भेरीको ओपिडी सेवा आजदेखि पुनः सुरु

    • स्वास्थ्य पेज

  • १ असार २०७८, मंगलवार

नेपालगन्जः कोरोना भाइरस संक्रमण तिब्र रुपमा फैलिएपछि बन्द गरिएको भेरी अस्पतालको ओपिडी सेवा आजबाट सुरु भएको छ । भाइरस संक्रमितको चाप बढेसँगै अस्पतालमा ओपीडी सेवा बन्द गरेर कोभिड डेडिकेटेड सेवा संचालन गरिरहेको भेरी अस्पतालले आजदेखि ओपिडी सेवा सुरु गरेको हो ।

पछिल्ला केही सातादेखि संक्रमितको संख्या घट्दै गएपछि अस्पतालले पहिले झै नियमित ओपिडी सेवा सुरु गरेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.प्रकाश बहादुर थापाले जानकारी दिनुभयो । एक सातासम्म एक बजेसम्म सेवा दिइने र त्यसपछि समयअनुसार पहिले झै नियमित हुने डा.थापाको भनाइ छ ।

योबीचमा अस्पतालले संक्रमित बिरामीको उपचार, संक्रमित बिरामीको शल्यक्रिया लगायतका सेवा दिईरहेको थियो । संक्रमण करिब नियन्त्रण बाहिर गएको समय अस्पतालले बेड संख्या भन्दा बढी कोभिडका बिरामी राखेर उपचार दिएको थियो । अस्पतालमा अहिलेपनि कोरोना भाइरस संक्रमित बिरामीको उपचार भैरहेको छ ।कोभिड संक्रमित बिरामीका लागि २०० बेड छुट्याएको यो अस्पतालमा अहिले ७३ जना संक्रमित बिरामीले स्वास्थ्य लाभ गरिरहेका छन् ।

बाँके र आसपासका जिल्लामा संक्रमण दरसँगै कोभिडका कारण भैरहेको मृत्युदरमा कमि आउन थालेपछि अस्पतालले सबै बिरामीहरुको सहज उपचारका लागि ओपीडि सेवा सुरु गर्न लागेको हो । यसअघि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरले समेत ओपिडी सेवा सुर गरिसकेको छ ।

भेरी अस्पतालले मेडिसिन विभाग, हाडजोर्नी तथा नशा, मानसिक रोग विभाग, बालरोग विभाग, दन्त रोग विभाग, ग्यास्टो्र डिर्पाटेमेन्ट, स्त्री रोग विभाग, सर्जरी विभाग, नेत्र रोग विभाग, मुटुरोग विभाग लगायतबाट बिरामीलाई सेवा दिईरहेको छ । खासगरी लुम्बिनी, कर्णाली र सूदुरपश्चिम प्रदेशका बिरामीहरुले यो अस्पतालबाट सेवा लिने गर्छन ।

  • १ असार २०७८, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech