शिक्षण अस्पताल कोहलपुर जुट्यो तेस्रो लहरको पूर्वयारीमा

    • स्वास्थ्य पेज

  • १२ असार २०७८, शनिबार

नेपालगन्जः नेपाललगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको, कोभिड विशेष अस्पतालमा कोरोनाको दोस्रो लहरमा करिव एक हजार संक्रमितको उपचार गरिएको छ ।

बैशाख ३ गतेदेखि असार १० गतेसम्मको तथ्याङ्क हेर्दा ९ सय ७३ जना संक्रमित भर्ना भएका छन् । जवकी पहिलो लहरको संक्रमणमा १० महिनाको अवधिमा ६ सय ७४ जना संक्रमित भर्ना भएका थिए ।

दोस्रो लहरको भाइरस निकै आक्रमण र तीब्र गतिमा फैलिएका कारण मानवीय क्षती पनि बढी भएको कोभिड अस्पतालका संयोजक समेत रहनु भएका मेडिकल कलेजका उपनिर्देशक डा दिनेश श्रेष्ठले बताउनुभयो । दोस्रो लहरमा १ सय ६२ जनाको मृत्यु भएको छ । यो पहिलो लहरको मृत्यु संख्यामा १ सय १० ले बढी हो ।

पहिलो लहरमा ५२ जनाको मृत्यु भएको थियो । जेठको पहिलो सातादेखि संक्रमितको चाप घट्दै गएपछि शुक्रबारदेखि अस्पतालले कोभिड वार्ड बन्द गरेको छ ।

१ सय ३० बेडको यो अस्पतालमा विरामीको संख्या घट्दै गएको र तेस्रो लहरको पूर्वतयारी गर्नु परेको भन्दै तत्कालका लागि कोभिड वार्ड बन्द गरिएको उपनिर्देशक डा श्रेष्ठले बताउनुभयो । उपचारर्त चारजना विरामीलाई भेरी अस्पतालमा सिफ्ट गरिएसँगै अस्पतालका सबै बेड खाली भएका छन् ।

यसरी गरिदै छ तेस्रो लहरको तयारी
तेस्रो लहरको भाइरसमा बालबालिका बढी जोखिममा पर्न सक्ने बताइँदै आइएको छ । त्यहीअनुसार मेडिकल कलेजले तयारी सुरु गरेको छ । दोस्रो लहरमा अक्सिजनको समस्याले धेरै तनाव दियो । त्यस्को व्यवस्थापन गर्नुपर्ने अवस्था छ । पाइपलाइनहरु मर्मतसँगै विस्तार गर्नुपर्ने छ । सिप्याप मेसिन, अक्सिजन मास्कलगायतका उपकरण तयारी अवस्थामा राख्नेगरी व्यवस्थापन गर्नु पर्नेछ ।

अस्पतालका उपनिर्देशक डा श्रेष्ठले दोस्रो लहरको सिकाइले तेस्रो लहरको पूर्वतयारी गर्न सहज हुने बताउनुभयो । उहाँले बेडदेखि भेन्टिलेटरसम्मको तयारी गर्नुपर्ने अवस्था रहेको बताउनुभयो । भौतिक पूर्वाधारको पनि व्यवस्थापन गर्नुपर्ने अवस्था रहेको डा श्रेष्ठको भनाइ छ । कोभिड अस्पताल तत्कालका लागि बन्द गरेर भोलिदेखि नै मर्मत तथा सुधारका कामहरु सुरु हुनेछन् ।

भाइरस संक्रमणसँग जुध्न उपकरण र जनशक्तिको ठूलो भूमिका हुने चिकित्सकहरु बताउँछन् । मेडिकल कलेजले तेस्रो लहरमा यही कुरालाई ध्यान दिएर पूर्वतयारीको काम अगाडी बढाउन लागेको हो ।

  • १२ असार २०७८, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech