तीजपछि कोरोना संक्रमणको तेस्रो लहर आउन सक्छ

    • स्वास्थ्य पेज

  • २२ भाद्र २०७८, मंगलवार

तस्वीरः फाइल

नेपालगन्जः कोरोना संक्रमितको संख्यामा कमी आउँदै गएको छ। तर, संक्रमण दर घट्न अझै केही समय लाग्ने देखिन्छ। स्वास्थ्य मन्त्रालयले सार्वजनिक गर्दै आएको तथ्यांक हेर्ने हो भने संक्रमण दर १५ प्रतिशत छ।

यसको अर्थ संक्रमणको जोखिम अझै उत्तिकै रहेको विज्ञहरू बताउँछन्। जोखिमकै बीच सरकारले लामो समयदेखि गरिएको निषेधाज्ञा खोलेको छ। त्यसो त दुई महिनादेखि नै खुकुलो हुँदै गएको निषेधाज्ञा भदौ १७ गतेदेखि पूर्णरूपमा खोलिएको हो।

निषेधाज्ञा खुलेसँगै मानिसको चहलपहल बढ्न थालेको छ। विभिन्न ठाउँमा भीडभाड हुन थालेको छ। जसले गर्दा फेरि पनि संक्रमण दर ओरालो लाग्नुको साटो उकालो चढ्न सक्ने भन्दै विज्ञहरू सबैलाई सजग रहन आग्रह गरिरहेका छन्।

अझ नजिकिएको तीजले संक्रमण फैलिन धेरै मद्दत पुर्‍याउने उनीहरू बताउँछन्। तीज नजिकिँदै गर्दा पछिल्लो केही दिनयता अधिकांश महिला बाक्लो जमघटमा जुटिरहेका छन्।

आफन्तसँग जमघट गरेर दर खाँदै नाचगान गरेको यत्रतत्र देखिन्छ। यस्ता क्रियाकलापले कोरोना संक्रमण चाँडो फैलिन सक्ने भएका कारण सतर्क रहन विज्ञहरूले सबैलाई आग्रह गरेका छन्।

संक्रमणको जोखिम कायमै रहेका बेला सकेसम्म भीडभाड भएका त्यस्ता ठाउँमा नजान उनीहरूले सबैलाई आग्रहसमेत गरेका छन्। तीजको दिन पूजापाठका लागि मन्दिर जाँदा विशेष सावधानी अपनाउनुपर्ने सरुवारोग विशेषज्ञ डा शेरबहादुर पुनले बताउनुभयो ।

‘सुरक्षा मापदण्डको सही तरिकाले प्रयोग नगर्दा संक्रमणको जोखिम अझै धेरै हुन्छ,’ उहाँले भन्नुभयो–‘भीडभाडमा जाँदा सजक भएर मास्कको मात्रै सही रूपमा प्रयोग गर्न सकियो भने केही हदसम्म जोगिन सकिन्छ।’

विभिन्न पर्वका नाममा गरिँदै आएका जमघटमा खोप नलगाएको समूह बढी जोखिममा पर्ने डा पुनको भनाइ छ।  ‘गत वर्ष पनि यस्तै बेला लकडाउन खोलिएको थियो। संक्रमण बढ्दै गयो। तीजमा नाच्ने, उफ्रिनेहरू मास्क लगाउँदैनन्। जसबाट संक्रमित हुने सम्भावना धेरै हुन्छ’, उहाँले भन्नुभयो– ‘खोप लगाएका व्यक्ति संक्रमित भए संक्रमणबाट हुने गम्भीर जटिलताबाट केही हदसम्म जोगिन सक्छन्। तर, खोप नलगाएका समूह भने अझ धेरै जोखिममा पर्न सक्छन्।’

कोरोना संक्रमण फैलिन सक्ने भएका कारण सरकारले चाडपर्व नजिकिँदै गर्दा निषेधाज्ञा खोल्न नहुने स्वास्थ्यविद्हरूको भनाइ छ। तीजपछि तेस्रो लहर आउन सक्ने जनस्वास्थ्यविद् डा.बाबुराम मरासिनीले बताउनुभयो ।

चाडपर्व मनाउने लहरमा संक्रमणको जोखिम उच्च रहने उहाँको तर्क छ । ‘दर खाने, रमाइलो गर्ने, नाचगान गर्ने चक्करमा एक अर्काको सम्पर्कमा आउँछन्। जसले गर्दा इन्डोर संक्रमण हुनेछ। अहिलेसम्म मानिसहरू अरूको घर जान डराइरहेका थिए।

जति संक्रमण भएको थियो त्यो आउटडोर थियो। तर, चाडपर्व भित्रिँदै गर्दा एक जनाको घरमा हुल बाँधेर जान्छन्’, उहाँले भन्नुभयो–‘ जनैपूर्णिमाजस्तो एक दिन मनाउने पर्व होइन। आधिकारिक रूपमा एक दिन तोकिए पनि यसलाई महिना दिन अगाडिबाटै मनाउन थालिन्छ। जसले गर्दा संक्रमण धेरै फैलिन मद्दत पुग्छ।’

  • २२ भाद्र २०७८, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech