नेपालगन्जः भेरी अस्पताल नेपालगन्जलाई कोभिड महामारीको तेस्रो लहरको सम्भावित जोखिम न्युनिकरणको पूर्वतयारीका कामहरु तत्काल गर्न उच्च अदालत नेपालगन्जले अन्तिम आदेश दिएको छ।
तेस्रो चरणमा देखा पर्न सक्ने कोरोना महामारी रोकथाम, नियन्त्रण र गुणस्तरीय स्वास्थ्य सेवा माग गर्दै बाँकेका अधिकारकर्मी र कानून ब्यवसायीले गत असार ८ गते नेपालगन्ज उच्च अदालतमा परमादेशको रिट दायर गरेका थिए ।
न्यायधीशद्धय टेकप्रसाद ढुङ्गाना र गोकर्ण डाँगीको संयुक्त इजलासले तेस्रो चरणको कोरोना महामारी फेरि आउन सक्ने विज्ञहरुले खतरा औल्याउन थालेपछि महामारीको पूर्वतयारी गर्न भेरी अस्पताललाई आदेश दिएको हो ।तेस्रो लहरमा बालबालिका बढी जोखिममा पर्ने प्रक्षेपण गरिएको छ ।
जिल्लामा उपलब्ध जनस्वास्थ्यविद्, बाल रोग विशेषज्ञ सुरक्षाविद् र सीमा व्यवस्थापनको अनुभवी विशेषज्ञ समेत रहेको एक अध्ययन समिति गठन गरी त्यसबाट प्रतिवेदन लिनु र उक्त प्रतिवेदनमा सुझाइएका विषयहरुको व्यवस्थित कार्यान्वयन गर्ने तयारी गर्नु भनी जिल्ला प्रशासन कार्यालय बाँकेमा रहेको जिल्ला कोभिड व्यवस्थापन समितिलाई लेखी पठाउनु’ भन्ने आदेश अदालतबाट भएको अदालतका सुचना अधिकारी बल बहादुर बिष्टले जानकारी दिनुभयो ।
अधिवक्ताहरु सुनिल कुमार श्रेष्ठ, बसन्त गौतम, सुरेश कुमार गौतम, बिकास आचार्य, प्रभाकर भट्टराई, अमृता के.सी., बलबहादुर चन्द र लोक बहादुर शाहले पक्षका तर्फबाट वहस गर्नुभएको थियो भने विपक्षीहरुका तर्फबाट उपन्यायाधिवक्ता नबिन कुमार भट्ट र अधिवक्ता वश्वजीत तिवारीले बहश गर्नुभएको थियो ।