काठमाडौंः चिकित्सा शिक्षा सुधारका अभियन्ता डा गोविन्द केसीले स्वास्थ्य राज्यमन्त्रीलाई पदमुक्त गर्नुपर्ने माग पुरा नभएको भन्दै सत्याग्रहको चेतावनी दिनुभएको छ ।
डा केसीले सोमबार विज्ञप्ति जारी गरी स्वास्थ्य राज्यमन्त्रीलाई पदमुक्त गर्नुपर्ने लगायतका माग पुरा नभएको भन्दै कुनै पनि बेला सत्याग्रह सुरु गर्ने चेतावनी दिनुभएको हो ।
आफुसँग सरकारले पटकपटक सम्झौता गरेपनि इमान्दारिताका साथ कार्यान्वयन नगरेकोप्रति डा केसीले आक्रोश व्यक्त गर्नुभएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘स्वास्थ्य राज्यमन्त्रीलाई पदमुक्त गर्ने लगायतका हामीसँग भएका समझदारीका बुँदाहरु तत्काल कार्यान्वयन गर्न माग गर्दछौ। यी मागहरु पुरा नगरी सरकारले अहिलेकै निष्क्रियता, लाचारी र अनियमितता कायम राखेमा कुनै पनि बेला सत्याग्रह सुरु गछौँ।’
धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हकमा आफुसँग प्रधानमन्त्री शेरबहादुर देउवाले समझदारी गरेको तीन साता बितिसक्दा पनि कार्यान्वयन नभएको उनले बताए। सरकार मेडिकल शिक्षा क्षेत्रका समस्या समाधान गर्नेभन्दा पनि बल्झाउने दिशामा लागेको डा केसीको भनाइ छ।