देखिन थाले स्क्रव टाइफसका विरामी, यसरी सकिन्छ जोगिन

यो रोगको सुरुमै उपचार नगरिएमा यसले भयावह परिणाम निम्त्याउन सक्छ । निमोनिया हुने, मृगौलाले काम गर्न छोड्ने र अन्त्यमा यस रोगले दिमागमा समेत असर गरेर विरामीको मृत्यु समेत गराउन सक्छ ।


    • स्वास्थ्य पेज

  • १८ असार २०७८, शुक्रबार

नेपालगन्जः बर्षायाम सुरु भएसँगै स्क्रब टाइफसका विरामीहरु देखिन थालेका छन् । बाँके, बर्दिया, दाङ, कैलालीलगायतका जिल्लाबाट स्क्रब टाइफसका विरामीहरु उपचारका लागि नेपालगन्ज आउन थालेका हुन् । बर्खायाम सुरु भएसँगै स्क्रब टाइफसको जोखिम बढ्ने गर्छ ।

के हो स्क्रब टाइफस ?

मुसा, छुचुन्द्रो लगायतका जीवहरुबाट सर्ने यो रोग व्याक्टेरियाका कारण मानिसमा सर्ने गर्छ भेरी अस्पताल नेपालगन्जका फिजिसियन डा खगेन्द्र जंग शाह भन्नुहुन्छ–‘यो रोग मुसा, छुचुन्द्रोमा लगायतमा पाइने ‘माइट’ भनिने किर्नाले मानिसमा सार्ने काम गर्छ ।’

विशेषगरी झार, चौर, घासपात, पुरानो काठहरुमा बस्ने यस्ता किर्नाले सो व्याक्टरिया मुसाबाट मानिसमा सारेपछि मानिसहरु यसबाट संक्रमित बन्छन् । तराईसँग जोडिएका अधिकांश जिल्लामा स्क्रव टाइफसको जोखिम देखिएको छ ।

के के हुन् यसका लक्षणः

१. निरन्तर ज्वरो आउने
२. टाउको दुख्ने
३. पसिना आउने
४. थकाई लाग्ने
५. कमजोर महसुस हुने
६. खोकी लाग्ने
७· आँखा वरिपरि दुख्ने
८· घाँटी वरिपरिका ग्रन्थीहरु सुन्निएर गिर्खा पर्ने
९. शरिरमा विविरा आउनु

यी लक्षण देखा परेको पाँचौ दिनदेखि सातौ दिनमा घाटी वरिपरि रातो विविरा देखिने गर्छ, जुन क्रमश पेट, हात, खुट्टा तथा अनुहारमा फैलन्छ ।
यो रोगको सुरुमै उपचार नगरिएमा यसले भयावह परिणाम निम्त्याउन सक्छ । डा शाह भन्नुहुन्छ–‘निमोनिया हुने, मृगौलाले काम गर्न छोड्ने र अन्त्यमा यस रोगले दिमागमा समेत असर गरेर विरामीको मृत्यु समेत गराउन सक्छ ।’

उपचार विधि ?
यदी कुनै विरामीमा माथिका लक्षण देखा परेमा तुरुतै नजिकैको स्वास्थ्य संस्थामा लगेर उपचार गराइहाल्नु पर्छ । विशेषगरी रगतमा एन्टीजेनको जाँच गरेपछि यो रोग लागेको वा नलागेको पत्ता लगाउन सकिन्छ । यदी विरामीमा यस रोगको संक्रमण देखिएमा चिकित्सकको सल्लाह अनुसार पुरा डोजको एन्टीवायोटिक प्रयोग गरेमा यो रोग निको हुन्छ ।

यसबाट बच्ने उपाय ?

यो रोग खेतबारीमा काम गर्ने किसानहरु, झाडी र घाँसमा खेल्ने बच्चाहरुमा यो रोग सर्ने सम्भावना बढी रहने भएकोले समयमै सजग रहन जरुरी रहेको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जका फिजिसियन डा मधु अर्यालको सुझाव छ ।

खेतीवारीमा काम गर्दा, वनजगंल झाडीमा जादा तथा घास काट्न जादाँपुरा शरिर ढाकीने कपडा लगाउन संभव भए बुट लगाउन उहाँको सुझाव छ। यस्तै घासबारी वा चौरमा बस्दा गुद्री वा दरी ओछ्याएर बस्ने, सम्भव भएसम्म भुईमा नबस्ने, खाटमा वा अग्लो स्थानमा सुत्ने बस्ने, मुसा नियन्त्रणको लागि उपयुक्त किसिमले अन्न भण्डारण गर्ने तथा मुसाको बृद्धि विकास नहुने वातावरणको सिर्जना गर्नु पर्ने डा अर्याल बताउँनुहुन्छ ।

‘रोग लागेको शंका लागेमा तुरुन्तै अस्पताल जानु उचित हुन्छ उहाँ अगाडी थप्नु हुन्छ–‘ यो रोग फैलाउन सक्ने, किरा, मुसा, छुचुन्द्रो वरिपरि देखिएमा किटनाशक औषधि प्रयोग गर्नु उचित मानिन्छ ।’

  • १८ असार २०७८, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech