थे । लामो पैदलपछि घर फर्केर खलखली पसिना नआउञ्जेल कडा शारीरिक अभ्यास गर्थें । यस्तो शारीरिक कसरत देखेर अनिता पनि दङ्ग पर्थिन् ।
‘अब ओलम्पिक पदक जित्नु छैन । किन हो यति धेरै ?’ कहिलेकाहीँ अनिता ठट्टा पनि गर्थिन् । उनको कुरा सुनेको नसुन्यै गरेपछि अर्को दिन जिस्काइन्, ‘वृद्धको पनि ओलम्पिक हुने भो कि क्या हो ?’
बिहान मर्निङ वाक्मा निस्केपछि अन्यत्र बरालिने मेरो बानी थिएन । सरासर घर आउँथेँ । त्यसैले अनिताको गुनासो पनि थिएन । निरन्तर कसरत गर्नु मेरो स्वभाव हो । अभ्यासमा जुट्दा अरूको कुरा सुन्ने बानी भएन । सक्रिय खेलाडी जीवनमा पनि गुरुले एउटा योजना दिएपछि त्यसलाई पूरा गर्ने खालको बानी थियो ।
०००
२०६८ चैत । कडा कसरत र मर्निङ वाक्ले निरन्तरता पाएपछि तौल घट्न थाल्यो । त्यही बीचमा तौल घटाउने अभ्यासलाई रोकेर दाङ जानुपर्ने भयो । अनिताको माइतीको एउटा वैवाहिक कार्यक्रममा सहभागी भइयो । वैवाहिक कार्यक्रम भव्य थियो । खानपान राम्रै भयो । एक हप्ताको दाङ बसाइपछि सपरिवार नेपालगन्ज फर्कियौँ । दाङबाट फर्केपछि पखाला चलेर अस्वस्थता महसुस हुन थाल्यो । मैले सोचेँ, ‘खानामा सन्तुलन भएन । मासु धेरै खाइयो ।’ त्यसैले घरेलु उपचारतिर लागेँ । तर, पखाला रोकिएन । केही दिनपछि आउँ पनि देखियो । अब तौल एकाएक घट्न थाल्यो ।
तौल घटेकोमा सुरुमा मलाई चिन्ताभन्दा धेरै खुसी लाग्यो । तौल घट्नुको कारण मैले मर्निङ वाक् र कसरतलाई ठानेको थिएँ । एक दिन मर्निङ वाक्कै क्रममा चिया पिउन जाने सल्लाह भयो । त्रिभुवनचोक पूर्व लाइन, महेन्द्र पुस्तकालयछेउ चिया पिउँदै थियौँ, निजामुद्दिन सिद्धिकी (मुन्ना), अशोक श्रेष्ठ र लक्ष्मण (केसी) दाइ भेटिए ।
दुब्लाएको देखेर मुन्नाले सोधे, ‘के भो ? किन दुब्लाएको ?’
मैले मर्निङ वाक् र ब्यायामले तौल घटाएको बताएँ । उनले पत्याएनन् । बरु स्वास्थ्य जाँच गराउन सल्लाह दिए । अशोकजीले अस्वाभाविक तौल घटेको भन्दै जँचाउन भने । उनीहरूको सल्लाहमा लक्ष्मण दाइले टाउको हल्लाएर सहमति जनाए । तर, कुनै असजिलो महसुस थिएन । त्यसैले तत्कालै अस्पताल जानेतिर मेरो ध्यान गएन ।
मैले सोचेजस्तो आउँ सजिलै निको भएन । दाङबाट फर्किएकै दुई महिना भइसक्यो तर आउँ र पखाला रोकिएन । दिनको पाँच/सात पटक शौच जानुपर्थ्यो । तैपनि औषधि उपचारतिर लागिएन । न त मर्निङ वाक् नै छाडेँ । उमालेको खाना मात्र खान्थेँ । बिसञ्चो हुनासाथ औषधि खाइहाल्ने बानी थिएन । त्यो सानैदेखिको बानी हो । बरु खानेकुरा बार्ने, आराम गर्ने । रुघाखोकी र ज्वरो आउँदा मैले कहिल्यै औषधि खाएको छैन । घरेलु औषधि र तातोपानीले नै सञ्चो हुन्छ । धेरै त आत्मबलले सञ्चो पार्छ । कडा खाना नखाने, चिल्लो पिरो बार्ने तर औषधि खानेतिर नलाग्ने । वास्तवमा अस्पताल भर्ना नै हुने गरी बिरामी कहिल्यै भएको थिइनँ ।
०००
६ फागुन २०६८ मा पहिलो फ्लाइटबाट अनितालाई लिएर उपचारका लागि म काठमाडौं उडेँ ।
बुद्ध एयरबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल उत्रिँदा काठमाडौं पहिलेजस्तो लागेन, मनमा चिन्ता थियो । अरू बेला काठमाडौं आउँदा छुट्टै उत्साह बोकेर आइन्थ्यो । साथीभाइलाई खबर गर्न उत्तिकै हतारो हुन्थ्यो । जहाजबाट भए एयरपोर्टबाटै र बसबाट भए कलंकी वा बसपार्कबाटै फोन गर्थें । काठमाडौं बसाइ कहिल्यै बोर भएन । साथीभाइहरूसँगै त्रिपुरेश्वर, सातदोबाटो, दरबारमार्ग, सुन्धारा झल्झली सम्झनामा आए । हाम्रो घुम्ने ठाउँ तिनै त थिए ।
