नेपालगन्ज: कोरोना भाइरस संक्रमणका कारण बाँकेमा थप तीनजनाको मृत्यु भएको छ । नेपालगन्ज स्थित भेरी अस्पतालमा उपचारका क्रममा दुईजना पुरुष र एकजना महिलाको मृत्यु भएको हो ।
जिल्ला कोभिड व्यवस्थापन समितिका फोकलपर्सन तेज ओलीका अनुसार संक्रमणका कारण लुङग्री गाउँपालिका ६ रोल्पाका ५८ वर्षीय पुरुष, तुलसीपुर उपमहानगरपालिका १५ दाङका ४५ वर्षीय पुरुष र भेरीगंगा नगरपालिका १० सुर्खैतका ३९ वर्षीय महिलाको मृत्यु भएको हो । रोल्पाका पुरुषलाई असार २९ गते कोभिड पुष्टि भएको थियो । अस्पतालमा उपचारका लागि असार २८ गते नै भर्ना हुनुभएका उहाँको आज बिहान २ बजे मृत्यु भएको हो ।
त्यस्तै तुलसीपुर दाङका ४५ वर्षीय पुरुषलाई श्रावन २१ गते कोरोना संक्रमण पुष्टि भएपछि २२ गते उपचारका लागि भेरी अस्पतालमा भर्ना गरिएको थियो । स्वास्थ्यमा सुधार नआउँदा उहाँको आज बिहान ८:३० बजे मृत्यु भएको हो ।
श्रावन ५ गते कोरोना संक्रमण पुष्टि भएपछि सोहीदिन भेरीको कोरोना वार्डमा भर्ना हुनुभएका सुर्खेतका ३९ वर्षीया महिलाको आजै बिहान ८:४५ बजे मृत्यु भएको फोकलपर्सन ओलीले जानकारी दिनुभयो ।
योसँगै हालसम्म कोरोना संक्रमण पछि उपचारका लागि अन्यत्र जिल्लाबाट बाँकेमा आएका ३८६ जनाको मृत्यु भएको छ । संक्रमणको जोखिम टरिनसकेकाले स्वास्थ्य मापदण्डको सहि रुपमा पालना गर्न चिकित्सकहरुले आग्रह गरेका छन् ।