काठमाडौं: भारतीय कम्पनी सेरम इन्स्टिच्यूटले उत्पादन गरेको कोरोनाविरुद्धको खोप कोभिसिल्डको पहिलो डोज लगाएका व्यक्तिलाई दोस्रो डोजको रुपमा एस्ट्राजेनेका खोप लगाइने भएको छ।
भारतीय कम्पनी सेरम इन्ष्टिच्यूटले सम्झौता अनुसारको खोप उपलब्ध नगराएका कारण समयमा खोप दिन नसकेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अब एस्ट्राजेनेकाको खोप प्राप्त भएपछि दोस्रो मात्रा दिने जनाएको छ ।
मन्त्रालयको परिवार कल्याण महाशाखाका निर्देशक डा तारानाथ पोख्रेलले एक सूचना जारी गर्दै सेरम इन्ष्टिच्युट अफ इन्डिया र कोभ्याक्स सुविधा दुबैले खोप उपलब्ध गराउन असमर्थ भएकाले दोस्रो मात्राको खोप दिन नसकेको बताउनुभएको छ ।
एस्ट्राजेनेका खोप नेपाललाई प्राप्त भएपश्चात १२ हप्ता पछि पनि सो खोपलाई दोस्रो मात्राको रुपमा लगाउने व्यवस्था मिलाइने पोख्रेलले जारी गरेको सूचनामा उल्लेख छ । दोस्रो डोज खोप १२ हप्ताभित्र लगाउनुपर्ने भए पनि सरकारले खोप ल्याउन सकेको छैन ।
मन्त्रालयले खोपको पहिलो मात्राले पनि कोभिड १९ बाट बचाउन मद्दत गर्ने भएकाले जनस्वास्थ्यका मापदण्ड अनिवार्य पालना गर्न भनेको छ ।