प्रत्येक साँझ मेरी आमाले खाने दमको औषधि सायद म बाहेक अरु कसैले झिक्न पाउदैन्थ्यो । पखला लाग्दा वा पेट काट्दा आँप र जामुनका पत्ता थिचेर खुवाउँथे । रुघा लाग्दा बोजोका जरा उमालेर बाफ लिन लगाउँथे । ज्वरो आए नजिकैको स्वस्थ्य चौकीमा पुगेर सिटामोल ल्याएर खुवाउँने गथ्र्ये ।
आमा भन्नुहुन्थ्यो–‘छोरी तेरो हातले खुवाएको त विष पनि अमृत समान लाग्छ ।’ ८–१० वर्षकै उमेरमा ममाथि आमाले जगाउनु भएको त्यो भरोसा के को खातिर थियो त्यसको मेलोमेसो अहिलेपनि म छुट्याउन सकिरहेकी छैन् । न मैले आमालाई सोधेकी छु ।
एक मनले सम्झन्छु म बालकै उमेर भएरपनि त्यो बेला आमालाई फकाई–फकाई औषधि खुवाउथे की ? मैले आमालाई मात्र होइन छरछिमेकमा अरु कोहीं बिरामी पर्दा पनि आँप र जामुनका पत्ता थिचेर धेरै पटक खुवाएकी छु । गाउँघरमा सानातिना स्वास्थ्य समस्या आए प्रायः जडिबुटीलाई प्राथमिकता दिने चलन अहिलेपनि छ । सायद अन्जान मेरो मस्तिष्कले त्यसैको सिको गरेको हुनु पर्छ । त्यसैले त छिमेकीहरु मलाई ‘नर्स नानु’ बनेर बोलाउँथे ।
बाल्यकाल बित्दै गयो तर बिरामी प्रति उत्पन्न हुने मेरो भावनामा भने कुनै कमी आएन । छिमेकीले बोलाउने ‘नर्स’ नाम बारे जान्न खुल्दुली बढ्दै गयो । बुझ्दै जाँदा नर्स भनेको त बिरामीलाई सेवा गर्ने पेशा रहिछ । सानो छदा मेरो मानसपटलमा अमिटछाँप बनेर बसेको नर्स शब्दको शाब्दिक अर्थ थाहा भएसँगै मेरो अन्तरमनले नर्स बन्ने औपचारिक घोषणा ग¥यो ।
गरीव परिवार अन्तर्गत पर्ने म, नर्सको डिग्री सम्मको यात्रा पार गर्न त्यति सजिलो भने थिएन । तर मेरो दृढ़ संकल्प र लगनशीलता अघि मेरो गरिवीले घुडा टेक्न बाध्य भयो । नर्स भए । अब पखला लाग्दा वा पेट काट्दा जामुनका बोक्रा थिचेर होइन जिवनजल घोलेर खुवाउँछु ।
अझै गाह्रो भएमा इन्जेक्सन घुमाउन नि सक्छु । पहिले जस्तै आमाको औषधि यी हातले खोल्न पाएकी छैन् होला तर हजारौंका अमुल्य जीवन यी हातले बचाउन सकेकी छु । सेतो कोट लगाउँदा आफै–आफैमा गर्व लाग्छ । जब म सेतो कोट लगाएर बिरामीको छेउमा पुग्छु सायद उनीहरुलाई लाग्दो हो प्राणरुपी मेरो साक्षात भगवान आए । आखिर नर्स जो हुँ ।
आज सम्म कयौं बिरामी मैले हेरे, मलाई सिस्टर भनि बोलाउँदा म उनीहरुको शब्द र स्वरमा नयाँ आशा देख्छु । मैले ‘अब तपाईं निको हुनुहुन्छ’ भन्दा, निस्किने उनीहरुको निश्छल मुस्कानमा म नयाँ बिश्वास देख्छु । झुठो मनलाई नबुझेर आँखा भरी छाएको उनीहरुको आँसुमा म नयाँ भरोसा देख्छु ।
