प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा मेरुदण्डको सफल शल्यक्रिया

    • स्वास्थ्य पेज

  • १२ माघ २०७८, बुधबार

सुर्खेत: प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा हाडजोर्नीका जटिल शल्यक्रिया धमाधम भईरहेका छन् ।

अस्पतालमा मेरुदण्ड लगायतका जटिल शल्यक्रिया हुन थालेपछि बिरामीलाई प्रदेश बाहिर उपचारका लागि जानुपर्ने बाध्यता टरेको हो । पछिल्लो समय जटिल शल्यक्रिया सफलतापूर्वक सम्पन्न हुन थालेपछि अस्पतालप्रति बिरामीको भरोसा पनि बढ्दै गएको छ ।

अस्पतालमा गएको एक महिनामा मेरुदण्डमा चोटपटक भई भर्ना भएका १५ विरामीहरुमध्ये १० जनाको सफल शल्यक्रिया भएको अस्पतालका हाडजोर्नी विभाग प्रमुख तथा वरिष्ठ हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा.विकास केसीले जानकारी दिनुभयो ।

उहाँकै नेतृत्वमा अहिले प्रदेश अस्पतालमा ७ जनाको विशेषज्ञ टिम हाडजोर्नीको उपचारमा खटिने गरेको छ । डा.केसीसँगै डा. पदम गिरी, डा. किशोर विष्ट, डा. प्रकाश श्रेष्ठ, डा. तेजेन्द्र साउँद, डा.भगवत सिंह धमाला र डा. रविन केसीको टोलीले हाडजोर्नीको समस्याबाट पीडित विरामीहरुको सफल उपचार गरिरहेको छ ।

प्रदेश अस्पतालमै यति धेरै विशेषज्ञ चिकित्सक र अत्याधुनिक उपचार सम्भव भएपछि उपचारका लागि अन्यत्र जानैपर्ने बाध्यता टरेको बिरामीह्ररु बताउँछन् । कुनै बेला समान्य उपचारका लागि त्यहाँका बिरामी नेपालगन्ज लगायत अन्य सहरहरुमा उपचारका लागि जानुपर्ने बाध्यता थियो ।

अस्पतालको ओपीडीमा आउने विरामीहरुमध्य दैनिक १२० जना हाडजोर्नी सम्बन्धी समस्या भएका आउने गरेको बताईएको छ । डा.केसीका अनुसार प्रदेश अस्पतालमा मेरुदण्डमा चोटपटक भई उपचार गराउन आउने बिरामीहरुको संख्या बढ्दो छ ।

उहाँले घाँस दाउरा गर्दा, भीर पाखामा काम गर्दा सुरक्षाको ख्याल गरि दुर्घटनाबाट बच्न सबैमा आग्रह समेत गर्नुभएको छ ।

  • १२ माघ २०७८, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech