नेपालगन्जः बाँकेमा आजदेखि १२ वर्षदेखि १७ वर्ष उमेर समूहका बालबालिकालाई कोरोना विरुद्धको खोप लगाउन सुरु गरिएको छ । कोरोनाका नयाँ भेरियन्ट ओमिक्रोन फैलिएसँगै गएको पुष २९ गतेदेखि बाँकेका विद्यालय बन्द छन् ।
लक्षित समूहका बालबालिकालाई खोप लगाउन आज र भोली दुई दिन विद्यालय खोलिएको छ । अधिकांश विद्यालयलाई खोप केन्द्र स्थापना गरेर खोप लगाउने काम सुरु भएको स्वास्थ्य कार्यालय बाँकेका खोप फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।
खोप अभियानको बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले उद्घाटन गर्नुभयो । नेपालगन्जस्थित धम्वोजी उच्च माविमा एक कार्यक्रमकाबीच खोप अभियानको उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारीले लक्षित समूहलाई खोप लगाउन आव्हान गर्नुभयो ।
कार्यक्रममा स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धीरजंग शाह, बाँकेका एसपी श्यामकृष्ण अधिकारीलगायतको उपस्थिति रहेको थियो । उहाँका अनुसार जिल्लाका आठवटै पालिकामा भोलीसम्म कोरोनाविरुद्धको मोर्डना खोप लगाउने कार्यक्रम छ ।
करिव दुई सय ४० वटा विद्यालयलाई केन्द्र बनाएर ६९ हजार बालबालिकालाई खोप लगाइने श्रेष्ठले बताउनुभयो ।