नेपालगन्जः बाँकेका अस्पतालहरुमा भाइरल ज्वरोका बिरामीको सङ्ख्या बढ्न थालेको छ । भेरी अस्पताल, नेपालगन्ज शिक्षण अस्पताल नेपालगन्ज र कोहलपुर मेडिकल कलेजलगायतका अस्पतालमा भाइरल ज्वरोका बिरामीको संख्या दैनिक बढ्दै गएको हो ।
करिव दुई सातादेखि अस्पताल तथा क्लिनिकहरुमा भाइरल ज्वरोका बिरामीहरु आउनेक्रम बढेको कोहलपुर मेडिकल कलेजका फिजिसियन डा.प्रवेश पन्तले बताउनुभयो । रुघाखोकी लाग्ने, ज्वरो आउने, जिउ दुख्ने, टाउको दुख्नेलगायतका लक्षण देखिएका बिरामी अस्पताल तथा क्लिनिकमा आउने गरेका हुन् ।
कोरोना भाइरस संक्रमणको जोखिम कायमै रहेका बेला त्यहीसँग मिल्दाजुल्दा लक्ष्ण सहितका बिरामी आउने गरेकाले उनीहरुलाई पीसीआर परीक्षण गर्न सुझाव दिने गरिएको अर्का फिजिसियन डा प्रकाश नागको भनाइ छ ।
रुघाखोकी, ज्वरोलगायतका बिरामीको संख्या अहिले बढेको छ उहाँले स्वास्थ्य पेजलाई भन्नुभयो–‘कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएका यस्ता बिरामीलाई सकेसम्म पीसीआर जाँच गर्न सुझाव दिने गरेका छौं तर धेरैले मान्नु हुन्न ।’
चिकित्सकहरुले पीसीआर टेस्ट इन्कार गर्नेहरुको निमोनिया भए नभएको पत्ता लगाउन एक्स रे गर्ने गरेका छन् । कोरोना भाइरस संक्रमणले तत्काल निमोनिया गराउने भएकाले चिकित्सकहरुले एक्स रे गराउने गरेका हुन् । सकेसम्म चिकित्सकहरु यस्ता बिरामीलाई पीसीआर परीक्षण गर्न नै सुझाव दिने गरेका छन् ।
कसरी छुट्याउने ?
मौसम परिवर्तन भएसँगै रुघाखोकी तथा फ्लुको लक्षण देखिन थालेको छ । रुघाखोकी लागे कोरोना नै हो भन्ने भय मनमा पाल्न हुँदैन । तर ढुक्क हुने अवस्था भने छैन । किनकी कोरोनाको जोखिम कायमै रहेकाले शंका गर्नै पर्ने अवस्था छ ।
खोकी लाग्नु, ज्वरो आउनु, घाँटी अलि कस्सिएको, भारी भएको, थकान महसुस हुने, जिव्रोको टेस्ट हराउँदै जाने लक्षण कोरोना भाइरसको शंका गर्न सकिन्छ ।
त्यसैगरी रुघाखोकी र फ्लु अलि फरक हुन सक्छन् । रुघाखोकी लागेमा त्यति कडा हुँदैन । नाकबाट पानी बग्ने, सामान्य हल्का ज्वरो आउने, हाँच्छ्यु आउने हुन्छ । अर्कोचाहिँ मौसमी फ्लु भने इन्फ्लुएन्जा भाइरसको कारणले हुन्छ ।
यसमा अचानक ज्वरो आउने, खोकी लाग्ने, घाँटी दुख्ने तथा खसखस हुने हुन्छ । अलि बढ्दै गयो भने सास फेर्न अप्ठ्यारो हुन सक्छ । कोरोना भाइरसमा पनि ज्वरो आउने र खोकी लाग्ने यी दुई कुरा मिल्न जान्छन् ।