यसपल्ट छुट्टै थियो अवस्था । मनभरि तनावै-तनाव, दिमागले राम्रोसँग काम नगरेजस्तो । क्यान्सरले ठूलो आन्द्रामा मात्र हैन, मनमै घर गर्न थालिसकेको थियो । जो भेटिन्छ, ढिला गर्न हुँदैन, पल-पलको महत्त्व हुन्छ भन्दै सम्झाउँछन् । सम्झाएका हुन् कि तर्साएका हुन् । बायोप्सी जाँचका लागि मासु निकाल्नु क्यान्सर फैलाउनु हो भन्दारहेछन् । त्यसैले यो जाँचपछि जतिसक्दो चाँडो अप्रेसन गर्नुपर्ने रे । डाक्टरदेखि सुन्ने-जान्ने कहलिएका धेरैले सुनाए । त्यसैले पनि मन आँत्तिदोरहेछ । जहाजबाट ओर्लिएर प्रतीक्षालयसम्म आउँदासमेत हतारो मानिरहेको थिएँ ।
बाहिर बृजेन्द्र दाइ, साढु दाइ दिलबहादुर मल्ल, दिज्यू र भान्जा पर्खिरहेका थिए । दाइ, साढुदाइ र म सोझै अस्पताल जाने भयौँ । अनिताचाहिँ भान्जाको कारमा दिज्यूसँग गइन् । एयरपोर्टबाट सोझै भक्तपुर क्यान्सर अस्पताल लाग्यौँ । साढुदाइले पहिल्यै मेरो नाम लेखाइसकेका रहेछन् । डाक्टरको समय समेत लिइसकेको पछि थाहा पाएँ । उहाँ भक्तपुर औद्योगिक क्षेत्रका प्रबन्धक हुनुहुन्थ्यो । उहाँको अस्पताल व्यवस्थापन समितिका अध्यक्षसँग राम्रै सम्बन्ध रहेछ । त्यसैले पनि सजिलो भयो । डाक्टरले लखनउको रिपोर्ट हेरेपछि भने क्यान्सर हो वा हैन भन्ने बाँकीको शङ्का पनि निवारण भयो । डाक्टरले भनिहाले, ‘जतिसक्दो छिटो अपरेसन गर्यो उति राम्रो ।’
उनले अपरेसनको मिति पनि तोके, १२ दिनपछिको ।
डाक्टरहरू सजिलै भनिदिन्छन् । मर्नु र बाँच्नु त बिरामीले पर्छ । आफूलाई यहाँ जीवनमरणको कुरा छ, उनी सहजै भन्दै थिए, ‘क्यान्सर मौरीको चाका जसरी एकै ठाउँमा बसेको छ, काटेर फाल्नुपर्छ ।’
मलाई भने एउटै चिकित्सकको भर परेर अपरेसन गर्ने कि नगर्ने दोधार पर्न थाल्यो । एउटै बिरामीलाई डाक्टरपिच्छे फरक जाँच र औषधि दिइएका थुप्रै घटना सुनेको थिएँ । कतै अपरेसन गर्नुपर्छ भनेका बिरामी औषधिबाटै निको भएका पनि छन् । कतै, क्यान्सर शङ्का गरेको हैन रै’छ भन्दै घर फर्केका पनि छन् । एकै वचनमा अपरेसनको निधो गर्न मलाई धौधौ भयो ।
पुनित आन्द्राको सर्जन, आन्द्रा काट्ने र सिउने । डा.अरुण क्यान्सर सर्जन, क्यान्सरको फैलावट हेर्ने र घाउ देखाउने । क्यान्सर जति छिटो फैलिन्थ्यो, त्यति नै छिटो काट्दै जानुपर्थ्यो, जुन डा. पुनितले गरे । निकै होसियारीपूर्वक, सायद । अलिकति मात्र तलमाथि गरेको भए सदाका लागि प्राकृतिक मलद्वार गुमाउनुपर्थ्यो ।
अपरेसन गर्ने कुरामा परिवारका अरूको पनि सल्लाह लिनुपर्छ भन्ने लाग्यो । ‘एउटै डाक्टरकोे भर पर्नुहुन्न’, धेरैको एउटै कुरा थियो । अन्त्यमा, कम्तीमा तीन जना विशेषज्ञले समान निर्णय नदिउञ्जेल अपरेसन नगर्ने निधोमा पुगेँ ।
‘अपरेसन नै गर्ने हो भने लखनउको पीजीआई अस्पतालमा गर्दा कसो होला ?’ मैले भक्तपुरकै डाक्टरसँग सोधे । उनले ‘राम्रो हुन्छ’ भने । पीजीआईमा पालो पाउनका लागि रिफर गरिएको बिरामी हुनुपर्छ । सोझै जाँदा परीक्षण गर्न पाइँदैन । त्यसैले रिफर पत्र लेखिदिन अनुरोध गरेँ । उनले बिनाआनाकानी स्वीकारे । त्यो दिनभर हामी दिल दाइकहाँ बस्यौँ ।
क्यान्सर विशेषज्ञ डा. सुदीप श्रेष्ठलाई भेट्न दिउँसो चाबहिलस्थित ओम अस्पताल पुग्यौँ । उनले पनि क्यान्सर नै भनेँ । उनले दुई दिनपछि भर्ना भएर चौथो दिन अपरेसन गर्ने डेट दिए । छटपटी अब झन् बढ्दै गयो । बेलुका नक्सालस्थित दिज्यूको घरमा पारिवारिक जमघट भयो । अपरेसन कसैले नेपालमै गर्न भने, कसैले नयाँ दिल्ली जान सल्लाह दिए । लखनउको पीजीआई वा सहारामा जाऊ भन्ने धेरै भए । अन्ततः लखनउ जाने टुङ्गो लगाएर सुतियो ।
लखनउ छनोट गर्नुका थुप्रै कारण थिए । पहिलो नेपालगन्जदेखि काठमाडौंभन्दा नजिकै रहेकाले आफन्तलाई भेटघाट गर्न र कुरुवा बस्न सजिलो हुन्थ्यो । दोस्रो मेरो लागि लखनउ धेरै परिचित शहर हो । त्यसैले दुई दिनपछि नेपालगन्ज फर्किने र लखनउ जाने मोटामोटी सल्लाह बन्यो ।
बल्ल मलाई साथीभाइको सम्झना आयो । सँगै खेलेका साथीहरू प्रायः सबै काठमाडौं बस्थे । घरपरिवार र नातेदारपछिको आफन्त भनेकै साथीहरू त हुन् । सबैभन्दा पहिले सुनील जोशीलाई सम्झेँ । काठमाडौंको रैथाने नेवार सुनील नेपाल ओलम्पियन सङ्घको अध्यक्ष तथा भारोत्तोलनको प्रमुख प्रशिक्षक थिए । ओलम्पिकसम्म यात्रा गरेका उनी मेरो अति निकट थिए । भन्नचाहिँ उनी मलाई ‘सुरेन्द्र दाइ’ भन्छन् ।
‘सुनील, म काठमाडौं आएको थिएँ, भोलि फर्कंदैछु,’ मैले टेलिफोन गरेँ । ऊ दङ्ग पर्यो । अरू बेला आउँदा सधैँ भेट्थ्यौँ । घुमफिर गर्थ्यौं । यसपटक नभेटेरै जान लाग्दा उसले अचम्म मान्नु स्वाभाविकै थियो । कौतुहलमा नराखेरै स्वास्थ्यबारे सुनाएँ । ‘तपाईँ एक दिन रोकिनुपर्छ दाइ,’ उसले भन्यो, ‘यो कुरा देशले थाहा पाउनुपर्छ । जीवनभर देशका लागि खेलियो । अब चरोमुसोजस्तो भएर मर्नु त भएन नि ।’
उसको कुराले मेरो मन पनि हल्लायो ।
कुरा ठीक लाग्यो । जीवनभर खेल भनेरै कुदियो । देशको झण्डा उचो बनाउन लागियो । सरकारसँग खास ठूलो अपेक्षा त थिएन, तर देशले थाहा पाओस् न एउटा खेलाडी बिरामी छ भन्ने लाग्यो । मैले परिवारलाई उसको सल्लाह सुनाएँ । अनिता त चाँडो जाऊँ भन्दै थिइन् । कुरो एकै दिनको थियो, त्यसैले धेरै जिद्दी भने गरिनन् ।
सुनीलले नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घका अध्यक्ष दीपक विष्टसँग मेरोबारे कुरा गरेछन् । दीपकले फोन गरे, लामै कुरा भयो । सबै स्वास्थ्य अवस्थाबारे भनेँ । उनले विचलित नहुन आश्वस्त पार्न खोजे ।
‘सबै खेलाडी तपाईंको साथमा छौँ दाइ, चिन्ता नगर्नुहोला,’ दीपकले फोनबाटै ढाडस दिएका थिए, ‘अब क्यान्सर रोग ठूलो हुँदै हैन । पक्कै ठीक हुन्छ ।
नेपाली खेलक्षेत्रका एउटा ख्यातिप्राप्त व्यक्तित्व हुन् दीपक । दक्षिण एसियाली खेलकुद (साग)मा लगातार चार स्वर्ण, एसियाडमा दुई कास्य पदक र छनोट चरण पार गरी ओलम्पिक यात्रा तय गरेको प्रतिभावान् खेलाडी हुन् । खेलाडी संघको अध्यक्ष भएपछि थुप्रै बिरामी खेलाडीलाई सघाउन उनले सक्रियता देखाएका थिए । दिनेश बानियाँ र मञ्जु तुलाधरको उपचार खर्चको जोहो उनकै नेतृत्वको टिमले गरेको थियो । उनले सम्झाइरहँदा मैले थोरै भए पनि राहतको महसुस गरेँ ।
भोलिपल्ट ९ फागुनमा संघले मेरो स्वास्थ्यबारे जानकारी दिन पत्रकार सम्मेलन गर्ने भयो । त्रिपुरेश्वरस्थित नेपाल भारोत्तोलन संघको केन्द्रीय कार्यालयमा पत्रकार भेटघाट गरियो । थुप्रै खेल पत्रकार आएका थिए । लगत्तै, नेपाल ओलम्पियन संघ, खेलाडी संघका पदाधिकारीसहित राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव युवराज लामालाई भेट्न गयौँ । उनले सान्त्वना र आश्वासन दिए, ‘उपचारमा कुनै कमी हुन दिन्नँ । सक्दो सहयोग गर्छु ।’ मलाई केही ढाडस मिल्यो ।
टीभी र रेडियोमा समाचार बज्न थाले । भोलिपल्टका पत्रपत्रिकाका खेलपेजहरूमा मेरो स्वास्थ्य अवस्थाका समाचार छापिए । त्यसपछि चिन्ता, चासो र दुःख व्यक्त गर्दै थामिनसक्नु फोन बज्न थाल्यो । अब यति भए मलाई पुग्यो । मनमनै सोचे, ‘सुनीलले भनेझैँ ज्यानै गएछ भने पनि चरो मुसोझैँ कसैले थाहा नपाउने अब हुन्न ।’
नेपालगन्जका हुर्मत न्यौपाने, निजामुद्दिन छोटकउ र रवि राणा भेट्न आएका थिए । नेपाली कांग्रेसको डेलिगेसनमा उनीहरू काठमाडौँ पुगेका रहेछन् । सुशील कोइरालालाई भेट्न सल्लाह दिए । म आफैँ कांग्रेसको जिल्ला तहको नेता थिएँ । विद्यार्थी राजनीतिदेखि टोलहुँदै नेपालगन्ज नगरको उपमेयरसम्म भइसकेको थिएँ । केन्द्रीय नेताले चाहे लखनउमा सहज र सहुलियतमा उपचार गराउन भारतीय दूतावासमार्फत पहल हुन सक्छ भन्ने साथीहरूको कुरा थियो । तर, म गइनँ ।
टेबुलटेनिसका मुख्य प्रशिक्षक आरआर गुरु र कराँतेका सिनियर खेलाडी मोहन राई दाइलगायतका शुभेच्छुकहरू पनि मलाई भेट्न नक्साल पुगेका थिए । मोहन अहिले कांग्रेसका सभासद् छन् ।
१० फागुनको बिहानै नेपालगन्ज आएर लखनउ जाने तयारी थियो । बिहानै मौसम बदलियो । पानी परेर जहाज उडेन । त्यसमाथि, हवाई टिकट अभाव । जता फोन लगाए पनि ‘छैन’ मात्र भन्ने । झट्ट नेपालगन्जका सिनियर पाइलट राकेश राणाको सम्झना आयो । उनले दुईवटा टिकट मिलाइदिए, त्यो दिनको अन्तिम फ्लाइटमा । अरू दिनजस्तो डिले सेड्युअल रहेनछ, समयमै जहाजले धावनमार्गबाट टेकअफ गरेको थियो ।
नेपालगन्जको राँझा एयरपोर्टमा गजेन्द्र दाइ, लक्ष्मीनारायण शाह, जङ्गवीर नेपाली लिन आएका थिए । घरबारी टोलमा शुभचिन्तकहरूको भिड लागेको थियो । समाचारका कारण टोलछिमेकीले समेत मेरो अवस्था थाह पाइसकेका थिए । क्यान्सर सुनेरै धेरैका अनुहार मलीन थिए ।
लखनउ जान जिप तयार थियो । भेट्न आउनेको भिडले झन् उकुसमुकुस भइरहेको थियो । मुस्किलले २० मिनेट बसियो होला घरमा । लखनउमा पनि कहाँ जाने भन्ने मान्छेपिच्छेका सल्लाह थिए । कोही पीजीआई भन्थे । कोही सञ्जय गान्धी पोष्ट ग्राजुयट इन्टरनेसनल त कोही इन्स्टिच्युट वा सहारा हस्पिटल । सहारा राम्रो छ भनेर सुझाव दिनेमा पूर्वमेयर विजय गुप्ता र जडिबुटी व्यवसायी राजेश जैन पनि थिए । जैन मेरो सानैदेखिका साथी हुन् ।
मसँगै अनिता, भाइ जितेन्द्र, बुहारी प्रमिला र रज्जब अन्सारी लखनउ जाने भयौँ । रज्जब मेरै घरको सटरमा पसल गर्छन् । भारतमा उनका नातेदार र इष्टमित्र छन् । राम्रो हिन्दी बोल्छन् । आफ्नी आमाको उपचारका बेला उनले लखनउका धेरै अस्पताल चहारेका थिए । त्यसैले अनुभवी जानकारका रूपमा उनी मसँग जाँदै थिए ।
नयाँ जीवनको खोजीमा बेलुकी ६ बजेतिर घरबाट निस्क्यौँ । छोराछोरी वाल्लट्वाल्ल सडकमा उभिएका थिए । उनीहरू के सोच्दै होलान् ? मन थामिनसक्नु गह्रौँ भयो । फर्केर आउन पाइने हो होइन । घरवरपर झुम्म भएको भिडले अन्तिम बिदाइ गरेझैँ लागिरहेको थियो ।
नयाँ जीवनको खोजीमा बेलुकी ६ बजेतिर घरबाट निस्क्यौँ । छोराछोरी वाल्लट्वाल्ल सडकमा उभिएका थिए । उनीहरू के सोच्दै होलान् ? मन थामिनसक्नु गह्रौँ भयो । फर्केर आउन पाइने हो होइन । घरवरपर झुम्म भएको भिडले अन्तिम बिदाइ गरेझैँ लागिरहेको थियो । अनिताका आँखा एकाएक रसाए । छोराछोरीको आँखामा पनि आँसु टिलपिलाइरहेको मैले देखेँ । ‘मलाई केही हुन्न । सञ्चो भएर आउँछु, किन पिर मानेको ?’ छोराछोरीलाई धाप मार्दै यतिसम्म त भनेँ, त्योभन्दा धेरै शब्दै निस्केन । मैले पनि मन थाम्न सकिनँ ।
सबैले मनोबल उच्च राख्नू मात्र भन्थे । छिमेकी माधुरी शर्मा आन्टीले पनि यो रोग आत्मबलले मात्र निको हुन्छ भन्दै थिइन् । छिमेकीलाई एकएक गरेर भेटेपछि जिप चढेँ । बागेश्वरी मन्दिरअघि पुगेपछि माताको दर्शन गरेँ । बागेश्वरीप्रति म र मेरो परिवारको ठूलो आस्था छ । आफू जान्ने हुँदादेखि बिहान जल चढाउने र बेलुका आरती गर्ने हाम्रो दिनचर्या हो । तर, यसपालि त्यही दिनचर्याका लागि मात्र म मन्दिर छिरेको थिइनँ । मृत्युसँगको युद्ध जित्न माताको आशीर्वाद लिन म मन्दिर पसेको थिएँ । बिहानको जल र बेलुकीको आरती गर्ने दिनचर्या यहीँ नटुंगियोस् भन्दै माताको शरणमा पर्न गएको थिएँ ।
त्यसपछि हनुमानगढी पुग्यौँ । बाबालाई देखेपछि मैले आँसु थाम्न सकिनँ । बाबा हरिशंकर गिरी म जन्मनुभन्दा पहिलेदेखि यहाँ छन् । यी बालब्रह्मचारी नागा बाबासँग अथाह शक्ति छ भन्ने विश्वास छ । उनीप्रति हाम्रो श्रद्धा र प्रेम छ ।
‘तँलाई केही हुन्न, ढुक्क भएर जा’ बाबाले यसरी भने मानौँ, उनले भविष्य देखिरहेका छन् ।’
‘एउटा नम्बर दे,’ उनले भने । उनी नम्बरबाट साइत हेर्छन् । १० भन्दा मुनिको एउटा अङ्क भन्नुपर्छ । मैले ७ नम्बर दिएँ । त्यसपछि बाबाले जान ईशारा गरे । बागेश्वरी माताको दर्शन र हनुमानगढी बाबाको आशीर्वादपछि केही हल्का महसुस भएको थियो । मनोबल पलाउन थालेझैँ लागेको थियो ।
जिप सुर्खेत रोड निस्किएर बीपी चोक पुग्यो । बिरामी हुँदा मन साँच्चै डराउँदो रहेछ । आफ्नो भविष्य मात्र हैन, विगतको पनि माया लागेर आउने । म उपमेयर हुँदा निर्माण गरिएको बीपीको सालिक दाहिने पार्दै जिप रूपैडिहातर्फ कुदिरहँदा मेरो मनमा थुप्रै कुरा खेले । महेन्द्र बहुमुखी क्याम्पसअघिल्तिर पुग्दा विद्यार्थी राजनीति सम्झिएँ । छेउको छाप्राको ‘हलुवा पराठा’को स्वाद अहिल्यै जिब्रोमा आएझैँ लाग्यो ।
गोधुली साँझ हुँदै थियो । रुपैडिहाबाट किनमेल गरेर फर्किनेहरू टाँगा र रिक्सामा भरिभराउ सामान लिएर फर्किंदै थिए । समय घर्किंदै थियो । रुपैयाँ सटहीको आवश्यकता थिएन । काठमाडौं छाड्दा दाइदिदीहरूले उपचार खर्च जोहो गरिदिएका थिए । नेपालगन्जका व्यापारी साथीहरूले भारतीय रुपैयाँको व्यवस्था गरिदिए । नेपालबाटै भारु लिएर रूपैडिहा छिर्यौँ । ‘अरू पैसा चाहिए फोन गर्नू, लखनउमै पाउने व्यवस्था मिलाऊँला,’ राजेश जैनले भनेका थिए । उनको जडीबुटीको कारोबार धेरै भारतमै हुन्छ । त्यसैले दुई/चार लाखका लागि लखनउमा समस्या पर्दैन भन्ने मलाई थाहा थियो ।
मनभरि चिन्ता भए पनि उच्च मनोबल लिएर म लखनउ हुइँकिएको थिएँ । बिदाइका बेला मुट्ठी कसेको थिएँ रे, अहिले भन्छन् धेरैले ।
भारत उत्तर प्रदेशको राजधानी लखनउ विदेशी भूमि पक्कै हो । तर, मेरा लागि नौलो भने हैन । नेपालगन्जीया मात्र हैन, मध्य तथा सुदूरपश्चिमका हिमाल, पहाड र तराईका बासिन्दाका लागि औषधि उपचारका दृष्टिले काठमाडौंभन्दा नजिक छ यो शहर । लखनउ पुग्नासाथ सबैभन्दा पहिले चाँद भाइलाई सम्झिएँ । उनलाई फोन गरेँ । भारोत्तोलनका सहयात्री समसुद्दिन सिद्धिकीका कान्छा भाइ हुन् चाँद । समसुद्दिन र मैले करिअर करिब-करिब सँगै सुरु गरेका थियौँ । उनले दक्षिण एसियाली खेलकुदमा धेरै पदक जितेका छन् । मजस्तै खेलजीवनपछि उनले पनि राजनीतिक करिअरलाई अघि बढाए । दुवै उपमेयर भयौँ । उच्च शिक्षाका लागि लखनउ गएका चाँद उनै समसुद्दिनका भाइ हुन् । जो, त्यहाँ राम्रैगरी जमेर बसेका छन् ।
मलाई क्यान्सर भएको सुनेपछि उनी पनि दुःखी भए । पीजीआई वा सहारा अस्पताल कहाँ ठीक होला भनेर मैले उनीसँग सल्लाह मागेँ ।
‘सहारा अलिक महँगो छ दाइ, पीजीआई ठीक हुन्छ,’ उनले भने ।
दाइको साथी भएकाले उनी मलाई आदर र माया गर्छन् । बिहानै पीजीआई पुगेर जाँच सुरु गर्यौँ । सिटी स्क्यानपछि अपरेसनको मिति तोकियो, २५ फागुन । त्यसका लागि दुई साता पर्खनुपर्ने भयो । अब के गर्ने ? जतिसुकै हतार गरेर आए पनि डाक्टरको समय नमिले उपचारै रोक्नुपर्ने हुँदोरहेछ ।
‘क्यान्सर दिन दुई गुना, रात चौगुना फैलिन्छ,’ धेरैले भनेको सुनेको थिएँ । त्यसैले आफूलाई जतिसक्दो चाँडो क्यान्सर फाल्नुपर्छ भन्ने लागिरहेको बेला डाक्टर भने दुई सातापछि बोलाउँछन् । हामी आत्तिएका थियौँ । त्यसैले पीजीआई प्रशासनमा पुगेरै अनुरोध गर्यौं । तर, उनीहरूले तालिका देखाएरै असमर्थता जनाए । अब के गर्ने ? सहारामा गएर सोधी हेर्ने कि ? अनिता र भाइ कैलाशले सहारा गएर डा. पुनित गुप्तालाई भेटेछन् । उनले बिरामी बोलाउन भनेपछि म पनि गएँ । रिपोर्ट हेरेपछि डा. गुप्ताले फ्याट्ट भने, ‘कल एडमिट किजिए, पर्सौं अपरेसन होगा ।’
हामीले चाहेकै त्यही थियो, जतिसक्दो चाँडो अपरेसन ।
बेलुका भइसकेको थियो । त्यो दिन अमिनावादस्थित छेदीलाल धर्मशालामा बास बस्यौँ । भोलिपल्ट बिहानै सहारा अस्पताल पुगेर डा. पुनितसँग भेट भयो । शल्यक्रियाबारे मैले सोधेँ । उनले विधि खुलस्त पारे, ‘आन्द्रा काट्नुपर्छ, घाउ फालेपछि सिउनुपर्छ ।’
मैले अर्को जिज्ञासा राखेँ, ‘हातले सिउने कि गन (मेसिन)ले ?’
उनले हाँस्दै आश्वस्त पारे, ‘हातले सिउने त पुरानो विधि हो । अचेल त मेसिनले नै हो गर्ने ।’
डा पुनितले मेरा आँखामा हेरे । सायद, जिज्ञासा र त्रास धेरै देखे कि ? सम्झाउन पो थाले, ‘सिटीस्क्यान राम्रो छ । क्यान्सर मौरीको चाकाजस्तै एक ठाउँमा झोलिएर बसेको छ । घाउ सञ्चो हुने कुरा घाउको साइज कत्रो छ भन्नेमा निर्भर हुन्छ । घाउले धेरै ठाउँ लिएको रहेछ भने काट्दै जाँदा घाउ त निको होला, जिन्दगी भने आधा हुन सक्छ, अपाङ्गजस्तै ।’
मैले फेरि सोधेँ, ‘त्यो भनेको के ?’
उनले प्रस्ट्याए, ‘मलद्वार कृत्रिम तयार गरिनेछ । कृत्रिम नलीबाट मल निकाल्ने प्रविधि जडान गर्नुपर्नेछ ।’
अब खासै धेरै जिज्ञासा बाँकी रहेनन् । जति सोध्यो, उति मन जिरिङजिरिङ मात्र भयो । तर, मैले डरको भाव अनुहारमा आउन दिइनँ । किनभने अनिता त्यहीँ थिइन् । डा. पुनितलाई भनेँ, ‘ठीक छ । म तयार छु । जसरी हुन्छ, क्यान्सर फाल्नुस् । सकेसम्म कृत्रिम दिसा गराउने अवस्थामा पुग्न नदिनुहोला ।’
घाउ ठूलाे आन्द्रामा थियो । त्यसको कनेक्सन गुँदद्वारसँग हुँदो रहेछ । घाउ फैलिएर गुँदद्वारसम्मै पुगे कृत्रिम दिसाको अवस्था आउन सक्थ्यो । त्यसले चिन्ता झन् बढाएको थियो ।
डाक्टरलाई प्रभावित पार्न सके विशेष सावधानी गर्लान् भन्ने मैले सोचेँ । त्यसैले आफ्नो परिचय दिएँ । मेराबारेमा प्रकाशित समाचारहरू देखाएँ । ओलम्पियन भएको र एसियाली पदक जितेको भन्न भ्याएँ । दक्षिण एसियाली खेलकुदमा जितेका पदकबारे पनि सुनाएँ । उनले निकै चाख दिएर सुने । त्यसपछि बल्ल रिपोर्ट ओल्टाईपल्टाई हेर्न थाले । अनि, ढाडस दिने भावमा भने, ‘गुड, घबराइए मत । आप पहले ओलम्पियन हो, जिसका इस हस्पिटलमे आपरेसन हो रहा है ।’
१३ फागुनमा अपरेसन गर्ने टुंगोपछि ११ मा भर्ना भएँ । अपरेसनको दिन बिहानै ओटी लैजाने तयारी भयो । इमर्जेन्सी केस आएको भन्दै डाक्टरले ढिला गरे । डा. पुनितले संकेत गरेपछि मलाई अपरेसन कक्षमा लगियो । उनको थाकेको अनुहार देखेपछि मलाई डर लाग्यो । यति जटिल अपरेसन छ, डाक्टर घण्टौँ इमर्जेन्सी केस हेरेर थाकेर आएका छन् । भोलिलाई सार्न पाए हुन्थ्यो भन्ने लाग्यो । भनौँ कि नभनौँ हुँदाहुँदै मैले अर्को दिन बिहान गर्ने कि भनेँ । मुसुक्क हाँसेर उनले ‘हुन्छ’ भने ।
१४ फागुन, बिहान ९ बजे डा. पुनित आए । शल्यक्रियाको दिन गजेन्द्र दाइ, महेश मल्ल, भतिज जोगिन्द्र पुगेका थिए । लगत्तै मलाई अपरेसन कक्षमा लगियो । उनीसँग अरू दुई जना डाक्टर थिए, क्यान्सर सर्जन अरुण चतुर्वेदी र उनका सहायक डा. विजय पाण्डे । झण्डै ७ घण्टा लागेछ । ओटीबाट बाहिर निस्कँदा ४ बजेको थियो भन्छिन् अनिता । त्यसपछि सोझै आईसीयूमा लगिएछ । पुनित आन्द्राको सर्जन, आन्द्रा काट्ने र सिउने । डा.अरुण क्यान्सर सर्जन, क्यान्सरको फैलावट हेर्ने र घाउ देखाउने । क्यान्सर जति छिटो फैलिन्थ्यो, त्यति नै छिटो काट्दै जानुपर्थ्यो, जुन डा. पुनितले गरे । निकै होसियारीपूर्वक, सायद । अलिकति मात्र तलमाथि गरेको भए सदाका लागि प्राकृतिक मलद्वार गुमाउनुपर्थ्यो । अपाङ्गसरि जिन्दगीभर थैलो झुण्ड्याएर हिँड्नुपर्थ्यो । सम्झँदा पनि कहाली लाग्छ ।
ब्यथा झन् बल्झियो
अपरेसन सफल भएकोमा खुसीको सीमा थिएन । दुई दिन आईसीयूमा राखियो । त्यसपछि जनरल वार्डमा सारे । एक/दुई दिनपछि नै हल्का भएको महसुस हुँदै थियो । बिस्तारै हिँडडुल गर्न लगाए । सञ्चो हुँदै आएको देखेर मभन्दा धेरै त अनिता खुसी थिइन् । कैलाश र प्रमिलाले स्याहारमा अलिकति पनि झर्को मानेनन् । केसको जटिलता बुझेका चिकित्सक र नर्सहरू पनि अपरेसन सफल भएकोमा खुसी थिए । घाउ निको हुँदै थियो । म सामान्य हिँडडुल गर्न सक्ने भइसकेको थिएँ ।
एक दिन अचानक ज्वरो आयो । सुरुमा दुखाइको पिरले होला भन्ने ठानेँ । शारीरिक रूपमा दुखाइ बढी हुँदा ज्वरो निकाल्छ भन्थे, यसै हो कि भन्ठानेको थिएँ । ज्वरो बढ्दै पो जान थाल्यो । कतै दुख्दैनथ्यो, हरेक साँझपख ज्वरो भने आइरहन्थ्यो । डा. पुनित थिएनन् । सामान्य ज्वरो ठानेर अरु डाक्टरले इन्जेक्सन दिए । इन्जेक्सन दिएपछि ज्वरो हट्ने, फेरि दोहोरिने हुन थाल्यो । पछिपछि त काँप ज्वरो पनि आयो ।
नयाँ जीवनको खोजीमा बेलुकी ६ बजेतिर घरबाट निस्क्यौँ । छोराछोरी वाल्लट्वाल्ल सडकमा उभिएका थिए । उनीहरू के सोच्दै होलान् ? मन थामिनसक्नु गह्रौँ भयो । फर्केर आउन पाइने हो होइन । घरवरपर झुम्म भएको भिडले अन्तिम बिदाइ गरेझैँ लागिरहेको थियो ।
पेट पनि दुख्न थालेपछि डाक्टरहरूले औषधि फेरे । तर, दुख्न र ज्वरो रोकिएन । पछिपछि त अपरेसन गरेको घाउबाट पिप बग्न थाल्यो । अब भने मलाई चिन्ता लाग्यो । निको भइसकेको घाउ बल्झिन थाल्यो । मन आत्तियो । न अनितालाई भन्नु न भाइबुहारीलाई । दुःख–चिन्ता देखाए झन् पीडा बल्झन्थ्यो । मुटुमाथि ढुङ्गा राखी हाँस्नुपर्या छ’ भनेझैँ भइरहेको थियो । डा. पुनित मेरो अपरेसनपछि नयाँ दिल्ली गएका रहेछन् । यता मेरो घाउमा इन्फेक्सन भयो । अरूले सुरुमा इन्फेक्सन पहिल्याउन सकेनन् । पछि रोक्न सकेनन् । इन्फेक्सनको कारणसमेत पत्ता लागेन । मेरो बेहाल भइसकेको थियो ।
एक सातापछि फर्किए, डा. पुनित । उनी आउँदासम्म इन्फेक्सनले गलाइसकेको थियो । अस्पतालले मेरो बिग्रँदो अवस्थाबारे भनिसकेछ सायद, उनी सिधै मकहाँ आइपुगे । निकै चासोका साथ चेकअप थाले । तत्काल हाई डोजको एन्टिबायोटिक चलाए । औषधि पेलेको-पेल्यै गरेपछि मात्र इन्फेक्सन कन्ट्रोलमा आएको थियो । घाउमा पिप देख्नेबित्तिकै उनले खाइरहेको औषधि बन्द गरेर नयाँ औषधि दिए । इन्फेक्सनकै कारण थप दुई पिन्ट रगत चढाउनुपर्यो । जबकि, शल्यक्रियाका बेला एक पिन्ट रगतले पुगेको थियो । इन्फेक्सनले रगत बन्ने प्रक्रिया रोकिँदो रहेछ ।
डा. पुनितले फेरेको औषधिले काम गर्न थाल्यो । तर, हाई डोजको औषधिले निकै कमजोर बनायो । खर्च पनि उत्तिकै बढ्यो । दैनिक ३५ हजारभन्दा धेरैको औषधि खानुपर्थ्यो । साढे ७ हजार पर्ने त एउटा इन्जेक्सन थियो । स्लाइन पानी चलेको चल्यै । यतिसम्म स्लाइन पानी चल्यो कि सुई घोच्ने हातखुट्टामा कुनै भाग बाँकी रहेन । हातखुट्टाबाट पानी चढ्न बन्द भएपछि घाँटीबाट समेत स्लाइन पानी चलाइयो । हातखुट्टा सुन्निएर डमडम थिए । धन्न, डा. पुनित समयमै आए र ज्यान जोगियोझैँ लाग्छ । सायद बागेश्वरी माताले नै मेरो जीवन रक्षाका लागि उनलाई पठाएकी होलिन् ।
करिब २८ दिनको बसाइपछि सहारा हस्पिटलले डिस्चार्ज गर्यो । इन्फेक्सन नभएको भए १० दिनमै डिस्चार्ज गर्थ्यो । जे होस्, डिस्चार्ज भइयो भनेर खुसी हुँदै दिउँसो २ बजेतिर होटल पुगेको थिएँ । बेलुका सादा खाना मगाएँ, दाल र रोटी । खाएपछि पेट सहन नसक्ने गरी दुख्न थाल्यो । दाल बासी परेछजस्तो लाग्यो । निकै गाह्रो भएपछि मैले राति डा. पुनितलाई फोन गरेँ । उनले भर्ना हुन भने । राति १ बजे पुनः अस्पताल भर्ना भएँ । बासी दालले अस्पतालमा अरू तीन/चार दिन बसायो । इन्फेक्सनकै कारण ६ महिनासम्म बाइपास ट्वाइलेट गराइएको थियो । अर्डिनरी ट्वाइलेट नहुने गरी कोलस्टामी ब्याग झुन्ड्याइएको थियो । पछि अर्डिनरी ट्वाइलेटको व्यवस्था गर्दा अर्को १० दिन अस्पतालको बास भयो ।
लखनउबाट हामी दिउँसो घर फर्किने भयौँ । भाइ कैलाशले गाडीको व्यवस्था गर्यो । चिनारुले त्यो रात बसेर भोलिपल्ट बिहानै नेपालगन्ज फर्किन सल्लाह दिएका थिए । त्यसमाथि, एक हप्तापछि नै फलोअप चेकमा फेरि आउनुपर्ने थियो । तर, मेरो मनले त्यहाँ रोकिन मानेन । जतिसक्दो चाँडो घर जान मन बेचैन थियो । बागेश्वरी माताको पाउमा माथ टेकेर कृतज्ञता जाहेर गर्नु थियो । छोराछोरीलाई विश्वास दिलाउनु थियो, ‘तिमीहरूको बाबुलाई ठीक भयो, तिमीहरू अनाथ भएका छैनौ भनेर ।’
मेरा लागि भगवान्सँग प्रार्थना गर्ने सम्पूर्ण नेपालगन्जवासी र नेपाली खेलप्रेमीलाई खुसीको खबर सशरीर दिने हतारो थियो । सायद, अनितालाई पनि ।
घाउ सञ्चो हुँदै जाँदा घरको यादले सताउन थालेको थियो । खासगरी, छोराछोरीको माया र सम्झनाले व्याकुल बनायो । घरबाट निस्कँदा तिनका आँखामा भरिएका टिलपिल आँसु सम्झेर झन् औडाहा भइरहेको थियो । कतिखेर घर फर्कौंला र अँगालो मारौँझैँ भएको थियो । फागु पूर्णिमा होली नजिकिएकाले पनि मनले घर जान खोजिरहेको थियो । इन्फेक्सन र बासी दालले त्यो रहर पूरा हुन दिएको थिएन ।
अपरेसन गरेको बिरामी भएपछि चाहेर पनि गाडी हाँक्न नमिल्ने । सुस्तरी आउँदा अबेर भयो । राति जमुनाहा भन्सारमा झमेला होला भनेर मैले लखनउ छोड्दा नातेदार प्रहरी निरीक्षक गणेश शाहलाई फोन गरिसकेको थिएँ । नानपारा आएपछि फेरि सम्झाएँ । रातिको साढे १० बजिसकेको थियो । सीमामा आइपुग्दा भने न उनी देखिए, न फोन लाग्यो । अब परेन फसाद । हामीले प्रहरीलाई अनुरोध गर्यौँ ।
‘पैदल जाने भए जानुस् । गाडी त यतिबेला लैजान मिल्दैन,’ प्रहरीले भने ।
आफ्नो पैदल जाने स्थिति थिएन । प्रहरी त्यसो भन्छ । एकैछिनमा थाहा भयो, गणेश पुगिसकेका रहेछन् । सम्पर्क मात्र हुन नसकेको रहेछ । एकछिनमा भेट भयो । उनले आग्रह गरेपछि गाडीको प्रवेशाज्ञा पनि प्राप्त भयो ।
राति घर पुग्दा खुसीको कुनै सीमा रहेन । सबै पर्खेर बसेका थिए । अरु दिन चाँडै सुत्ने छोराछोरी त्यो दिन मलाई भेट्न आतुर थिए । देख्नेबित्तिकै छोरीले भक्कानिदै अँगालो हाली । ऊ खुसीले रोइरहेकी थिई । अरुका आँखामा पनि आँसु छचल्किइरहेका थिए ।
त्यो म बाँचेर आउँदाको खुसीको आँसु थियो । वास्तवमा खुसीको आँसु छुट्टै हुँदोरहेछ । कुनै व्याख्या गर्न नसकिने खालको ।
(क्रियटिभ बुक्सले प्रकाशन गरेकाे ओलम्पियन सुरेन्द्र हमालको आत्मकथा ‘ओलम्पियन’बाट । हमाल अहिले लुम्बिनी प्रदेश सरकारका मन्त्री हुनुहुन्छ )