काठमाडौंः स्नातक तहको एकीकृत प्रवेश परीक्षा असार २६ गतेदेखि हुने भएको छ। कोरोना संक्रमणका कारण रोकिएको स्नातक तहको एकीकृत परीक्षा असार २६ गते सञ्चालन गर्न चिकित्सा शिक्षा आयोगले आन्तरिक रुपमा तयारी समेत गरिसकेको आयोगका उपाध्यक्ष डा श्रीकृष्ण गिरीले बताउनुभयो ।
प्रवेश परीक्षा असार २६ गतेदेखि सञ्चालन गर्ने अनुमति माग गर्न सिसिएमसीलाई प्रस्ताव समेत पठाइसकिएको डा गिरीले जानकारी दिनुभयो। सिसिएमसीले आयोगको प्रस्ताव अनुसार परीक्षा सञ्चालनका लागि स्वीकृति दिएमा आयोगले २६ गतेबाट परीक्षा सञ्चालन गर्ने छ।
डा गिरीका अनुसार स्नातक तहको एकीकृत प्रवेश परीक्षा भने काठमाडौं उपत्यकामा मात्रै गर्ने योजना बनाइएको छ। डा गिरीले असार अन्तिम सातासम्ममा निषेधाज्ञा खुल्न सक्ने भएकाले असार २६ परीक्षार्थी सहजै रुपमा काठमाडौं आएर परीक्षा दिन सक्ने जानकारी दिनुभयो। यदी निषेधाज्ञा नखुल्ने भएमा परीक्षार्थीलाई काठमाडौंमा परीक्षा दिन आउने व्यवस्था मिलाउन पनि आफूहरुले पहल गर्ने डा गिरीको भनाइ छ।
एमबिबिएस, बिडिएस, नर्सिङ, फार्मेसी, पब्लिक हेल्थ लगायत चिकित्सा शिक्षा तर्फका स्नातक तहको एकीकृत प्रवेश परीक्षामा सहभागि हुन आयोगले यसअघि नै अनलाई फारम खुला गरेको थियो। प्रवेश परीक्षा दिन करिब २५ हजार ५०० परीक्षार्थीले फारम भरेको डा गिरीले जानकारी दिनुभयो । आयोगले चिकित्सा शिक्षा तर्फको स्नातक तहको विभिन्न संकायका लागि देशभरका मेडिकल कलेजहरुमा सिट समेत निर्धारण गरिसकेको छ।