भेरी अस्पतालमा कोभिड संक्रमित थप दुईजनाको मृत्यु

    • स्वास्थ्य पेज

  • ६ भाद्र २०७८, आईतवार

तस्विरः फाइल

नेपालगन्ज: कोरोना भाइरस संक्रमणका कारण बाँकेमा थप दुईजनाको मृत्यु भएको छ ।

कोभिड संक्रमित बिरामीको उपचार भईरहेको नेपालगन्ज स्थित भेरी अस्पतालमा उपचारका क्रममा सिम्ता गाउँपालिका-३ सुर्खेतका ७१ वर्षीय पुरुष र तुलसीपुर उपमहानगरपालिका-६ दाङका ५५ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज ओलीले जानकारी दिनुभयो ।

सुर्खेतका पुरुषलाई भाद्र १ गते कोरोना संक्रमण पुष्टि भएपछि थप उपचारका लागि सोही दिन भेरी अस्पतालमा भर्ना गरिएको थियो । स्वास्थ्यमा सुधार नआउँदा उहाँको गएराती १२:२० बजे मृत्यु भएको हो । त्यस्तै तुलसीपुरका पुरुष श्रावण २७ गते कोरोना संक्रमण देखिएपछि भोलीपल्ट श्रावण २८ गते भेरीको कोरोना वार्डमा भर्ना हुनुभएको थियो ।

उहाँको आज बिहान ५ बजे मृत्यु भएको ओलीले जानकारी दिनुभयो । योसँगै हालसम्म कोरोना संक्रमणका कारण बाँकेकै ३२६ जना र अन्यत्र जिल्लाबाट उपचारका लागि बाँके आएका ३९३ जनाको मृत्यु भईसकेको छ ।

केहिदिन यता बाँकेमा दैनिक जसो कोरोना संक्रमित बिरामीको मृत्यु भईरहेको छ । संक्रमणको जोखिम टरिनसकेकाले स्वास्थ्य मापदण्डको कडाईका साथ पालना गर्न चिकित्सकहरुले सुझाएका छन् ।

  • ६ भाद्र २०७८, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech