बर्दियामा निषेधाज्ञा भदौ १० गतेसम्म थप, सक्रिय संक्रमित दुई सयको हाराहारीमा

    • स्वास्थ्य पेज

  • २५ श्रावण २०७८, सोमबार

नेपालगन्जः कोरोना भाइरस संक्रमणको जोखिम कायमै रहेको भन्दै बर्दियामा निषेधाज्ञालाई थप लम्ब्याइएको छ । जिल्ला प्रशासन कार्यालयले आज एक सूचना जारी गरेर भदौ १० गतेसम्म निषेधाज्ञा लम्ब्याइएको जानकारी दिइएको हो ।

भाइरस संक्रमणको जोखिम कायमै रहेकाले निषेधाज्ञा थप गरिएको बर्दियाका प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले जानकारी दिनुभयो । उहाँले संक्रमण दर बढ्दै गएकाले स्वास्थ्य मापदण्डलाई पूर्णरुपमा पालना गर्न जिल्लाबासीलाई आव्हान समेत गर्नुभएको छ ।

बर्दियामा आजसम्म संक्रमितको संख्या ८ हजार २६ पुगेको छ । आजमात्रै जिल्लामा १२ जना नयाँ संक्रमित थपिएका छन् । ७ हजार ६ सय २३ जना डिस्चार्ज भएका छन् ।

भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या २ सय १२ पुगेको स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीले जानकारी दिनुभयो । उहाँका अनुसार, जिल्लामा १ सय ९१ सक्रिय संक्रमित छन् ।

दोस्रो लहरमा अहिले सबैभन्दा बढी ठाकुरद्धारा नगरपालिका प्रभावित छ । त्यहाँ ८२ सक्रिय संक्रमित छन् । दोस्रो लहरमा मात्रै ७ हजार २ सय ९४ जनाको एन्टिजेन परीक्षण र ३ हजार ८ सय १५ जनाको पीसीआर परीक्षण गरिएको पनि प्रमुख गिरीले बताउनुभयो ।

  • २५ श्रावण २०७८, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech