स्वास्थ्य राज्यमन्त्रीको निजी अस्पतालहरुमा लगानी, स्वार्थ बाझिने खतरा

    • स्वास्थ्य पेज

  • ११ श्रावण २०७८, सोमबार

काठमाडौंः शिक्षा क्षेत्रका चर्चित व्यवसायी उमेश श्रेष्ठले देउवा नेतृत्वको सरकारमा स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी पाउनुभएको छ । स्वास्थ्य क्षेत्रमै ठूलो लगानी गर्ने तयारीमा रहेका श्रेष्ठको नियुक्तीले ‘स्वार्थको टकराव’ हुनसक्ने देखिएको छ ।

प्रधानमन्त्री शेरबाहादुर देउवा तथा आरजु देउवासँग नजिकको सम्वन्ध राख्ने श्रेष्ठलाई आकस्मिक ढंगले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइएको हो । यसअघि कांग्रेस नेता गगन थापाको नाम भावि स्वास्थ्यमन्त्रीका रुपमा चर्चामा थियो । तर, देउवाले व्यवसायीलाई रोज्नुभएको छ ।

कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि जुट्नुपर्ने समयमा स्वास्थ्यमन्त्री मुलुकले चाँडो पाउनुपर्ने माग हुँदै आएको थियो । गठवन्धन मिलाउनुपर्ने बाध्यताका कारण मन्त्रिपरिषद विस्तारमा ढिलाई हुन सक्ने अवस्थामा देउवाले स्वास्थ्य मन्त्रालयलाई प्राथमिकतामा राख्नुभएको हो । स्वास्थ्य मन्त्री नियुक्त गर्न उहाँले देखाएको हतारोलाई सकारात्मकरुपमा लिइएको भए पनि नियुक्त भएका व्यक्तिलाई लिएर प्रश्नहरु उठेका छन् ।

राज्यमन्त्री श्रेष्ठ शिक्षासेवीका रुपमा चिनिए पनि अहिले उहाँको लागि धेरै क्षेत्रमा छरिएको छ । उहाँले शिक्षासहित जलविद्युत, पर्यटन, बैकिङ लगायतका क्षेत्रमा लगानी विविधिकरण गर्नुभएको छ । राज्यमन्त्री श्रेष्ठ अब स्वास्थ्य क्षेत्रमा समेत ठूलो लगानीको तयारीमा रहनुभएको छ । उहाँले सुरुवातमै ५० करोड रुपैयाँ लगानी गरी अस्पतालको चेन निर्माण गर्न लागेको बताइएको छ । अस्पतालको चेन निर्माण गर्ने भन्ने कुरा नेपालका लागि नौलो अभ्यास हो ।

स्वार्थ बाझिने खतरा

स्वास्थ्य क्षेत्रमा नै लगानी गरिरहेका व्यवसायीलाई स्वास्थ्य राज्यमन्त्रि नियुक्त गर्दा ‘कन्फ्लीक्ट अफ इन्ट्रेस्ट’ उत्पन्न हुने देखिएको छ । त्यसैले सामाजिक सञ्जालमा देउवाको छनोटलाई लिएर आलोचना स्वर सुनिएका छन् । पूर्व स्वास्थ्यमन्त्री हृदयश त्रिपाठी व्यवसायिक व्यक्तिलाई मन्त्री बनाउँदा स्वतः स्वार्थ बाझिने बताउँनुहुन्छ ।

‘उहाँ एक व्यवसायिक व्यक्तित्व हुनुहुन्छ । यस्ता व्यक्तिहरु मन्त्रिजस्तो सार्वजनिक पदमा आउँदा स्वार्थ बाझिने खतरा रहन्छ,’ उहाँले भन्नुभयो–‘विश्वको अभ्यास हेर्नुभयो भने स्वार्थ बाझिने वा व्यवसायिक व्यक्तिहरु पदमा बस्दैनन् ।’ स्वास्थ्य क्षेत्रमा नै लगानी गरिरहेका श्रेष्ठलाई स्वास्थ्य मन्त्रालय दिइनु उचित नभएको उहाँको भनाइ छ ।

पछिल्लो समय लगानीका नयाँ क्षेत्र खोजी गरिरहेका श्रेष्ठको स्वास्थ्य क्षेत्रमा खासै रुची थिएन । तर, कोभिड–१९ का कारण आफैं अस्पतालमा थलिएपछि उहाँ अस्पताल निर्माण गर्न तम्सिनुभएको छ । शिक्षा क्षेत्रमा जस्तै सरकारले स्वास्थ्य क्षेत्रमा पनि ठुलो लगानी गर्ने जानकारी पाएका श्रेष्ठले आगामी वर्षभित्रै कम्तिमा ५ वटा अस्पतालको चेन निर्माण गर्ने सोच बनाउनुभएको हो ।

उहाँले पछिल्लो समयमा ललितपुरको एकान्तकुनामा हेलोइस नामक बुटिक अस्पताल खोल्नुभएको छ भने जनमैत्री अस्पताल र महेन्द्रनारायण निधि अस्पताल ट्रष्टको अध्यक्षता गरिरहनु भएको छ ।

उहाँले काठमाडौं सहित चितवन नुवाकोट लगायतका स्थानमा समेत अस्पताल निर्माण गर्ने योजना बनाउनुभएको छ । निर्माणाधीन हेलोइस अस्पताल धनाढ्य वर्गलाई लक्षित गरी निर्माण गर्न लागिएको हो । हलोइसमा उच्च दक्ष जनशक्ति चिकित्सक तथा नर्स राख्ने र तिनै जनशक्तिले जनमैत्री तथा महेन्द्र नारायण निधि अस्पतालमा समेत सेवा दिने योजना बनाइएको छ ।

  • ११ श्रावण २०७८, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech