काठमाडौंः औषधि उद्योगका क्षेत्रमा ५० वर्षीय शैलेश वैद्य उदीयमान व्यवसायी हुनुहुन्छ । उहाँको कर्मप्रति वरिष्ठ औषधि व्यवसायी नतमस्तक देखिन्छन्। उहाँलाई प्रेरणाका पात्रका रूपमा लिन्छन्।
वैद्य काठमाडौंको जमलस्थित कमलाक्षीमा जन्मनुभयो । उहाँको युवावस्था निकै संघर्षशील रह्यो। उहाँले युवा उमेरमा अनेक सास्ती भोग्नुभयो। जति दुःख भोगे पनि उहाँले सपना देख्न भने छोड्नु भएन्। उहाँको एउटा सपना छ। त्यो हो, ‘क्यान्सर रोगविरुद्ध स्वदेशमै औषधि उत्पादन।’ जुन सपनाले अब मूर्त रूप लिने भएको छ।
टिजिङ फर्मा प्राइभेट लिमिटेडका कार्यकारी निर्देशक वैद्य २ महिनाभित्र स्वदेशमै क्यान्सरविरुद्धको औषधि उत्पादन गर्ने तयारीमा जुट्नुभएको छ । ‘कम्तीमा चारवटा क्यान्सरविरुद्ध औषधिको बाहिरी आवरणमा ‘मेड इन नेपाल’ लेखिने छ, उहाँले भन्नुभयो, ‘विदेशमा उत्पादित क्यान्सरविरुद्धका महंगा औषधि सेवन गरिरहेका बिरामीलाई अब स्वदेशमै ‘गुणस्तरीय र शुलभ मूल्यमा औषधि उपलब्ध हुनेछ।’
क्यान्सरविरुद्धको औषधि उत्पादन गर्ने उहाँको उद्योग नेपालकै पहिलो हो। ४० वर्षअघि भारतबाट ‘एन्टि क्यान्सर’ औषधि पहिलो पटक वैधानिक रूपमा दर्ता गरी उहाँकै बुवाले आयात गर्नुभएको थियो । बुवाको पथ पच्छ्याइरहेका कान्छो छोरा शैलेश नेपालमा क्यान्सर उत्पादन गर्ने पहिलो उद्योग खोल्नुभएको छ ।
अभावको घाउमा मल्हम
शरीरको रौं र नङबाहेक अन्य जुनसुकै अंगमा पनि क्यान्सर हुन सक्छ। नेपालमा पुरुषलाई फोक्सो र महिलालाई स्तन क्यान्सरले बढी सताएको छ। यसको औषधि स्वदेशमा उत्पादन नहुने भएकाले भारत र तेस्रो मुलुकबाट आएको औषधि निकै महंगो पर्छ।
बाँच्ने आसमा औषधि खरिदका लागि हजारौंले घरबार बेचेका छन्। त्यहीं औषधि बेलाबखत अभाव हुन्छ। खोजेको बेला पाइँदैन। यो अवस्थाको उहाँ भुक्तभोगी हुनुहुन्छ। आफन्तहरू माझ पनि कोही स्तन क्यान्सर, पित्तथैली एवं कलेजोको क्यान्सर छ। साथीभाइको घरमा पुग्दा अभिभावक क्यान्सरबाट थलिएको देख्दा उहाँ कैयौ पटक भक्कानिनु भएको छ । ‘क्यान्सरविरुद्धको औषधि खरिद गर्न सडकमा धेरै पटक हिँडेको छु। पैसा दिँदा पनि औषधि पाउन सकिन। दुःखी हुँदै फर्केको छु ।’ उहाँले स्मरण गर्नुभयो।
उहाँले क्यान्सरविरुद्धको औषधिको जग हाल्दै गर्दा कतिपय आफन्तहरू क्यान्सरसँग जुध्दै थिए। अभिभावकलाई क्यान्सरले बनाएको घाउ उहाँको आँखामा नाचिरहन्छ। उहाँले भावुक हुँदै भन्नुभयो, ‘एकातिर औषधिको उद्योगको जग पनि हाल्दै थिएँ। लकडाउनको अवधिमा आफन्तका लागि क्यान्सरको औषधि खोज्दै हिँड्नु परेको अवस्था थियो।’
