नेपालगन्ज: कोरोना भाइरस संक्रमणका कारण बाँकेमा थप दुईजनाको मृतयु भएको छ ।
नेपालगन्ज स्थित भेरी अस्पतालमा उपचारका क्रममा बाफिकोट गाउँपालिका-९ रुकुम पश्चिमका ५५ वर्षीय पूरुष र लमही नगरपालिका-५ दाङका ६५ वर्षीया महिलाको मृत्यु भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज ओलीले जानकारी दिनुभयो ।
रुकुम पश्चिमका ५५ वर्षीय पूरुषलाई भाद्र २४ गते कोरोना भाइरस संक्रमण पुष्टि भएपछि सोही दिन उपचारका लागि भेरी अस्पतालको कोभिड वार्डमा भर्ना गरिएको थियो । उहाँको हिजो राती ८ बजे मृत्यु भएको हो । त्यस्तै लमहीका महिलालाई भाद्र ७ गते कोभिड पुष्टि भएको थियो ।
उहाँलाई भेरी अस्पतालमा उपचारका लागि भाद्र १९ गते भर्ना गरिएको थियो । स्वास्थ्यमा सुधार नआउँदा उहाँको हिजो राती साढे ११ बजे मृत्यु भएको ओलीले जानकारी दिनुभयो ।
योसँगै कोरोना भाइरस संक्रमणका कारण हालसम्म जिल्ला बाहिरबाट उपचारका लागि बाँके आएका ४०८ जनाको मृत्यु भएको छ ।