जुम्ला: जुम्लाको चन्दननाथ नगरपालिका ७ खलंगा बजारसँग जोडिएको मिचागाउँमा कोरोना संक्रमित बढेपछि सील गरिएको छ । जिल्ला सुरक्षा समितिको बैठकले शुक्रबार बेलुकादेखि मिचागाउँ सील गरेको हो ।
चन्दननाथ नगरपालिकाका जनस्वास्थ्य निरीक्षक क्षेत्रबहादुर महतका अनुसार मिचागाउँमा १९ जना संक्रमित छन् । त्यस्तै महत गाउँमा ६ जना संक्रमति रहेका छन् ।
सबैलाई संस्थागत आइसोलेसनमा बस्न आग्रह गरेपनि नमानेपछि होम आइसोलेसनमा सुरक्षित बस्न आग्रह गरिएको र स्वास्थ्य सुरक्षा सामाग्री घरमै पुर्याइएको महतले जानकारी दिनुभयो ।
बैशाख यता जुम्लामा कोरोना संक्रमितको संख्या ५८९ पुगेको छ । यस्तै संक्रमण मुक्त हुनेको संख्या ३३२ रहेको जिल्ला प्रशासन कार्यालय जुम्लाले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख गरिएको छ ।
संक्रमणबाट चार जनाको मृत्यु भएको छ भने २९ जना कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको आइसोलेसन कक्षामा उपचाररत छन् ।