नेपालगन्जः साइन बोर्डमा नाम छ– डा सत्यबहादुर शाही । भिडियो एक्सरे सेवासहित आकस्मिक कक्षमा बिरामीको उपचार हुँदै आएको छ ।
तर त्रिवेणी गाउँपालिका–६ झुल्नेटास्थित कवि हेल्थ केयर क्लिनिक एन्ड बी एन्ड बी प्याथोलोजीमा कुनै विशेषज्ञ चिकित्सक कार्यरत छैनन् । यी सबै सेवा अहेवबाट सेवानिवृत्त कविराम बस्नेतले दिइरहनुभएको छ ।
झुल्नेटाकै फेमस पोलिक्लिनिकको अवस्था पनि उस्तै छ । सञ्चार माध्यममा विशेषज्ञ चिकित्सकद्वारा २४ सै घण्टा सेवा दिने प्रचार हुँदै आएको छ । तर यहाँ एक एचए र एक जना अहेवले बिरामीको उपचार गर्दै आएका छन् ।
साइनबोर्डमा चिकित्सकको नाम राखेर अरू पारामेडिक्सले उपचार गर्ने यी दुई स्वास्थ्य संस्था मात्रै होइनन्, जिल्लाका अन्य बजार क्षेत्रमा पनि निजी क्षेत्रको स्वास्थ्य सेवा यसरी नै चलेको छ ।
बाँफिकोट गाउँपालिका–४ को कुसारी पोलिक्लिनिकले केही महिनाअघि एमबीबीएस चिकित्सकमार्फत सेवा दिन थाल्यो । केही समयपछि नै चिकित्सक फर्किए । तर यहाँ पनि चिकित्सकीय सेवा दिइरहेको प्रचार भइरहेको छ ।
जहाँ एक जना एचए र दुई जना पारामेडिक्सबाट उपचार भइरहेको छ । ‘सरकारी स्वास्थ्यचौकी टाढा हुँदा मेडिकलबाट उपचार लिइरहेका छौं,’ त्रिवेणी–३ की मंगला खड्काले भन्नुभयो–‘यहाँ त डाक्टरको नाम भजाएर अरूले उपचार गर्ने प्रवृत्ति बढ्न थाल्यो ।’
नभएका चिकित्सकका नामको बोर्ड राखेर व्यवसाय चलाउँदै जनस्वास्थ्यमाथि खेलबाड भएको स्थानीय कमल शर्माले बताउनुभयो। स्थानीय सरकार र प्रशासनले चासो नदिँदा मेडिकलहरूको मनपरी चलिरहेको उहाँको भनाइ छ ।
सबै बिरामीलाई सरकारी स्वास्थ्य संस्थामा उपचार गर्न आकर्षण गर्ने गरी विभिन्न सेवा थपिए पनि स्थानीय मेडिकलको भर परिरहेको त्रिवेणी गाउँपालिका स्वास्थ्य सहसंयोजक वीरबहादुर डाँगीले बताउनुभयो । ‘गाउँपालिकाले आफैं पनि अस्पताल चलाएको छ,’ उहाँले भन्नुभयो–‘सबै वडामा स्वास्थ्यचौकी सञ्चालनमा छन् ।’
निजी स्वास्थ्य संस्थाले मनपरी ढंगबाट औषधि दिने र अन्तिम अवस्थामा मात्रै सरकारी अस्पतालमा आउने बिरामीको संख्या बढ्दै गएको जिल्ला अस्पतालका डा भीमकान्त जैसीले बताउनुभयो ।
‘निजी मेडिकलबाट खाएर आउने औषधिको असरले सरकारी अस्पतालबाट गर्ने उपचार निकम्मा हुने अवस्था छ,’ उहाँले भन्नुभयो–‘निजी मेडिकलमा डाक्टरबिना नै चिकित्सकीय सेवा प्रवाहको प्रचार हुनु बिरामीको स्वास्थ्यमाथिकोखेलवाड हो ।’
केही समयअघि जिल्ला अस्पताल र केही स्थानीय तहले गरेको सयुंक्त अनुगमनको क्रममा मुसीकोट–४, सानीभेरी–९ र बाँफिकोट–६ का ६ वटा अस्पताल र मेडिकल बन्द गराइएको थियो ।
तोकिएको मापदण्ड पूरा नगरेको, चिकित्सकको नाममा अरूले नै उपचार गर्ने तथा औषधि दिने गरेको पाइएपछि अस्पताल तथा मेडिकल बन्द गराइएको हो । स्वास्थ्य सेवा कार्यालयका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक विष्णुबहादुर बुढाथोकीले स्थानीय तहसँगको साझेदारीमा मेडिकलहरूमा नियमित अनुमगन भइरहेको दाबी गर्नुभयो ।
‘बिरामीको स्वास्थ्यमा असर नपरोस् भनेर हामी पनि सचेत छौं,’ उहाँले भन्नुभयो–‘‘आवश्यकताका आधारमा जिल्लाभरि अनुगमन भइरहेको छ ।’
कान्तिपुर अनलाइनबाट