ज्येष्ठ नागरिकलाई तत्काल दोस्रो डोज खोप दिन सर्वोच्चको अन्तरिम आदेश

    • स्वास्थ्य पेज

  • ८ असार २०७८, मंगलवार

काडमाडौंः सर्वोच्च अदालतले कोरोनाको पहिलो खोप लगाएका ज्येष्ठ नागरिकलाई दोस्रो डोज खोप दिन अन्तरिम आदेश जारी गरेको छ ।

सर्वोच्च अदालतले कोभिशिल्डको पहिलो डोज खोप लगाएका ६५ वर्ष नाघेका ज्येष्ठ नागरिकलाई यथाशीघ्र दोस्रो डोज खोप दिन अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीश ईश्वर खतिवडाको इजलासले गत फागुनमा कोभिशिल्डको पहिलो डोज लगाएका ज्येष्ठ नागरिकलाई दोस्रो डोज खोप दिन ढिला भइरहेको भन्दै यथाशीघ्र खोप व्यवस्था गर्न अन्तरिम आदेश दिएको हो ।

विश्व स्वास्थ्य संगठनले कोभिशिल्ड खोप पहिलो डोज लगाएको ८ देखि १२ हप्तासम्म लगाउन सकिने सिफारिस गरेको छ । तर नेपालका ६५ वर्षमाथिका साढे १३ लाख ज्येष्ठ नागरिकले पहिलो डोज खोप लगाएको १२ हप्ता नाघिसकेको छ ।

ज्येष्ठ नागरिकलाई खोप माग्दै अर्जुनराज गिरीसमेतले सर्वोच्च अदालतमा रिट दिनुभएको थियो ।

उक्त रिटमा सुनुवाइ गर्दै मंगलबार सर्वोच्चले सरकारका नाममा कारण देखाउ आदेश र तत्काल खोप उपलब्ध गराउन अन्तरिम आदेश दिएको छ ।

सेरम इन्ष्टिच्युटले उत्पादन गरेको कोभिशिल्ड खोप नेपालले थप मात्रा ल्याउन नसक्दा पहिलो डोज खोप लगाएका ज्येष्ठ नागरिकले दोस्रो डोज खोप पाउन सकेका छैनन् ।

 

  • ८ असार २०७८, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech