नेपालगन्जः नेपालगन्जस्थित भेरी अस्पतालले स्थापनाको १३१ वर्षपछि पहिलो पटक औपचारिक कार्यक्रमकाबीच आफ्नो वार्षिकउत्सव मनाउँदैछ ।
भोलि विहान १० बजे स्वास्थ्य सचिव डा रोशन पोख्रेलले वार्षिकउत्सवको उद्घाटन गर्ने कार्यक्रम रहेको अस्पताल विकास समितिका सदस्य कृष्णप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।
दिवसका अवसरमा स्थानीय सबै राजनीतिक दलका शिर्षतहका नेताहरुलाई कार्यक्रमको निम्ता बाँडिएको पनि उहाँले बताउनुभयो । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको प्रेषण अस्पतालको रुपमा रहेको भेरी अस्पतालले वार्षिकउत्सवको अवसरमा अस्पतालमा लामो समयदेखि काम गर्ने कर्मचारीलाई सम्मान गर्ने भएको छ ।
दिवसकै अवसरमा भएका आन्तरिक खेलकुद प्रतियोगिताका विजयी खेलाडीहरुलाई समेत सम्मान र मायाको चिनो प्रदान गर्ने कार्यक्रम रहेको सदस्य श्रेष्ठले बताउनुभयो ।
भेरी अस्पताल वि.सं. १९४७ मा स्थापना भएको थियो । वार्षिकउत्सवको सम्पूर्ण तयारी पूरा भएको अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालले जानकारी दिनुभयो ।