कर्णालीमा कोरोना महामारीको सन्त्रास शून्यः सबै सीमा नाका खुल्लै, परीक्षण ल्‍याबमा ताला

    • स्वास्थ्य पेज

  • ६ माघ २०७८, बिहीबार

नेपालगन्जः भारतमा कोरोना संक्रमण तीव्र रुपमा बढेपछि नेपालगञ्ज नाका हुँदै घर फर्कने कर्णालीबासीको संख्या बढ्दो छ ।

कर्णाली प्रदेशको मुख्य प्रवेशद्धार मानिने बाँकेको जमुनाहा नाकाबाट दैनिक एक हजार भन्दा बढी नागरिक नेपाल फर्किन थालेको जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्यांकले पनि देखाउँछ, कोरोना संक्रमण दर तीव्र रुपमा फैलँदैछ । यसैलाई मध्यनजर गर्दै सरकाले माग १५ गतेसम्म विद्यालय बन्द गर्ने र सार्वजनिक ठाउँमा जाँदा कोरोना खोप कार्ड अनिवार्य गर्ने निर्णयसमेत गरेको छ ।

तर कर्णाली प्रदेशमा भने कोरोना महामारीको सन्त्रास शून्य छ । सीमा नाका खुल्ला छन् । कोरोना परीक्षण ल्याबमा ताला लागेको छ । सीमा नाकाबाट संक्रमितहरु सिधै गाउँ पस्न थालेका छन् । सरकारी तयारीमा बेवास्ता गरिएको देखिन्छ ।

कोरोनाको तेस्रो लहर शुरु भैसकेको छ, कर्णालीमा पूर्वतयारी कस्तो छ ? प्रदेश स्वास्थ्य निर्देशक डा रविन खड्कालाई उध्रृत गर्दै अनलाइन खवरले लेखेको छ-‘ दोस्रो लहर कम भएपछि बन्द गरिएका संरचनाहरु बनाउँछौं । नाकामा भेटिएका संक्रमितहरु सम्बन्धित पालिकाको समन्वयमा गाउँ पठाउन थालेका छौं’ उहाँले भन्नुभयो अहिलेसम्म खासै तयारी छैन ।अब जुट्छौं ।’

सीमा नाका खुल्लै, परीक्षण ल्याबमा ताला

कर्णाली प्रदेश भित्रिने तीनवटा सीमा नाका छन् । सल्यानको कपुरकोट, बाँके र सुर्खेतको सिमाना बबई र पञ्चपुरीको जामुभएर दैनिक हजारौको संख्यामा कालपहाड (भारत) गएका कर्णालीबासीहरु घर फर्किन थालेका छन् । तर ती तीनवटै नाका खुल्ला छन् ।

नाका हुँदै आएका मानिसलाई होल्ड गरेर राख्न ‘होल्डिङ सेन्टर’ त परको कुरा सामान्य ‘हेल्थ डेस्क’को पनि व्यवस्था गरिएको छैन । दोस्रो लहर कम भएसँगै बन्द गरिएका ‘हेल्थ डेस्क’हरु सञ्चालनमा आउँन सकेका छैनन् । सीमा नाकाहरूबाट आउने व्यक्तिहरूको अभिलेख समेत प्रदेश सरकारसँग छैन।

अवको केही दिनभित्रै तीनवटै नाकाका हेल्थ डेस्क सहित स्वास्थ्यकर्मीको टिम पठाउने तयारी भै रहेको निर्देशक खड्काको भनाइ छ ‘जामुमा एउटा टिम गइसकेको छ, अन्यमा पनि अवको केही दिनमै पठाउछौं । स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउँछौं ।’

भारतमा ओमिक्रोनको फैलावट र सीमा नाकामा संक्रमणदर बढ्दै गएकाले कर्णालीमा अवको केहीहप्ता भित्रै कोरोना संक्रमितको संख्या उच्च हुने आंकलन गर्न सकिने डा नवराज केसीको भनाइ छ ।

‘संक्रमण रोक्न अहिले नै पूर्वतयारी नगर्ने हो भन्ने ठूलो क्षति व्यहोर्नुपर्ने हुन्छ । सीमा नाकामै परीक्षण गर्ने र संक्रमितलाई ‘होल्डिङ सेन्टर’मा राखेर मात्रै घर पठाउने व्यवस्था तत्काल गर्नुपर्ने देखिन्छ’ उहाँले भन्नुभएको छ ।

प्रदेशमा चारवटा पीसीआर परीक्षण परीक्षण प्रयोगशाला छन् । प्रदेश अस्पताल÷पशुन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पीसीआर प्रयोगशाला जुम्ला, दैलेख अस्पताल र चौरजहारी नगरपालिका रुकुम पश्चिम प्रयोगशाला कोरोनाको दोस्रो लहरका बेला सञ्चालनमा आएका प्रयोगशाला हुन् । तर यी प्रयोगशालामा अहिले ताला लागेको छ ।

परीक्षण नगर्दा कर्णालीमा कोरोना संक्रमणको दर कस्तो छ रु सरकारलाई थाहा छैन । तर नाकाबाट दैनिक हजारौंको संख्यामा भारतबाट कर्णालीबासी घर फर्किरहेका छन् । प्रदेश सरकारसँग अहिलेसम्म कुनै लेखाजोखा छैन ।

 

  • ६ माघ २०७८, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech