नेपालगन्जः नेपाल मेडिकल काउन्सिलले मुटुरोग विशेषज्ञ डा ऋषि खत्रीलाई कारवाही गरेको छ । उपचारका क्रममा लापरबाही गरेको ठहर गर्दै काउन्सिलले मुटुरोग विशेषज्ञ डा खत्रीलाई कारबाही गरेको हो। नेपाल वायुसेवा निगमका वरिष्ठ क्याप्टेन राकेश जंगबहादुर राणाको स्वास्थ्य जाँचमा लापरबाही गरेको भन्दै काउन्सिलले नेपाली सेनाको अस्पतालमा मुटुरोग विशेषज्ञ रुपमा कार्यरत डा ऋषि खत्रीलाई कारबाही गरेको काउन्सिलका रजिष्ट्रार डा कृष्ण अधिकारीले जानकारी दिनुभयो ।
काउन्सिलमा आएको उजुरीका आधारमा छानबिन गर्दा डा खत्रीले स्वास्थ्य जाँच र उपचारका क्रममा गलत गरेको प्रमाणित भएपछि करबाही गरिएको काउन्सिलले जनाएको छ। क्याप्टेन राणाको १० मंसिर २०७७ मा हृदयघातका कारण मृत्यु भएको थियो । ९ मंसिर २०७७ का दिन राती मलेसियाको उडानका लागि तयारी गर्दै गर्दा अचानक असहज महसुस भएपछि राणालाई ह्याम्स अस्पताल भर्ना गरिएको थियो। अस्पताल भर्ना भएको भोलिपल्ट नै क्याप्टेन राणाको मृत्यु भएको थियो।
राणाको मृत्युपछि उहाँकी श्रीमती पुष्पा राणाले ४ चैत २०७७ मा स्वास्थ्य जाँचमा संलग्न डा खत्री विरुद्ध उजुरी गर्नुभएको थियो । डा खत्रीले क्याप्टेन राणाको मुटुको टिएमटी लगायतका परीक्षण रिपोर्ट सबै ठिक भएको जानकारी दिनुभएको थियो । सोही जानकारी पछि क्याप्टेन उडानका लागि जानुभएको थियो । तर काउन्सिलको छानबिनका क्रममा डा खत्रीले गलत जानकारी दिएर लापरबाही गरेको पाइएको हो।