काठमाडौंः आज लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस नेपालमा पनि मनाइँदैछ । संयुक्त राष्ट्र सङ्घको महासभाबाट सन् १९८७ मा घोषणा भइ हरेक वर्ष जुन २६ मा विश्व समुदायलाई लागुऔषधको असर र कारोबारबाट मुक्त बनाउने उद्देश्यका साथ दिवस मनाउने गरिन्छ ।
नेपालमा यस वर्ष लागुऔषधरहित परिवार स्वस्थ जीवनको आधार भन्ने नारा तय गरिएको छ । संयुक्त राष्ट्र सङ्घको विश्व लागुऔषध प्रतिवेदन २०२१ ले वर्षेनि लागुऔषध प्रयोगकर्ता बढ्दै गएको देखाएको छ ।
त्यस्तै नेपालमा एक लाख ३० हजार ४ सय २४ जना लागुऔषध प्रयोगकर्ता रहेको पछिल्लो प्रतिवेदनमा उल्लेख छ । लागुऔषध प्रयोगकर्ता सर्वेक्षण २०७६ ले नेपालमा वार्षिक वृद्धिदर ५ दशमलव ०६ प्रतिशत रहेको आकलन गरेको छ । लागुऔषधका प्रयोगकर्ता तथा कारोबारमा युवा वर्ग संलग्न भएको तथ्याङ्कले देखाउँछ ।
दिवसका अवसरमा शुभकामना दिँदै गृहमन्त्री विष्णुप्रसाद पौडेलले दुर्व्यसनमा युवा, किशोर किशोरीको सङ्ख्या बढ्दै जानु चिन्ताको विषय रहेको बताउनुभएको छ ।
नेपालको जनसांख्यिकी लाभका रुपमा रहेको युवा समुदाय लागुऔषध नियन्त्रणको अभियानमा जुट्नुपर्नेमा उहाँको जोड छ । लागुऔषध कारोबारले अकालमै ज्यान जाने, अपराध र अराजकता बढाउने साथै एचआईभी, हेपाटाइटिस लगायतका रोगहरु पनि सर्ने गर्छ ।
बाँकेमा पनि कार्यक्रम
लागु औषध विरुद्धको ३४ औं अन्तराष्ट्रिय दिवस आज लागु औषध विरुद्ध सचेतिकरण कार्यक्रमको आयोजना गरेर मनाइँदै छ । ‘लागु औषधरहित परिवार स्वस्थ जिवनको आधार’ भन्ने नाराका साथ मनाउन लागिएको दिवसको अवसरमा जिल्ला प्रशासन कार्यालयले पुनःस्थापना केन्द्रहरुसँग अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ ।
साहारा हाउस पुनःस्थापना केन्द्रका अध्यक्ष अभिराज क्षेत्रीका अनुसार, लागु औषध दुव्र्यसनीको अवस्था, रोकथामका लागि भएका पहललगायतका बारेमा अन्तरक्रिया कार्यक्रम गर्न लागिएको हो ।
यस्तै भेरी अस्पतालमा संचालित अञ्जली माता रसोइलाई पनि दिवसकै अवसर पारेर आर्थिक सहयोग गरिने भएको छ भने कोहलपुरका अति विपन्न पाँच परिवारलाई खाद्यान्नलगायतको सहयोग पनि गरिने भएको छ ।