चितवनः चितवन मेडिकल कलेजमा विगत पाँच वर्षदेखि रोकिएको कार्डियो थोरासिस् भास्कुलर सर्जरी पुनः शुरु भएको छ । प्राडा भगवान कोइरालाको टिमले यसअघि कलेजमा ओपन हर्ट सर्जरी गरे पनि त्यसले निरन्तरता नपाउँदा सेवा रोकिएको थियो ।
तर, कलेजको कार्डियो थोरासिस भास्कुलर सर्जरी विभागमा प्रा.डा अर्जुन आचार्य र डा. अल्का सिंहसहितको टोली आएपछि रोकिएको सेवालाई निरन्तरता दिइएको कलेजका अध्यक्ष एवम् प्रबन्ध निर्देशक प्रा.डा हरिश्चन्द्र न्यौपानेले जानकारी दिनुभयो ।
डा. आचार्य नेतृत्वको टोलीले केहीदिन अघि एक २४ वर्षीया युवतीको ओपन हर्ट सर्जरी गरेको हो । मुटुका चार कोठामध्ये माथिको दुई कोठाको बीचमा रहेको प्वाल शल्यक्रिया नगरी टाल्न नसकिने भएकाले युवतीको शल्यक्रिया गरिएको डा.आचार्यले बताउनुभयो ।
अप्रेशनपछि ती युवतीको अवस्था सामान्य रहेको डा. आचार्यले बताउनुभयो । अस्पतालमा शल्यक्रियाका लागि आवश्यक पर्ने अत्याधुनिक उपकरण र पर्याप्त जनशक्ति भएकाले अबदेखि यो सेवा नियमित दिन सकिने डा आचार्यको दाबी छ । कलेजमा अहिले दुई जना कार्डियाक सर्जन र कार्डियाकको तालिम लिएका नर्सहरु छन् । केहीलाई तालिम दिएर दक्ष बनाउने काम जारी छ ।