नर्सको पेशा गर्दा गर्दै आज भोलि म मनको कुरा पढ्ने ज्योतिष नि भएछु झै लाग्छ । दिनभर खटिदा पनि मलाई समय गएको अत्तोपत्तो हुदैन । साँझ बिस्तारमा पल्टिदा सबै कुरा बिर्सिएर म ती आशावादी बिरामी बारे सोच्न थाल्छु र भगवानसँग पुकार गर्छु भगवान मृत्युसँग लडिरहेका ती बिरामीहरुलाई बचाइँदेउ ।
किनकी मेरो आँखा अगाडि कैयौं बिरामीले आफ्नो अन्तिम सास फेरेका छन् । त्यो रात सधैं म एक्लिएकी छु । मलाई निद्रादेवीले त्यो रात कहिल्यैं साथ दिएकी छैनिन् । मसित अथाह ज्ञान र सीप छ भन्दिनँ, तर आजसम्म मैले हासिल गरेको ज्ञान र सीपको प्रयोगले कैयौँ बिरामीहरुको घाउमा मलमपट्टी गर्न सक्छ । एउटा पीडामा छटपटाइरहेको बिरामीको पीडा कम गर्न सक्छ ।
एउटा मृत्युको मुखमा पुगेको मानिसलाई नयाँ जीवन दिन सक्छ । एउटा आमाको कोख रित्तो हुनबाट जोगिन सक्छ । एउटी महिलाको सिन्दुर पुछिनबाट रोकिन सक्छ अनि एउटा बालक टुहुरो हुनबाट जोगिन सक्छ ।
कोही सिकिस्त बिरामीलाई यहीँ हातले बचाउन सके भने त्यो दिन खुवै खुसी लाग्छ । निद्रादेवी पनि छिटो आइहाल्छिन् । त्यसैले त कहिले काँही भन्न् मन लाग्छ ‘खुसी र दुखको ताँदो मै बाँधिएको छ मेरो जीवन ।’
दिनभर परिवारबाट टाढा रहेर म यतै रमाउँछु । कहिले काँही राती पनि बिरामीको सेवा गर्न पछि हट्दैन । आखिर नर्स जो हुँ । पहिलो र दोस्रो दुवै वेवमा म संक्रमित भए । संक्रमित भएरपनि बिरामीको उपचार गर्न छाडिन् । भाइरस संक्रमित हुँदा चिकित्सकहरु सुझाउछन्– ‘पर्याप्त आराम गर्नु ।’ तर मलाई आराम गर्ने फुर्सदै मिलेन् ।
म भन्दा गम्भीर बिरामी थिए । उनीहरुकै सेवामा खटिए । एकदिन आमाको फोन आयो । ‘कस्तो छ नानी तँलाई ?’ आमाको स्वर मलिन अनि डराएको जस्तो थियो । मैले भने–‘म ठिकै छु आमा, के भयो र ?’ आमाले भासिएकै स्वरमा भन्नुभयो, ‘फलानो…पनि कोरोनाको कारणले बित्नु भएछ, तँ जागिर छोडेर घर आइज नानी ।
डर र माया मिसिएको स्वरमा आमाले मैले प्रतिक्रिया दिनै नपाउने गरी एकै सासमा भन्नुभयो । आखिर आमाको मन न हो, त्यसमाथि विगत केही दिनहरुमा घरकै छेउका फलानो मामा, फलानो काका, पल्लो घरको दाई, तल्लो गाँउको बहिनी…जो जवानै थिए र कुनै पनि दीर्घरोगहरु थिएनन्, कोरोनाको कारणले मृत्युवरण गरिरहेका थिए ।
त्यस्तो सुन्दा र देख्दा एकातिर कहाली लागिरहेको थियो होला अर्कोतिर आफ्नी छोरी दिनरात नभनी कोरोना संक्रमित भएरपनि कोरोनाका बिरामीको सेवामा खटिरहेकी छे । हजुर नआत्तिनु आमा, मलाई केही हुँदैन् । कोरोनाकालमा थुप्रै आरोह र अवरोहकाबीच पनि डटेर सामना गरियो, अझै गर्नुछ । आखिर नर्स जो हुँ । (कमला भेरी अस्पतालकी नर्स हुन्)