काठमाडौंः काठमाडौं उपत्यकामा राति ८ बजेपछि सवारी साधन सञ्चालनमा लगाइएको रोक हटाइएको छ । उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको मंगलबार बसेको बैठकले निजी तथा सार्वजनिक सवारी साधन सञ्चालनमा यसअघि व्यवस्था गरिएको ८.०० बजेसम्मको समयावधि हटाइएको हो ।
काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले सवारीसाधन सञ्चालनका लागि यसअघि गरिएको व्यवस्था हटाइएको जानकारी दिनुभयो ।उहाँले साविक बमोजिमको भदौ १६ गतेसम्म कोभिड–१९ महामारी नियन्त्रणका लागि जारी गरिएको निषेधाज्ञा भने कायमै रहेको बताउनुभयो ।
त्यस्तै जनस्वास्थ्यको मापदण्ड पुरा गरेर मात्र गतिविधि गर्न आग्रह गरिएको पराजुलीले जानकारी दिनुभयो । नयाँ आदेशमा यसअघि निषेध गरिएका सभा, सम्मेलन, पार्टी प्यालेस, डान्सबार रेस्टुरेन्ट लगायत भीडभाड हुने गतिविधिलाई आगामी भदौ १६ सम्म यथावत राखिएको छ ।