काठमाडौंः सर्वोच्च अदालतले तोकिएको सिट संख्या भन्दा धेरै स्वेदशी र विदेशी भर्ना गर्न नपाउने फैसला गरेको छ। न्यायाधीश अनिलकुमार सिन्हा र तेजबहादुर केसीको इजलासले मेडिकल कलेजका विद्यार्थीहरुको समस्या धेरै भएको भन्दै दायर भएको मुद्दाको फैसलाको पूर्णपाठमा यस्तो निर्देशनात्मक आदेश गरेको हो।
नोबल र विराट मेडिकल कलेजमा अध्ययनका लागि भर्ना भएका विद्यार्थीले दायर गरेको रिटमा फैसलाको पूर्णपाठ सार्वजनिक गर्दै सर्वोच्चले नोबलका नाममा चार बुँदे र विराटका नाममा तीन बुँदे निर्देशनात्मक आदेश जारी गरेको छ।
नोबेल मेडिकल कलेजको मुद्दामा सर्वोच्चले मेडिकल कलेजहरुले प्रचलित कानुन बमोजिम कडाईका साथ अनुगमन गर्न भनेको छ। यस्तै, विराट मेडकल कलेजको मुद्दामा पनि अदालतले यही फैसला गरेको छ।
नेपाल सरकारको सरोकारवाला निकाय, नेपाल मेडिकल काउन्सिल र सम्बन्धित विश्वविद्यालयले तोकेको मापदण्ड एवम् भर्ना सिट संख्याको पालना भए नभएको सम्बन्धमा नियामक निकायको निर्णय, पत्र, निर्देशन तथा मापदण्ड र अदालतबाट कुनै आदेश भएको भए सो आदेश कार्यान्वयन भए नभएको नियमित रुपमा निरीक्षण एवं अनुगमन गरी आवश्यक कारबाही गर्नू, गराउनू भनि सर्वोच्चले फैसला सुनाएको छ।
सर्वोच्चले अनुगमनमा गएका व्यक्तिको कार्य सम्पादनमा व्यक्तिगत स्वार्थ वा कुनै पनि प्रकारको अन्य कैफियत देखिएमा निजलाई भविष्यमा यस प्रकृतिको निरीक्षण कार्यमा संलग्न नगर्नू, नगराउनू भनी सरकारको नाममा आदेश गरेको छ।