चीनले प्रवेश रोक्दा करिब ५ सय विद्यार्थीको एमबीबीएस पढाइ अधुरो

    • स्वास्थ्य पेज

  • ३१ भाद्र २०७८, बिहीबार

काठमाडौंः चीनमा एमबीबीएस अध्ययन गर्दै गर्दा कोभिड–१९ को महामारी फैलिएपछि बीचैमा नेपाल फर्केका करिब ५ सय विद्यार्थीको शैक्षिक भविष्य अन्योलमा परेको छ । नेपालमा इन्टर्नसिप गर्न नपाएका उनीहरू पुनः चीन फर्कन नपाउँदा एमबीबीएसको पढाइ अधुरो रहने अवस्था सिर्जना भएको हो ।

नेपाल मेडिकल काउन्सिलले एमबीबीएसका विद्यार्थीले इन्टर्नसिप गरेपछि मात्र चिकित्सकको लाइसेन्सका लागि आवेदन दिन पाउने व्यवस्था गरेको छ । कोभिड महामारीको समयमा नेपाल आएका विद्यार्थीलाई पुनः विश्वविद्यालय फर्कने वातावरण चीन सरकारले नबनाउँदा समस्या बढ्दै गएको विद्यार्थी र सम्बद्ध निकायका अधिकारीहरू बताउँछन् ।

शिक्षा मन्त्रालय, चिकित्सा शिक्षा आयोग र काउन्सिलका पदाधिकारीले भने सन् २०१४ का विद्यार्थीले पूरा गरे पनि २०१५ र २०१६ का विद्यार्थीको कोर्स पूरा हुन बाँकी रहेको बताए ।

अहिले १ सय ३६ जना मात्रै सम्पर्कमा आए पनि दुई ब्याचका गरी ३ सय हाराहारीमा विद्यार्थी हुन सक्ने अनुमान गरिएको छ । यी विद्यार्थी चीनका विभिन्न विश्वविद्यालयमा एमबीबीएस अध्ययनरत थिए ।

यसअघि, २०१४ ब्याचका एक सय ९३ जना विद्यार्थी पनि इन्टर्नसिप पूरा नगरी नेपाल फर्केका थिए । उनीहरूको समस्या समाधान नहुँदै २०१५ र २०१६ ब्याचका करिब ३ सय विद्यार्थी नेपाल फर्केर अलपत्र छन् । २०१४ का विद्यार्थीलाई नेपाल मेडिकल काउन्सिलले नेपालमा नै इन्टर्नसिप गर्ने व्यवस्था मिलाउँदै भए प्नि त्यसयताका विद्यार्थीको पढाइ अनिश्चित छ । २०१५ र २०१६ का विद्यार्थीले पनि नेपालमा नै इन्टर्नसिप पूरा गर्न पाउनुपर्ने माग राख्दै आएका छन् ।

चिकित्सा शिक्षा आयोगले २०१४ ब्याचका १ सय ६५ जना छात्रछात्रालाई नेपालमा नै इन्टर्नसिप गराउन मेडिकल काउन्सिललाई सिफारिस गरेको छ । त्यही ब्याचका २८ जना र २०१५ र २०१६ का करिब ३ सय जना विद्यार्थीको बाँकी पढाइबारे निर्णय हुन सकेको छैन । मेडिकल काउन्सिलले यी विद्यार्थीको पढाइको मान्यता, समकक्षता र इन्टर्नसिपको विषयमा आवश्यक निर्णय गर्न चिकित्सा शिक्षा आयोगमा पत्राचार गरिसकेको जनाएको छ ।

 

  • ३१ भाद्र २०७८, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech