भेन्टिलेटरले सर्पदंशका बिरामीलाई सहज

    • स्वास्थ्य पेज

  • २३ असार २०७८, बुधबार

कञ्चनपुर: महाकाली प्रादेशिक अस्पतालमा भेन्टिलेटर स्थापना भएपछि सर्पदंशका बिरामीलाई सहज भएको छ । असार १० गते महाकाली प्रादेशिक अस्पतालको आकस्मिक उपचार कक्षमा सर्पदंशका एक बिरामी भर्ना भए । कञ्चनपुरको बेदकोट नगरपालिकाका १३ वर्षीय ती बालकको श्वासप्रश्वास लगभग रोकिइसकेको थियो । उपचारमा संलग्न डाक्टरहरूका अनुसार बालकको मुटुले समेत काम गर्न छाडिसकेको थियो ।

आकस्मिक कक्षमा प्राथमिक उपचारपछि उनलाई सोझै भेन्टिलेटरमा राखियो । ७ दिन भेन्टिलेटरमा उपचारपछि सामान्य वार्डमा सारियो । त्यसको ५ दिनपछि उनलाई डिस्चार्ज गरियो । ‘भेन्टिलेटरको उपलब्धताले नै ती बालकको ज्यान जोगिएको हो’ महाकाली प्रादेशिक अस्पतालका बालरोग विशेषज्ञ डा रमेश जोशीले भन्नुभयो–‘यदि आईसीयू र भेन्टिलेटरको उपलब्ध नभएको भए उनको ज्यान जोगाउन सकिँदैनथ्यो ।’

गत वर्षसम्म महाकाली अस्पतालमा भेन्टिलेटरसहितको सुविधा उपलब्ध थिएन । जसका कारण सर्पदंशका बिरामीको उपचारमा समस्या हुने गरेको थियो । सामान्य बिरामीलाई समेत धनगढी वा भारततर्फ रेफर गर्नुपर्ने बाध्यता थियो । गत भदौदेखि भेन्टिलेटरसहितको आईसीयू सेवा सुरु भएपछि सर्पदंशका बिरामीको उपचारमा निकै राहत भएको छ । जेठ अन्तिमसम्म पनि आईसीयूमा कोभिड–१९ का बिरामी थिए ।

अहिले कोभिड–१९ का बिरामी संख्या कम भएका कारण सर्पदंशका बिरामीको उपचार सजिलो भएको हो । महाकाली अस्पतालका अनुसार यो सिजना मात्रै ४६ पुरुष र ३२ महिला गरी सर्पदंशका ७८ बिरामी अस्पताल भर्ना भएका छन् । जसमध्ये २१ महिला र १२ पुरुष गरी ३३ जनालाई आईसीयूमै भर्ना गर्नुपर्‍यो । तीमध्ये आधाजतिलाई भेन्टिलेटरमै राखेर उपचार भएको छ ।

महाकाली प्रादेशिक अस्पतालका अनुसार चालु आर्थिक वर्षमा सर्पदंशका १ सय ३५ जना भर्ना भएका छन् । जसमध्ये ६८ जनामा विषको प्रभाव देखिएको थियो । तीमध्ये ३३ जनलाई आईसीयूमा राखेर उपचार गरिएको छ भने १५ जनालाई भेन्टिलेटरमै राखिएको थियो । अस्पतालमा सर्पदंशका बिरामीमध्ये १ जनाको मृत्यु र २ जना रेफर गरिएको छ, जुन आईसीयू र भेन्टिलेटर सेवा सुरु हुनुअघिकै हो ।

आईसीयूमा कोभिड १९ का बिरामीको उपचार भइरहेको अवस्थामा आएका दोधारा चाँदनीका एक जनाको रेफर गरिएको अवस्थामा धनगढी लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो । सुरुमा सर्पले टोकेको थाहा नै नपाउने र थाहा पाए पनि झारफुकमा लाग्ने गरेका कारण बिरामीको अवस्था गम्भीर भएपछि मात्रै अस्पताल आउने गरेको डाक्टरहरू बताउँछन् ।

  • २३ असार २०७८, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech