नेपालगन्जः बाँकेमा आजपनि परीक्षण भएकामध्ये आधा भन्दा धेरैलाई कोरोना पुष्टि भएको छ ।
जिल्लाका तीन वटा प्रयोगशालामा एक सय ६७ नमुना परीक्षण भएकोमा एक सय ८ जनामा भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्रले जनाएको छ ।
भेरी अस्पतालमा एक सय एक जनाको नमुना जाँच गर्दा ७०, मेडिकल कलेज कोहलपुरमा ५३ जनाको नमुना जाँच गर्दा ३२ र बागेश्वरी ल्यावमा १३ नमुना जाँच गर्दा ६ जनामा भाइरस संक्रमण पुष्टि भएको केन्द्रका फोकलपर्सन तेज वलीले जानकारी दिनुभयो ।
संक्रमण पुष्टि भएकामध्ये बाँकेका ७७ जना छन् । उनीहरु अधिकांश नेपालगन्ज र कोहलपुर, खजुरा बजार क्षेत्रका हुन् । सबैभन्दा बढी नेपालगन्जका छन् । परीक्षण भएकामध्ये नेपालगन्जका मात्रै ८० प्रतिशत बढी संक्रमित छन् । पछिल्लो दिनमा नेपालगन्ज हटस्पट बनेको छ ।
योसँगै जिल्लामा कुल संक्रमितको संख्या १८ हजार ८ सय २२ पुगेको छ । यस्तै आज थप ११ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १८ हजार एक सय ८२ पुगेको छ ।