भारत, बंगलादेश तथा तेस्रो मुलुकबाट क्यान्सरविरुद्धको औषधि आयात गरिन्छ। यी आयातित औषधिभन्दा सुलभ मूल्यमा निरन्तर पाइनेछ । ‘व्यापार भन्दा पनि नेपाली जनताको सेवा र राहतका लागि आँट गरेको हुँ। स्वदेशमै उत्पादित औषधि गुणस्तरीयताको साथै केही हदसम्म सस्तो गर्ने प्रयास गर्नेछौं,’ उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो। त्यस्तै, वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा। सुदीप श्रेष्ठले स्वदेशमै क्यान्सरको औषधि उत्पादन हुँदा सस्तो हुने र बिरामीको पहुँच पुग्ने उहाँको भनाइ छ ।
स्वदेशमै सान
‘क्यान्सरलगायत नसर्ने रोगको निदान र उपचारका लागि दक्ष चिकित्सक र आधुनिक उपकरणसहित विशिष्टीकृत अस्पतालको स्थापना,’ भनि सरकारले आर्थिक वर्ष २०७७ ७८को वार्षिक बजेटमा उल्लेख गरेको छ। सरकारको नीतिलाई टेवा दिने उद्देश्यले उहाँको योजना औषधि उत्पादनमा केन्द्रित छ।
औषधिको उत्पादन क्षमता वृद्धि र उत्पादित औषधि बजार विस्तार गर्ने र स्वदेशसँगै विदेशमा पनि ‘मेड इन नेपाल’ लेखिएको औषधिको पहुँच बढाउने उहाँको योजना छ। उहाँले काभ्रे, बनेपा-१, नालामा १६ रोपनी क्षेत्रफलमा उद्योग स्थापना गरिसक्नुभएको छ । त्यसका लागि झण्डै ३५ करोड लगानी भइसकेको छ।
उक्त उद्योग अत्याधुनिक प्रविधियुक्त बनाइएको छ। विश्व स्वास्थ्य संगठन ९डब्लूएचओ० को जीएमपी स्टान्डर्ड र औषधि उत्पादन संहिता २०७३ अनुरूप बनाइएको यो नेपालकै नमूना उद्योग हो । उहाँले भन्नुभयो, ‘क्यान्सर रोगको औषधिले गर्दा हुने टक्सीसिटीका कारण यो उद्योग रहेको ठाँउमा अन्य औषधि उत्पादन गर्न मिल्दैन।
त्यसैले नवीनतम र अत्याधुनिक प्रविधि जडान भएका छन्।’ लकडाउनकै अवधिमा भारतको हैदरावादमा रहेको एन्टि क्यान्सर औषधिको उत्पादन र बिक्री गर्दै आएको कम्पनीसँग प्रविधि हस्तारन्तरण सम्झौता गर्नुभयो।
औषधि व्यवस्था विभागबाट १५ वटा मोलिक्युलका लागि अनुज्ञापत्र लिनभयो। जसमध्ये ५ वटा स्थानीय र १० वटा निर्यातका लागि हो। थप मोलिक्युलको अनुमति लिने योजनामा उहाँ देखिनु हुन्छ। ‘सरकार उद्योगमैत्री हुनुपर्छ। उद्यमीहरूलाई सहजीकरण गर्नुपर्छ। औषधि उद्योग सेवा मुलुक भएकोले अझ बढी प्रोत्साहन गर्नुपर्छ। सरकारको नीतिमा अहिलेको महाव्याधिमा औषधि उत्पादनलाई प्राथमिकतामा पार्नुपर्छ,’ उहाँले भन्नुभयो।
स्वदेशमै केही गर्ने ‘आँट’ कसरी आयो ? उहाँको विगत हेरौं। उहाँले स्वदेशी एवं विदेशी लगानीका उद्योगमा दशकौं काम गर्नुभयो। ७ वर्ष बैंकिङ क्षेत्रमा रुमल्लिनभयो। अन्तर्राष्ट्रिय कम्पनी एवं अस्पतालमा कन्सल्ट्यान्टका रूपमा काम गरी बहुआयामिक अनुभव हासिल गर्नुभयो।