स्वास्थ्य मापदण्डमा चरम हेलचेक्र्याई, फेरि महासंकटको संकेत

    • स्वास्थ्य पेज

  • ५ भाद्र २०७८, शनिबार

नेपालगन्जः कोभिडको संक्रमण घटेको छैन । भेरी अस्पतालको कोभिड वार्ड भरिभराउ छ । चिकित्सकहरूले नेपालगन्जलाई खतराको सूचीमा राखेका छन् ।

तर, नेपालगन्जमा मान्छेहरूको भीड हेर्दा कुम्भमेलाजस्तै लाग्छ । मोहर्रममा ताजिया विसर्जनमा देखिएको मानिसहरुको भीडले त झन महासंकटको संकेत गरेको चिकित्सकहरु बताउँछन् । मास्क कुन चरीको नाम हो, भन्ने अवस्था देखियो ।

मोहर्रममा मात्रै होइन् जनैपूर्णिमाको अवसरमा किनमेलको घुइचोले पनि महासंकटको संकेत गरिरहेको देखिन्छ । जनैपूर्णिमामा भीडभाड नगर्न प्रशासनले भनेको पनि छ । तर कस्ले टेर्ने ? सुरक्षा मापदण्ड प्रभावकारी बन्न सकेको छैन । यही लापरबाही भोलिका लागि विभत्स बन्ने खतरा छ ।

मास्क नलगाउनेहरूलाई सम्झाउने जिम्मेवारी पाएका प्रहरीसमेत दिक्क भइसकेका छन् । सरकारले कोभिड संक्रमण नियन्त्रण गर्ने भन्दै महिनौं देखि निषेधाज्ञा जारी गर्दै आए पनि हेलचेक्र्याईंले अवस्था कुन बाटोतिर जाँदैछ भन्ने अनुमान लाउन सकिन्छ ।

चरम लापरबाहीका दृश्य टुलुटुलु हेरेर बसिरहेका सुरक्षाकर्मी आफूहरुले जति भने पनि नटेरको गुनासो गर्छन् । ‘जति भन्दा पनि लाग्दैन,’ आफ्नो बाध्यता सुनाउँदै प्रहरी भन्छन्, ‘अहिले लगाउँछन्, अलि पर पुगेपछि फेरि खोलिहाल्छन् ।’

मास्क नलगाउनेलाई ठाउँका ठाउँ कारबाही गर्ने अधिकार स्थानीय प्रशासनलाई भएपनि प्रहरीमा त्यो तदारुकता भने देखिँदैन । बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले स्वास्थ्य मापदण्ड पालना गराउन सक्रियतापूर्वक लागेको दावी गर्नुहुन्छ ।

लाखौं जनता बसोबास गर्ने नेपालगन्जमा केही थान प्रहरी पछि लागेर स्वास्थ्य मापदण्ड पूरा नहुने निश्चित छ । त्यसैले आफ्नो स्वास्थ्य आफैंले बचाउनु एकमात्र बुद्धिमानी हो ।

 

  • ५ भाद्र २०७८, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech