नेपालगन्जः धादिङमा कोभिड–१९ विरुद्धको जोनसन एण्ड जोनसनको खोप लगाएका एक वृद्धको मृत्यु भएको छ । एक डोज मात्रै लगाए पुग्ने उक्त खोप लगाएका वृद्धको मृत्यु भएको हो ।
निलकण्ठ नगरपालिका–६ का ७४ वर्षीय वृद्धको खोप लगाएको तीन घण्टाभित्र मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय धादिङका स्वास्थ्य प्रमुख भुवन पौडेलले स्वास्थ्य पेजलाई जानकारी दिनुभयो ।
ती वृद्धले सुनौला बजार स्वास्थ्य केन्द्रमा आज विहान ११ः ३० बजे खोप लगाएका थिए । त्यसको झण्डै एकघण्टा पछि उनी बेहोस भएका थिए ।
स्वास्थ्य केन्द्रमा प्राथमिक उपचारपछि उनलाई थप उपचारका लागि जिल्ला अस्पताल धादिङ पुर्याइएको थियो । उनको उपचारका क्रममा २ः१५ बजे मृत्यु भएको पौडेलले बताउनुभयो ।
ती वृद्ध मधुमेहका बिरामी भएको खुलेको छ । वृद्धको मृत्यु के कारणले भयो भन्नेबारे अनुसन्धान सुरु भइसकेको प्रमुख पौडेलले बताउनुभयो ।
वृद्धको मृत्युबारे स्वास्थ्य मन्त्रालयलगायत अन्य सम्बन्धित ठाउँमा रिपोर्ट दिने काम भइसकेको उहाँको भनाइ छ ।
खोप समन्वय समितिको आकास्मिक बैठक बसेर खोपसँग सम्बन्धित वा स्वास्थ्यको कारणले हो भन्ने पत्ता लगाउन टिम परिचालन भइसकेको उहाँले बताउनुभयो।