सिड्नी: पछिल्लो २४ घण्टामा अस्ट्रेलियाको न्यूसाउथवेल्स राज्यमा ८ सय २५ नयाँ कोरोना सङ्क्रमण थपिएका छन् । यो सङ्ख्या कोरोना महामारीको शुरुवातदेखि २४ घण्टामा रेकर्ड गरिएको सबैभन्दा उच्च सङ्ख्या हो ।
त्यसैगरी राज्यमा कोरोना सङ्क्रमणबाट तीनजनाको मृत्यु भएको छ । योसँगै हालसम्म न्यूसाउथवेल्स राज्यमा डेल्टा भेरिएन्टको सुरुवात भएदेखि मृत्यु हुनेको सङ्ख्या ६८ पुगेको छ ।
राज्यकी प्रिमियर ग्लेडिज बेरिजिक्लिनले कोरोना सङ्क्रमितको सङ्ख्या उकालो लागे पनि खोप लगाउने दर अत्यन्तै महत्वपूर्ण रहेको बताउनुभयो ।
‘एकपटक खोपको दुवै डोज लगाउने दर ७० प्रतिशतमा पुग्यो भने त्यतिवेला कति सङ्क्रमित भए भन्दा पनि खोपको दर महत्वपूर्ण हुनेछ ।
हाम्रा लागि सबैभन्दा महत्वपूर्ण नाप भनेको मानिसहरूलाई अस्पतालबाट बाहिर राख्नु हो ।’ प्रिमियर बेरिजिक्लिनले नियमित प्रेस ब्रिफिङका क्रममा भन्नुभएको छ ।
समुदायको खोपको महत्वलाई प्राथमिकता दिँदै प्रिमियर बेरिजिक्लिनले अहिलेको दरमै राज्यमा खोप अभियान सम्पन्न भएमा पूर्वानुमान गरिएको समयअगावै खोप लगाउन सफल हुने कुरा पनि उहाँको भनाइ छ ।