नेपालगन्जः राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका मेडिकल सुपरिटेन्डेन्ट डा विनोद सिंहलाई कालोमोसो दल्नेलाई पक्राउ गरी कारवाही गर्न माग गर्दै दाङका स्वास्थ्यकर्मी आन्दोलनमा उत्रिएका छन् ।
नेपाल चिकित्सक संघ, राप्ती प्रादेशिक अस्पताल तुलसीपुर, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीलगायतको संयुक्त आयोजनामा आजदेखि अस्पतालका इमरजेन्सीबाहेक अन्य सबै सेवा ठप्प पारेर आन्दोलनमा उत्रिएका हुन् ।
प्रादेशिक अस्पताल, स्वास्थ्य विज्ञानलगायतका सबै अस्पतालले इमरजेन्सी बाहेक अरु सबै सेवा ठप्प पारेका छन् । उनीहरुले तुलसीपुरमा आज विरोध र्याली प्रदर्शन समेत गरेका छन् ।
मेसु डा सिंहमाथि सुनियोजित तरिकाले कार्यकक्षमै भएको घटना निन्दनीय भएको भन्दै दोषीलाई पक्राउ गरि कारवाही नगरेसम्म आन्दोलन नरोकिने चिकित्सक संघ दाङका अध्यक्ष डा कुवेर रेग्मीले स्वास्थ्य पेजलाई जानकारी दिनुभयो ।
दोषीलाई पक्राउ गरि कारवाही गर्न २४ घण्टाको समय दिएका उनीहरुले त्यो समयअवधिमा प्रहरी प्रशासनले पहिचान भइसकेका व्यक्तिलाई समेत पक्राउ गर्न नसकेको भन्दै स्वास्थ्यकर्मीहरु रुष्ट भएका छन् ।
नियोजित रुपमा नै डा सिंहमाथि आक्रमण गरिएकोले दोषीलाई हदैसम्म कारवाही हुनु पर्ने स्वास्थ्यकर्मीहरुको माग छ । अध्यक्ष डा रेग्मीले स्वास्थ्य संस्था जस्तो संवेदनशील क्षेत्रमा चिकित्सक र स्वास्थ्यकर्मीमाथि आक्रमण हुनु निन्दनीय विषय रहेको बताउनुभयो । उहाँले भन्नुभयो-‘स्वास्थ्य संस्था संवेदनशील क्षेत्र हो । हुलहुज्जत गर्नु हुँदैन ।’
भदौ ११ गते शुक्रबार नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुका दाङ जिल्ला अध्यक्ष सर्जन परियार नेतृत्वको टोलीले डा सिंहमाथि कालोमोसो दलेको थियो । स्तरीय सेवा नदिएको आरोपमा उनीहरुले डा सिंहमाथि कार्यकक्षमै अभद्र व्यवहार गरेका थिए ।
गत जेठ २३ मा राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ लाई संशोधन गरी अध्यादेश जारी गर्नुभएको छ । अध्यादेशमा ‘आगजनी, तोडफोड, कुटपिट वा तालाबन्दी गर्न वा उपचारमा बाधा पार्न नहुनेः कसैले पनि स्वास्थ्य उपचारको विषयलाई लिई देहायका कार्य गर्न वा गराउन हुँदैन’ भनिएको छ ।
स्वास्थ्य संस्थामा आगजनी गरेमा दुई वर्षदेखि पाँच वर्षसम्म कैद वा दुई लाख रुपैयाँदेखि पाँच लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था अध्यादेशमा छ ।
यस्तै स्वास्थ्य संस्थामा तोडफोड वा अन्य कुनै कार्य गरी हानी नोक्सानी पुर्याउने स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलाई कुटपिट गर्न वा शारीरिक रुपमा चोट पुर्याउने कार्य गरेमा तीन वर्षसम्म कैद वा तीन लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने भनिएको छ ।
स्वास्थ्य संस्थामा तालाबन्दी गर्न वा घेराउ गर्न नहुने, स्वास्थ्य संस्थामा उपचारका लागि आएका वा उपचाररत बिरामीको उपचार गर्ने कार्यमा कुनै किसिमले बाधा पुर्याउन नहुने र स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलाई हातपात गर्न, कुनै किसिमले धम्की दिन, गाली गलौज गर्न वा अभद्र वा अपमानजनक व्यवहार गर्न नहुने पनि अध्यादेशमा छ । यदी यस्तो कार्य गरेमा एक वर्षसम्म कैद वा एक लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ ।
चिकित्सकहरु भन्छन्अ-‘ध्यादेशलाई ऐन मार्फत पारित गर्नुपर्छ । साथै चिकित्सकमाथि कुटपिट गर्ने व्यक्तिलाई हदैसम्मको कारवाही गर्दा यस्ता घटना गराउनेहरु निरुत्साही हुनेछन् ।’